थारू खाने ‘थारू चौक’
थारू समुदायमा एउटा उखान छ, थारूहरू दुई किसिमका हुन्छन्: एउटा ‘दारू खाने थारू’ र अर्को ‘थारू खाने थारू’। दारू खाने थारूहरू दिनभरि आफ्नो काममा लाग्ने, मेहनत गर्ने र बेलुकी थकाइ मार्न केही प्याक दारू पिएर सुत्ने गर्छन्। तर, ‘थारू खाने थारू’हरू भने गाउँघरमा प्रचलित भनाइअनुसार बेरोजगार खालका हुन्छन्, जसले केही काम पाउँदैनन् र दिन बिताउन अरूको काममा रोकटोक, छलकपट गरेर बस्छन्।
आफूले केही गर्न नसक्ने, आफ्नो गाउँ बाहिर कसैले मान नदिने, तर गाउँभित्र भने ‘मभन्दा ठूलो कोही छैन’ भन्ने सोच राख्ने यिनले आफ्नै थारू दाजुभाइहरूलाई अगाडि बढ्न नदिउँ भन्ने मानसिकताले खुट्टा तान्ने, असल मान्छेलाई बदनाम गर्ने र विभिन्न दुःख दिने काम गर्छन्।
कुरा हो उदयपुरको गाईघाट, बिसनपुरको। यहाँ केही बेरोजगार, गाउँ बाहिर कसैले नसोध्ने तर गाउँमा मभन्दा ठूलो कोही छैन भन्ने सोँच राख्नेहरूले एक जना कर्मशील किसानको निजी जग्गामा कुलो बनाए। उदयपुरका ती जान्ने-मान्ने किसानको जग्गा खोसेर, बालीभित्र कुलो बनाए। गाउँको नक्सामा ११ मिटरको बाटो देखाइएको भए पनि अहिले ९ मिटरको मात्र बाटो छ। तर, एउटै व्यक्तिको जग्गा अगाडि भने १२ मिटरको बाटो बनाइयो।

पछिल्लो समयमा त्रियुगा खोलासँग सीमाना जोडिएका क्षेत्रमा ऐलानी जग्गा देखापर्यो। अरू सबै गाउँलेहरूले मिलेर त्यो निस्केको जग्गा आपसमा बाँडे। तर, बिसनपुर गाउँमा, जुन गाईघाट क्षेत्रका पुराना गाउँमध्ये एक ऐतिहासिक थारू बस्ती हो, यहाँका थारूहरू सुकुमबासी बन्ने बाटोमा रहेको भए पनि, केही नाइके भनिएकाहरूले आफ्नै दाजुभाइको हक खोसे। स्थानीय नगरपालिकामा ‘यहाँ ऐलानी जग्गा छ’ भनेर देखाए।
त्यसको परिणामस्वरूप, हालै सो जग्गामा गाईघाट वरिपरिको फोहोर फाल्ने ‘डम्पिङ साइट’ निर्माण गरियो। साथै, गाईबस्तु चराउने ठाउँमै एउटा मन्दिर र पानी बिनाको पोखरी खन्ने योजना अघि सारियो। यी सबै देखेर, सोही किसानले यसबारे ध्यानाकर्षण गर्न आफ्नै जग्गामा एउटा बोर्ड टाँसे, तर गाईघाटका नेताहरूले यो समस्या बुझ्ने र समाधान गर्नुको साटो, उल्टै मुद्दा हाल्ने धम्की दिन थाले।
थारूहरू तराईका भूमिपुत्र हुन्। जसका पुर्खाहरूले बाघ, भालु, मलेरिया आदि रोगसँग लडेर तराईलाई अन्नको भण्डार बनाइदिए। आजसम्म पनि यही ‘थारू खाने थारू’हरूका कारण आफ्नै भूमिमा सुखुबासी हुन बाध्य छन् थारूहरू।

– स्रोत
त्रियुगा नगरपालिका-१२, बिसन, उदयपुर
Facebook Comment