थारू विद्यार्थी सभाले एसईई उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गर्दै
थारू विद्यार्थी सभाले एसईई उत्तीर्ण भएका थारू विद्यार्थीहरूलाई सम्मान गर्ने भएको छ। सभाले साउन ३ गते कार्यक्रम आयोजना गरेर एसईई उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गर्न लागेको हो।
एसईई उत्तीर्ण भएका थारू विद्यार्थीहरूलाई आगामी शैक्षिक यात्राको प्रोत्साहन गर्दै सभाले सम्मान गर्न लागेको सभापति सुशीला चौधरीले जानकारी दिइन्।
उनका अनुसार जुन ग्रेडमा पास भएका विद्यार्थीलाई पनि सम्मान गरिने भएको हो। ‘एसईई उत्तीर्ण भएका सबै विद्यार्थीलाई हामीले सम्मान गर्न लागेका हौं। कुनै ग्रेड तोकेका छैनौं,’ उनले भनिन्।
नेकपा एमाले सांसद भगवती चौधरीको प्रमुख आतिथ्यमा शनिबार कार्यक्रम हुन लागेको हो। कार्यक्रम बुद्धनगरस्थित स्पवन बाटिका क्याम्पसमा हुने सभापति चौधरीको भनाइ छ। कार्यक्रममा सांस्कृतिक प्रस्तुती पनि हुने आयोजकले जनाएको छ।
Facebook Comment