चाइनिज पाँच सय ९० कार्टुन भेपसहित तीन जना पक्राउ
मुस्ताङको लोमान्थाङ गाउँपालिका-४ स्थित एक्लेभट्टीबाट पाँच सय ९० कार्टुन चाइनिज इलेक्ट्रिक चुरोट (भेप)सहित तीन जना पक्राउ परेका छन्।
भेप र अन्य विभिन्न सामानसहित सशस्त्र प्रहरीले दुई वटा ट्रकसहित तीन जनालाई जेठ १ गते राति पक्राउ गरेको हो। पक्राउ पर्नेमा धादिङको धुनीबेशी नगरपालिका-१ बस्ने सन्तोष लामा, सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-२ बस्ने फुन्चुदोर्जे तामाङ र उनका साथी सोही गाउँपालिका-३ बस्ने पासाङ शेर्पा छन्।
ना६ख ४७४३ र ना५ख ७९२१ नम्बरको कन्टेनरमा कोरोला नाका हुँदै काठमाडौंतर्फ आउँदै गरेका उनीहरूलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट नेचुङ, नेपाल प्रहरी र मुस्ताङ भन्सार कार्यालयको संयुक्त टोलीले पक्राउ गरेको थियो।
प्रहरीले इलेक्ट्रिक भेपसहित दुई सय ५९ कार्टुन विभिन्न कम्पनीका जुत्ता, आठ बोरा मोजा, १५ बोरा लत्ताकपडा र १५ केजी खाली कार्टुन बक्स (सामान प्याक गर्न प्रयोग गरिने खाली बक्स)समेत नियन्त्रणमा लिएको छ।
नियन्त्रणमा लिइएकाहरुलाई आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई र बरामद सामान मुस्ताङ भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रवक्ता बिष्णु प्रसाद भट्टले जानकारी दिए।
Facebook Comment