चिनियाँ सहयोग नेता र तिनका निर्वाचन क्षेत्र लक्षित हुनु दुर्भाग्य : डा. पाण्डे

प्रसिद्ध शिक्षाविद् तथा दक्षिण एसियाली अध्ययन केन्द्रका निर्देशक डा. निश्चल एन. पाण्डेले त्रिभुवन विश्वविद्यालयको सङ्कट व्यवस्थापन अध्ययन केन्द्र (CPDS) मा ‘नेपाललाई चिनियाँ सहयोग र नेपालको विदेश नीतिको नक्साङ्कन’ विषयमा विशेष प्रवचन दिए।

डा. पाण्डेले नेपालमा चिनियाँ सहयोगको ऐतिहासिक पृष्ठभूमि र यसको प्रभावबारे प्रकाश पारेका थिए। अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, ट्रली बस सेवा र नागरिक सेवा अस्पतालजस्ता परियोजनाहरू चीनको अनुदानबाट सम्पन्न भएका सकारात्मक उदाहरण भएको उल्लेख गरे। यस्ता सहयोगहरूले नेपालको पूर्वाधार विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएको उनको भनाइ थियो।

तर, पछिल्लो समय चिनियाँ सहयोगमा आधारित परियोजनाहरू विवादास्पद बन्दै गएको भन्दै उनले चिन्ता व्यक्त गरे। ‘यी परियोजनाहरू कुनै निश्चित राजनीतिक नेताको अनुरोधमा, विशेष निर्वाचन क्षेत्र लक्षित भएर सुरु गरिन्छन्, जसले समग्र राष्ट्रिय हितभन्दा क्षेत्रीय वा पार्टीगत स्वार्थलाई प्राथमिकता दिएको देखिन्छ,’ उनले भने।

डा. पाण्डेले कम्युनिष्ट पार्टी-पार्टी सम्बन्धले परियोजनाको लागत र प्रभावकारिता दुवैमा नकारात्मक असर पारेको दाबी गरे। विपक्षी दलहरूले सत्ता बाहिर रहँदा ती परियोजनाहरूलाई विवादास्पद बनाउने प्रवृत्तिले समेत समस्या बढाएको उनको भनाइ थियो।

उनले १९७० को दशकमा चिनियाँ सहयोगमा बनेको २७ किलोमिटर लामो रिङरोडको उदाहरण दिँदै, त्यति ठूलो परियोजना रेकर्ड समयमा सम्पन्न भएको स्मरण गरे। तर, हालः बल्खुदेखि कोटेश्वरसम्मको मात्र ९ किलोमिटर सडक विस्तारमा भइरहेको ढिलाइ, सुरक्षा चुनौती र जग्गा विवादका कारण परियोजना समस्याग्रस्त बनेको उदाहरण प्रस्तुत गरे।

‘हामीले कुनै पनि प्रमुख पूर्वाधार परियोजना तय गर्दा पार्टीगत वा क्षेत्रीय स्वार्थभन्दा माथि उठेर समग्र राष्ट्रको हितलाई प्राथमिकता दिनुपर्छ,’ डा. पाण्डेले जोड दिए। कार्यक्रमको अन्त्यमा सहभागी विद्यार्थीहरूले डा. पाण्डेसँग अन्तरक्रिया गरेका थिए। विभाग प्रमुख डा. पिताम्बर भण्डारीले कार्यक्रमको अध्यक्षता गरेका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *