अर्जुनकुमार थारू पक्राउ परेपछि खुल्यो ट्रान्सफर्मर चोरीको राज
कोशी प्रदेशका ३ जिल्लामा गत माघ दोस्रो सातादेखि बिजुलीको ट्रान्सफर्मर चोरी हुने क्रम एकाएक बढ्यो। लामो समयदेखि ट्रान्सफर्मर चोरी भइरहे पनि यसमा संलग्न पत्ता लगाउन प्रहरीलाई गाह्रो परिरहेको थियो। प्रहरीको टाउको दुखाइ बनेको ट्रान्सफर्मर चोरीमा संलग्न गिरोह बल्ल फेला परेको छ। प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लामा सक्रिय गिरोहलाई प्रहरीले पक्राउ गरेको हो।
गिरोहका ७ जनालाई पक्राउ गरेको प्रहरीले चोरीका सामान खरिद गर्ने ५ जनालाई पनि नियन्त्रणमा लिएर कारबाहीको दायरामा ल्याएको छ। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले मंगलबार पत्रकार सम्मेलन गर्दै पक्राउ परेकाहरुको विवरण सार्वजनिक गरेको छ। पक्राउ परेको गिरोहले योजनाबद्ध र शृंखलाबद्ध रुपमा २२ वटा ट्रान्सफर्मर चोरी गरिसकेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको प्रदेश प्रहरी प्रमुख डीआईजी ईश्वर कार्कीले बताए।
उनका अनुसार गत माघ १५ गतेयता सुनसरीमा १२, मोरङमा ८ र झापामा २ वटा ट्रन्सफर्मर चोरी भइसकेका छन्। चोरीमा संलग्न मोरङको ग्रामथान गाउँपालिका-४ का ४२ वर्षीय अर्जुनकुमार माझी (चौधरी), ग्रामथान–५ का ३१ वर्षीय इरज धामी, सुनसरीको दुहबी नगरपालिका-३ का ३५ वर्षीय अनुज विश्वास (चौधरी), दुहबी नगरपालिका-२ का ३९ वर्षीय प्रयागकुमार खाँ चौधरी, मोरङको बेलबारी नगरपालिका-४ का २६ वर्षीय अर्जुन चौधरी, बेलबारी-३ का २७ वर्षीय रञ्जित तामाङ र भारत घर भएर दुहबी-४ स्थित ससुराली घरमा बस्दै आएका ३४ वर्षीय आलम मियालाई पक्राउ गरिएको कार्कीले बताए।
उनका अनुसार चोरीको सामान किनेको आरोपमा प्रहरी विराटनगर महानगरपालिका-३ का ५३ वर्षीय लक्ष्य प्रधान, विराटनगर-६ का ६२ वर्षीय कृष्णगोपाल ताम्राकार, दुहबी-३ का ३२ वर्षीय योगेश अग्रवाल, दुहबी-२ का ३१ वर्षीय कपिल भट्ट, इटहरी उपमहानगरपालिका-४ का ३९ वर्षीय सीताराम राईलाई समेत पक्राउ गरिएको छ। गिरोहले ट्रान्सफर्मर चोरी गर्दै त्यहाँभित्रको तामाको तार, तेललगायत विभिन्न व्यक्तिलाई बिक्री गर्ने गरेको प्रहरीले पत्ता लागेको छ।
प्रहरीका अनुसार तामाको तार महँगो मूल्ययमा बिक्री हुन्छ। प्रहरीले तामाको तार चोरी गरेर बिक्री र खरिद गर्नेलाई पक्राउ गरेको हो। पक्राउ परेकाबाट तामाको तारसमेत बरामद भएको छ। गिरोहले २ करोड मूल्य बराबरका २२ वटा ट्रान्सफर्मर चोरी गरेको पाइएको कार्की बताउँछन्। पक्राउ परेकाबाट चोरीमा प्रयोग गरिएका औजारहरु डायल रेन्च २२ थान, सलाई रेन्च ३, पिलास ३, पेचकस ३, छिनो १, साङली १, कैची १ र ह्याक्सो बिलेट ३ थानलगायत प्रहरीले बरामद गरेको छ।
प्रहरीले चोरीमा प्रयोग भएका सवारीसाधन पनि नियन्त्रणमा लिएको छ। एउटा पिकअप गाडी र ५ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको डीआईजी कार्कीको भनाइ छ। उनका अनुसार को १ च ७७२९ नम्बरको पिकअपसहित प्रदेश १-०२-०५० प ७०९५, प्रदेश १-०२-०५६ प ५५८०, को २ प ९२९०, प्रदेश १-०२-०५० प ३०४९ र को २९ प ४५४४ नम्बरको मोटरसाइकल बरामद गरिएको छ।
गिरोहले गत माघ १५ गतेदेखि चोरी गर्दै आएको डीआईजी कार्की बताउँछन्। साउन ९ गते मोरङको रंगेली नगरपालिका-९ इँटाभट्टा टोलमा ट्रान्सफर्मर चोरी गर्न गएका ४२ वर्षीय अर्जुनकुमार थारु पक्राउ परेपछि प्रहरी गिरोहसम्म पुग्न सफल भएको हो। ट्रान्सफर्मर चोरीको गिरोह खोज्नका लागि प्रदेश प्रहरी कार्यालय विराटनगर तथा जिल्ला प्रहरी कार्यालयहरु सुनसरी, मोरङ र झापाबाट संयुक्त टोली खटिएको थियो।
Facebook Comment