प्रज्ञा भवन पुगेको एक घन्टा नपुग्दै पक्राउ परेका थिए रेशम चौधरी
नागरिक उन्मुक्ति पार्टीका नेता एवं पर्यटन राज्यमन्त्री अरुणकुमार चौधरीले वैशाख १७ गतेको घटनाक्रम सुनाएका छन्। उनले पार्टी एकतादेखि रेशम चौधरी पक्राउ र रिहाइसम्मको टाइमलाइन यसरी बताए।
बिहान : १० बजे
अरुणकुमार चौधरी (राज्यमन्त्री) : एकीकरणको घोषणा अघि १० बजे बानेश्वरमा रहेको एभरेस्ट होटलमा रेशम चौधरीसहित केही नेताहरू छलफलका लागि भेट भयौं।
मध्याह्न : १२ बजे
अरुणकुमार : म १२ बजे प्रज्ञा भवन पुगें। दुवै पार्टीका नेता तथा कार्यकर्ताको उपस्थिति उत्साहजनक थियो। सवा १२ बजे रेशम दाइ आइपुग्नुभयो। रेशम दाइ पदाधिकारीसहित सबैको जिम्मेवारी टुंग्याएर मात्र घोषणा गर्नुपर्छ भन्ने मान्यतामा हुनुहुन्थ्यो। दुवै पार्टीका दोस्रो वरीयताका नेतासँग रेशम दाइ अनौपचारिक छलफल गर्दै हुनुहुन्थ्यो।
दिउँसो १ बजे
अरुणकुमार : रेशम दाइ साथी भेटेर १५ मिनेटमा आउँछु भनेर निस्किनुभयो। तर त्यही बेला नाटकीय रूपमा रेशम दाइलाई गेट नजिकैबाट प्रहरीले लगेको भन्ने सुनियो। म भवनभित्रै भएकाले देख्न पाइनँ। मैले थाहा पाउन्जेल डिल्लीबजार कारागार लगिसकिएको थियो। लगत्तै म त्यहाँ पुगें, पक्राउ पुर्जी हेरें। म सरकारको राज्यमन्त्री भए पनि यो विषयमा रनभुल्ल थिएँ। हामीले सोच्दै नसोचेको भयो।
दिउँसो ४ बजे
अरुणकुमार : रेशम दाइलाई किन पक्राउ गरिएको हो? षड्यन्त्र के हो? किन राज्यले यसो गर्यो भन्नेमा सरोकारवालाहरूसँग सोधखोज गरिरहेको थिएँ, पछि पत्र नै नक्कली रहेको पुष्टि भयो। ४ बजेतिर फेरि कारागार पुगें। त्यहाँ रेशम दाइलाई रिहा गर्ने तयारी भइरहेको थियो।
राति ८:३० बजे
अरुणकुमार : हामी साढे ८ मा कार्यक्रम स्थलबाट सबै छुट्टियौं। तर किन पक्राउ गरियो भन्ने प्रश्नको जवाफ खोज्दै छौं। यो विषय गम्भीर छ।
कान्तिपुरबाट साभार
Facebook Comment