थारू समुदायमा बढ्दै सिकलसेल, कैलाली र कञ्चनपुरमा मात्रै हजार बढी बिरामी

थारू समुदायमा बढी देखिएको सिकलसेल एनिमियाका बिरामीको सङ्ख्या कैलाली तथा कञ्चनपुर जिल्लामा बढ्दै गएको छ। खास गरी थारू समुदायको बाहुल्य रहेको क्षेत्रमा यो रोग बढ्दै गएको हो।

सेती प्रादेशिक अस्पतालका हरिबहादुर थापाले कैलाली र कञ्चनपुरमा एक हजार ३४ जना सिकलसेलका बिरामीको उपचार भइरहेको जानकारी दिए। त्यो अझै बढ्ने क्रममा रहेको उनले बताए। उनले कैलालीमा ७५६ कञ्चनपुरमा २७८ जना बिरामी रहेको बताए। त्यसमा महिलाको सङ्ख्या ५३६ रहेको छ भने पुरुषको सङ्ख्या ४९८ रहेको जानकारी दिए। अहिले एक हजार ३४ जना बिरामीमध्ये ३९२ जना घोडाघोडी अस्पतालमा र आठ जना कञ्चनपुरको महाकाली अस्पताल र बाँकी ६३४ जनाले सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार गरिरहेका छन्।

सरकारले सिकलसेलको उपचार तथा सेवा सुविधाका लागि भनेर कैलालीको सेती प्रादेशिक अस्पताल, घोडाघोडी अस्पताल र कञ्चनपुरको महाकाली अस्पतालबाट सेवा दिइरहेको छ भने कैलालीको टीकापुरबाट सेवा दिने तयारीमा रहेको सामाजिक विकास मन्त्रालयका आयुर्वेदिक चिकित्सक डा. चेतराज जोशीले बताए।

सरकारले पश्चिम तराईमा विशेष गरी थारू समुदायमा देखिएको सिकलसेल एनिमिया रोगको उपचारलाई सर्वसुलभ र निःशुल्क गर्ने घोषणा गरेको छ। परीक्षण र उपचार दुवै निःशुल्क छ र एउटा बिरामीलाई एक लाख बराबरको औषधी दिने सरकारले घोषणा गरेको छ। सरकारले उपचारमा एक लाख रुपियाँसम्म दिने सेवा सुविधा लिने प्रक्रिया जटिल भएको थारू अगुवा माधव थारूको भनाइ छ। सिकलसेल रोगको उपचार र परीक्षण महँगो तथा घरका सम्पूर्ण सदस्यलाई उपचार गर्नुपर्ने कारणले थुप्रै मानिस रगत परीक्षण नै नगराई रोग लुकाउने गरेको उनले बताए। उनले सरकारले एक लाखसम्म मात्र नभएर सिकलसेलका बिरामीलाई आजीवन उपचारको ग्यारेन्टी गर्नुपर्ने बताए।

उनले धेरै बिरामी देखिएका क्षेत्र र समुदायमा रहेका गर्भवतीको गर्भमा रहेका बच्चामा सिकलसेल हुन सक्ने जोखिमबारे परीक्षण गर्न सकिने व्यवस्था गर्न सके भविष्यमा यस सङ्क्रमण लिएर जन्मने बिरामीलाई कम गर्न सकिने बताए। सिकलसेल एनिमिया भएका बिरामीमा सामान्यतया छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, सहनै नसकिने गरेर छाती दुख्ने, छाती, पेट, हातखुट्टा, ढाडमा अचानक र कडा खालको दुखाइ हुने, कमलपित्त हुने जस्ता लक्षण देखा पर्छन्। त्यस्तै आँखामा समस्या देखिने, अन्धोपना हुन सक्ने, पक्षाघात हुन सक्ने, सङ्क्रमण भइरहने, ज्वरो आउने, वाकवाक लाग्ने, बान्ता हुने, खोकी लाग्नेसमेत हुन्छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *