खुसीरामको उजुरीले नाउपा सुदूरपश्चिममा हंगामा, दलका नेताविरुद्ध छानबिन गर्न माग

सुदूरपश्चिम प्रदेशको मन्त्री बनाउने विषयमा नागरिक उन्मुक्ति पार्टीभित्र तीव्र मतभेद् देखिएको छ। सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीले रामेश्वर चौधरीलाई मन्त्रीमा सिफारिस गरेपछि विवाद बढेको हो।

नाउपा सुदूरपश्चिम सांसद खुसीराम डंगौराले पार्टीको सुशासन समितिमा नेता घनश्यामविरुद्ध उजुरी दिएका छन्। उनले रामेश्वर चौधरीलाई मन्त्री सिफारिस गर्ने विषयमा कुनै छलफल नभएको भन्दै मनोमानी ढंगबाट मुख्यमन्त्री कार्यालयमा पत्र पठाएको आरोप लगाएका छन्। नेता घनश्यामले दलको बैठक नबोलाई मनोमानी ढंगले निर्णय गर्नु गम्भीर प्रकृतिको त्रुटि रहेको भन्दै छानबिन गर्न माग गरेका छन्।

त्यतिमात्र होइन, सांसद खुसीरामले धनगढीस्थित मुख्यमन्त्री कार्यालयमा पनि पत्र पठाएर रामेश्वरको सपथग्रहण रोक्न माग गरेका छन्। उनले आफूले नेता घनश्यामलाई मन्त्री बन्नका लागि सहमति दिएको तर रामेश्वरलाई नदिइएको पत्रमा उल्लेख गरेका छन्।

उनले संसदीय दलको विधान विपरीत कार्य गरिएको भन्दै रामेश्वरको सपथग्रहण रोकिदिन मुख्यमन्त्री कार्यालयलाई आग्रह गरेका छन्। यता खुसीरामको पत्रपछि मुख्यमन्त्री कार्यालयले सपथग्रहण रोकेको जानकारी दिएको छ। ‘मन्त्री छनोटमा विवाद देखियो। समझदारी नहुन्जेलसम्मको लागि शपथ ग्रहण रोकिएको छ,’ मुख्यमन्त्रीका सचिवालयले जानकारी दिएको छ।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *