चीनको ५जी सपना धरापमा, खर्बौँ खर्चपछि पनि अपेक्षित सफलता भएन
२०१९ मा चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) ले दूरसञ्चार क्षेत्रमा क्रान्तिकारी कदमका रूपमा ५जी महत्वाकांक्षा सार्वजनिक गर्दा यसलाई विश्व नेतृत्वतर्फको “स्मारकीय छलाङ” का रूपमा प्रचार गरिएको थियो। राष्ट्रिय सुरक्षा, औद्योगिक विकास र डिजिटल प्रभावमा दीर्घकालीन प्रभुत्व स्थापित गर्ने योजनासहित सुरु गरिएको यो परियोजनामा चार वर्षमै १.८ ट्रिलियन युआनभन्दा बढी लगानी भयो। देशभर ४.४ मिलियनभन्दा बढी आधार स्टेशन स्थापना गर्दै चीनले विश्वको करिब ६० प्रतिशत ५जी पूर्वाधार निर्माण गर्यो।
तर, अनुपम संरचना र ठूलो लगानीको बाबजुद पनि प्रणाली न आर्थिक रूपमा लाभदायी भयो, न रणनीतिक रूपमा दिगो रह्यो। सरकारी स्वामित्वका चाइना मोबाइल, चाइना टेलिकम र चाइना युनिकमलाई व्यापक रूपमा टावर निर्माण गर्न लगाइए पनि लगानीको प्रतिफल कमजोर रह्यो। पूर्वाधार मर्मत खर्चिलो छ र प्रयोगकर्ताको संलग्नता न्यून।
उपभोक्ता सर्वेक्षणहरूले पनि नीति निर्माणमा आधारभूत त्रुटि उजागर गरेका छन्। धेरै प्रयोगकर्ताले ४जी सेवासँग तुलना गर्दा ५जीबाट न्यून मात्र लाभ पाएका छन्। भिडियो स्ट्रिमिङ, ब्राउजिङ र सामाजिक सञ्जालजस्ता गतिविधि ४जीमा नै पर्याप्त गतिमा र कम लागतमा सम्भव भएकाले ५जीको माग बढेन। एक पूर्व टेलिकम कार्यकारीका अनुसार, ५जीले अपेक्षित राजस्व वृद्धि पनि दिलाउन सकेन। उल्टै, ५जी नेटवर्क सञ्चालनमा दैनिक करिब १ अर्ब युआन बराबरको बिजुली खर्च हुने तथ्य सार्वजनिक भएको छ।
विशेषज्ञहरूका अनुसार, ५जी पूर्वाधारलाई उपयोगिताभन्दा पनि “शक्ति प्रदर्शन” को प्रतीकका रूपमा निर्माण गरियो। प्रयोगकर्ताको वास्तविक आवश्यकता भन्दा पनि केन्द्रीय आदेशअनुसार परियोजना अघि बढाइयो। यसबीच चीनले नयाँ रणनीतिक मोड लिँदै कम-पृथ्वी कक्षा (LEO) उपग्रह इन्टरनेटतर्फ ध्यान केन्द्रित गर्न थालेको छ। अप्रिलमा जिउक्वान स्पेसपोर्टबाट चार परीक्षण उपग्रह प्रक्षेपण गर्दै सीसीपीले स्थलीय ५जी मोडेलको सीमितता स्वीकार गरेको संकेत दिएको हो।
चीनका उपग्रह कार्यक्रम प्रमुख युआन जुनग्याङका अनुसार, वर्तमान ५जी प्रणालीमा भौगोलिक सीमाबद्धता, उच्च ऊर्जा खपत, कम-उचाइका ड्रोनका लागि कमजोर समर्थन, र आपतकालीन अवस्थामा सीमित लचिलोपनजस्ता संरचनागत कमजोरी छन्। यी समस्याले केवल प्रविधि मात्र होइन, रणनीतिक क्षमतामा पनि असर पार्छन्।
विश्लेषकहरूले यो मोडलाई सीसीपीको आफ्नै प्रमुख पहलको असफलता स्वीकार गर्ने संकेतका रूपमा लिएका छन्। ताइवानका रक्षा विज्ञहरूको मूल्याङ्कनमा, चीनको ५जी महत्वाकांक्षा अर्धचालक आपूर्तिमा निर्भर रहेकाले विदेशी प्रविधि प्रतिबन्धले ठूलो असर पारेको छ। विशेष गरी ताइवानको TSMC निर्मित ७ न्यानोमिटर प्रोसेसरमा निर्भरता हुँदा अमेरिकी निर्यात नियन्त्रणले हुवावे जस्ता कम्पनीलाई धक्का पुर्याएको छ।
घरेलु चिप उत्पादन प्रयास सफल नभएपछि हुवावेलाई फेरि ४जी स्मार्टफोन बजारमा ल्याउन बाध्य हुनुपर्यो, जुन ५जी युगमा चीनको प्रभुत्व स्थापनाको दाबीविरुद्धको विडम्बना हो। एक रणनीतिक विश्लेषकका अनुसार, स्थलीय ५जी वा उपग्रह इन्टरनेट, दुवैका लागि अत्याधुनिक अर्धचालकको पहुँच अपरिहार्य छ।
उपग्रह क्षेत्रमा पनि चीनको लक्ष्य चुनौतीपूर्ण देखिन्छ। १२,००० LEO उपग्रह तैनाथ गर्ने योजना पश्चिमी कम्पनी स्टारलिङ्कको २०२७ सम्म ४५,००० भन्दा बढी उपग्रह प्रक्षेपण योजनासँग तुलना गर्दा महत्वाकांक्षी मात्र देखिन्छ। पश्चिमी मोडेलमा ४जी स्मार्टफोनसँग अनुकूलता, विकेन्द्रीकृत नवप्रवर्तन प्रणाली, र निजी पूँजीको पहुँचजस्ता फाइदा छन्, जुन चीनको राज्य-केन्द्रित मोडेलले सजिलै दोहोर्याउन सक्दैन।
चीनको ५जी परियोजना अब सावधानीपूर्ण उदाहरणका रूपमा प्रस्तुत भइरहेको छ, खर्बौँ खर्च, सीमित उपलब्धि, अत्यधिक केन्द्रीकरण, चिप निर्भरता र रणनीतिक असंगति। उपग्रह इन्टरनेटतर्फको हालको मोडलाई विशेषज्ञहरूले आत्मविश्वासी अगाडि बढाइभन्दा पनि “भेषमा पछि हट्ने” कदमका रूपमा देखेका छन्।
विश्लेषकहरूको निष्कर्ष स्पष्ट छ, पूर्वाधार मात्र निर्माण गरेर दूरसञ्चारमा विश्व नेतृत्व हासिल हुँदैन; यसको लागि रणनीतिक स्पष्टता, प्रविधि स्वावलम्बन, र दिगो नवप्रवर्तन प्रणाली अपरिहार्य हुन्छ।
Facebook Comment