समितिको बैठकमा सभामुखले भनेका थिए- नाउपाको पत्र प्राप्त भएको छ, तर स्वीकार्दैनौं

सभामुख देवराम घिमिरेले नागरक उन्मुक्ति पार्टीले दर्ता गराएको पत्र नस्वीकार्ने बताएका छन्। बुधबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा उनले अध्यक्ष रञ्जिता श्रेष्ठको नाम नलिए पनि नाउपाबाट पत्र प्राप्त भएको जानकारी गराएको नाउपा संसदीय दलका नेता गंगराम चौधरीले बताए।

‘उहाँले नाउपाबाट पत्र प्राप्त भएको र त्यसलाई नस्वीकार्ने बताउनुभएक थियो। उहाँले दलको बैठकको आधिकारिक पत्र आउनेपर्ने जिकिर गर्नुभएको थियो,’ दलका नेता चौधरीले थारुवानसँग भने।

उनले विधान बमोजिम नाउपा दलको नेता आफू नै रहेको र आफूलाई हटाउने अधिकार अध्यक्षलाई नरहेको बताए। ‘संसदीय दलको नेता हटाउने अधिकार अध्यक्षज्युलाई छैन। सर्वसम्मत वा बहुमत पुर्‍याएरमात्रै दलको नेता बन्न पाउने प्रावधान छ,’ उनले भने। संसदीय दलको विधानको दफा १५ (ख) मा दलको नेता फेरबदल वा छनौट गर्द सर्वसहमति वा सांसद सदस्य संख्याको बहुमत संख्या हुनुपर्ने उल्लेख रहेको उनले बताए।

नाउपा अध्यक्ष श्रेष्ठले आफ्नो पार्टी सत्तापक्षमा बस्ने भन्दै संसद सचिवालयलाई पत्र दर्ता गराएकी थिइन्। त्यतिमात्र होइन, दलका नेतालाई पार्टीको हित विपरीत काम गरेकाले कारबाही गरेको भन्दै त्यो भूमिका पनि अध्यक्षले नै निभाउने व्यहोराको पत्र रञ्जिताले संसद सचिवालयमा दर्ता गराएकी हुन्।

‘यस नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेताको भूमिकामा रहनुभएका मा. गंगाराम चौधरीलाई पार्टीको हित विपरीत कार्य गरेउपर पार्टीको विधान बमोजिम स्पष्टीकरण सोधिएको र तथ्यपरक एवं सन्तोषजनक जवाफ प्राप्त नभएको हुँदा निज मा. गंगाराम चौधरी पार्टीको केन्द्रीय कार्यसमिति पदाधिकारी तथा संसदीय दलको भूमिकामा नरहने गरी मिति २०८२/०४/३० गते कारबाही गरेको’ पत्रमा उल्लेख छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *