सांसद चौधरीको व्यक्तिगत लेनदेनलाई जब राजनीतिक रंग दिन खोजियो
नागरिक उन्मुक्ति पार्टीका लुम्बिनी प्रदेश सांसद एवं पूर्वमन्त्री समेत रहेका धर्मबहादुर चौधरीविरुद्ध झुटा विवरण प्रस्तुत गरी चरित्र हत्या गरिएकोप्रति आपत्ति जनाइएको छ। व्यक्तिगत लेनदेनलाई ‘भ्रष्टाचार, घुस, लेनदेन’जस्ता शब्द प्रयोग गरी प्रचारवाजी गर्न खोजिएको भन्दै आपत्ति जनाइएको हो।
चौधरी मन्त्री भएका बेला कञ्चनपुर निवासी गजेन्द्र साउदबीच आर्थिक लेनदेन भएको थियो। उनीहरूबीच अन्य समयमा पनि आर्थिकलगायत कुरा लेनदेन हुँदै आएको थियो। उक्त विषयलाई राजनीतिक रंग दिन खोजिएको साउदले जानकारी दिएका छन्।
उनले व्यक्तिगत लेनदेनलाई राजनीतिक स्वार्थपूर्तिको निम्ति प्रयोग गरिएको आरोप लगाएका छन्। ‘निजी विषयलाई तोडमोड गरेर, राजनीतिक स्वार्थपूर्तिको निम्ति प्रयोग गरिनु दुर्भाग्यपूर्ण छ। यस्तो गलत प्रचारप्रति सर्वसाधारणलाई सावधान रहन र भ्रममा नपर्न अनुरोध गर्दछु,’ विज्ञप्ति जारी गरेर उनले भनेका छन्।
उनले लुम्बिनी प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका चौधरीको चरित्र हत्या गर्ने आशयले प्रचारवाजी गरिएको र उक्त घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। ‘माननीयज्यूसँगको मेरो व्यक्तिगत सापटी लेनदेनको विषयलाई राजनीतिक पूर्वाग्रहका आधारमा तोडमोड गरी प्रस्तुत गरिएको छ। माननीयज्यूसँगको मेरो सापटी लेनदेन पहिलेदेखि नै स्पष्टरूपमा चल्दै आएको छ। जसअन्तर्गत उहाँले लिएको रकम फिर्ता गरिसक्नुभएको छ,’ उनले भनेका छन्।
साउदले आफूहरूबीच भविष्यमा पनि यस्ता सापटी लेनदेन हुने जानकारी दिएका छन्। यसखालका निजी विषयलाई प्रचारवाजी नबनाउन उनले आग्रह गरेका छन्।
Facebook Comment