भारतसँगको व्यापार निलम्बनपछि पाकिस्तानको औषधि क्षेत्र गम्भीर संकटमा

भारतसँगको व्यापार सम्बन्ध निलम्बन भएपछि पाकिस्तानको औषधि क्षेत्र गम्भीर प्रभावित भएको छ। आवश्यक औषधि आपूर्ति सुनिश्चित गर्ने संघर्ष झन् जटिल बन्दै गएको छ, जसका कारण स्वास्थ्य संकट समाधान गर्न इस्लामाबादलाई आपतकालीन उपायहरू अपनाउन हम्मेहम्मे परेको छ। सरकार स्वयं यस संकटलाई कसरी सम्बोधन गर्ने भन्नेमा अन्योलमा देखिँदा आम जनताले झनै पीडा भोग्नुपरेको छ।

भारत, पाकिस्तानका लागि आवश्यक औषधिहरूको एक प्रमुख स्रोत हो। विशेषगरी सक्रिय औषधि सामग्री (API) तथा विभिन्न उन्नत चिकित्सकीय उत्पादनहरूमा भारतको योगदान करिब ३०–४० प्रतिशत रहेको छ। व्यापार सम्बन्ध विच्छेद हुनु अघि भारतबाट क्यान्सर उपचार, जैविक औषधि, खोप, एन्टी-रेबिज खोप र एन्टी-सर्प विष लगायतका जीवनरक्षक औषधिहरू आयात गरिन्थ्यो।

जम्मु र कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणपछिको व्यापार निलम्बनअघि नै पाकिस्तान औषधिको अभावको सामना गरिरहेको थियो। बिरामीहरू जीवनरक्षक औषधिहरू खरिद गर्न संघर्ष गरिरहेका थिए, र अहिले यो अवस्था झनै गम्भीर बनेको छ। यद्यपि केही उपचारात्मक तथा जीवनरक्षक औषधिको आपूर्तिलाई अनुमतिको दायरामा राखिएको छ, पाकिस्तानको औषधि उद्योगमा ठूलो असर परेको छ।

पाकिस्तानका औषधि उत्पादकहरूले पटकपटक चेतावनी दिएका छन् कि भारतबाट आपूर्ति अवरुद्ध हुँदा आवश्यक औषधिहरूको उपलब्धता देशव्यापी रूपमा जोखिममा पर्न सक्छ। यस संकटलाई देखेर पाकिस्तान केमिस्ट एण्ड ड्रगिस्ट एसोसिएसन (PCDA) ले अधिकारीहरूलाई वैकल्पिक उपाय खोज्न आग्रह गरेको छ।

पेशावरका खालिद खान भन्छन्, “पाक-भारत तनावका कारण बजारमा जीवनरक्षक औषधिको गम्भीर अभाव देखिएको छ। इस्लामाबादका औषधि स्टोरहरूमा ज्वरो, दुखाइ, पेट र श्वासप्रश्वासका औषधिहरू छैनन्। औषधिको करिब ३० प्रतिशत कच्चा पदार्थ भारतबाट आयात हुन्छ।”

दुई देशबीच व्यापार निलम्बन भएपछि पाकिस्तान औषधि उत्पादक संघ (PPMA) ले संकटको गम्भीरता बुझ्दै औषधि नियामक प्राधिकरण (DRAP) तथा वाणिज्य मन्त्रालयसँग आपतकालीन बैठक आयोजना गरेको थियो। PPMA का अध्यक्ष तौकीर-उल-हकका अनुसार, “हामीले जीवनरक्षक औषधिका लागि प्रतिबन्ध हटाउन आग्रह गरेका छौं, किनभने ती औषधिका कच्चा पदार्थ मुख्य रूपमा भारतबाट आयात गरिन्छ।”

पाकिस्तानको राष्ट्रिय स्वास्थ्य सेवा मन्त्रालयले औषधिको उपलब्धताको अवस्था अस्पष्ट रहेको स्वीकार गरेको छ। तर भारतीय आपूर्ति कटौतीपछि औषधिको भण्डारण सुरक्षित गर्न “आपतकालीन तयारी” उपायहरू सुरु गरिएको बताइएको छ। मन्त्रालयका एक वरिष्ठ अधिकारीले भने, “भारतबाट आयात हुने कच्चा पदार्थले प्रमुख खोप र सेरासहित औषधिको करिब ३०–४० प्रतिशत हिस्सा ओगटेको छ।”

भारतमा उत्पादित औषधिको लागत कम भएकाले पाकिस्तान अझै पनि ती औषधिमा अत्यधिक निर्भर छ। यद्यपि केही विशेषज्ञ तथा राष्ट्रवादीहरूले आत्मनिर्भर बन्नुपर्ने सुझाव दिँदै आएका छन्, पाकिस्तानले हालसम्म यस दिशामा सार्थक पहल गर्न सकेको छैन।

२०२४ मा औषधिको मूल्यमा १४.५ प्रतिशत वृद्धि भएको थियो। यसबाहेक, सरकारले इन्सुलिन, एन्टिबायोटिक तथा हृदयघातको औषधि जस्ता गैर-आवश्यक औषधिको मूल्य नियन्त्रण हटाएको थियो, जसले जनस्तरमा असन्तोष सिर्जना गर्‍यो। लाहोरका नीति विश्लेषक अदनान आदिल भन्छन्, “औषधिको मूल्य एक वर्षमै ५० देखि २०० प्रतिशतले बढेको छ। ५७२ जीवनरक्षक औषधिको मूल्य १० प्रतिशतले वृद्धि भएको छ।”

अब भारतीय आपूर्ति बन्द भएपछि अवस्था थप बिग्रिएको छ। भारतीय निर्यात संगठन महासंघका महानिर्देशक डा. अजय सहायका अनुसार, “यदि पाकिस्तानले युरोपबाट विकल्प खोज्ने हो भने, लागत भारतको तुलनामा १० गुणा बढी हुनेछ। यदि श्रीलंका वा दुबईमार्फत आपूर्ति सुनिश्चित गरिए पनि लागत चार गुणा बढी पर्न सक्छ।”

यस्तो अवस्थाले पाकिस्तानमा अवैध औषधि व्यापारको सम्भावना बढाएको छ। दर्ता नगरिएका तथा अनधिकृत औषधिहरू अफगानिस्तान, इरान, दुबई र पूर्वी सीमाबाट तस्करी हुने सम्भावना उच्च छ। DRAP का पछिल्ला तथ्यांक अनुसार, पाकिस्तानमा बिक्री हुने करिब ८५ प्रतिशत औषधि या त कम गुणस्तरीय छन् वा नक्कली, र ५० प्रतिशतभन्दा बढी जीवनरक्षक औषधिहरू नक्कली छन्।

२०१९ मा भारतले बालाकोटमा गरेको हवाई कारबाहीपछिका सम्भावित व्यापार अवरोधको तयारी गरेको DRAP को दाबी समेत असफल देखिएको छ। आजको संकटले स्पष्ट पार्दछ कि पाकिस्तानले आपतकालीन अवस्थाका लागि पर्याप्त तयारी गर्न सकेको छैन।




Leave a Reply

Your email address will not be published. Required fields are marked *