नाउपा नेता एवं जोशीपुर गाउँपालिका अध्यक्षमाथि कालोमोसो छर्कियो

जोशीपुर गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चौधरीमाथि कालोमोसो छर्किएको छ। कम्युनिस्ट युवा संगठन नेपाल उनीमाथि कालोमोसो छर्किएको हो। पछिल्लो समय यो समूहले जनकारबाहीका नाममा कालोमसो दल्दै आएको छ। यो संस्थाले फेसबुकमार्फत जोशीपुरका अध्यक्ष चौधरीमाथि जनकारबाही गरेको जानकारी दिएको छ।

‘हाम्रो संगठन कम्युनिस्ट युवा संगठन नेपाल जोशीपुर गापाले कैलाली जिल्लाको जोशीपुर गाउँपालिका अध्यक्ष चित्रबहादुर चौधरीलाई जनकारबाही गरेको छ,’ उसले भनेको छ। भ्रष्टहरूको सम्पत्ति राष्ट्रियकरण गरी शिक्षा र स्वास्थ्य निशुल्क गर्नुपर्ने माग उनीहरूले गर्दै आएको छ।

यसैबीच नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले कालोमोसो दलिएको घटनाको भर्त्सना गरेकी छन्। उनले घटनामा संलग्नमाथि कारबाही गर्न माग गरेकी छन्।

‘उहाँ नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित जनप्रतिनिधि हुनुहुन्छ। यस्तो अराजक र अपमानजनक व्यवहार लोकतन्त्र, सामाजिक सभ्यता र हाम्रो पार्टीको मूल्य मान्यताविपरीत हो। हाम्रा जनप्रतिनिधिहरूमाथि भएको यस्तो आक्रमण सह्य छैन। यो सम्पूर्ण राजनीतिक आस्थामाथिको अपमान हो। म पार्टी अध्यक्षका नाताले स्पष्ट रूपमा भन्छु, असहमति र आलोचना गर्न सबै स्वतन्त्र छन्। तर, त्यसको मर्यादा र संविधानसम्मत बाटो हुन्छ। कुनै पनि व्यक्तिगत रिसइबी वा योजनाबद्ध अपमानलाई स्वीकार गर्न सकिन्न। सम्बन्धित सुरक्षा निकायहरूबाट घटनाको गम्भीर छानबिन गरी दोषीमाथि कडा कारबाही होस् भन्ने म जोडदार माग गर्दछु। नागरिक उन्मुक्ति पार्टीले सधैं लोकतान्त्रिक मूल्य, जनप्रतिनिधिको गरिमा र सामाजिक सहिष्णुताको रक्षा गर्दै आएको छ,’ उनले भनेकी छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *