रुपन्देही-३ मा रेशम चौधरीको उम्मेदवारलाई समर्थन गर्ने मोर्चाको औपचारिक निर्णय
संघीय लोकतान्त्रिक मोर्चाले रुपन्देही क्षेत्र नं ३ को उपनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ। जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठीको अध्यक्षतामा बसेको बैठकले मोर्चाका तर्फबाट प्रसार प्रसार समिति पनि बनाइएको छ।
‘रूपन्देही क्षेत्र न. ३ को उपनिर्वाचन प्रयोजनका लागि संघीय लोकतान्त्रिक मोर्चाले साविकमा गरेकै निर्णयप्रति पुनः प्रतिवद्धता जनाउँदै नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई उम्मेदवार निश्चय गर्ने जिम्मेवारी दिइएको छ। उक्त निर्वाचन प्रचार-प्रसार तथा परिचालनका लागि मोर्चा सचिवालयलाई विशेष जिम्मेवारी दिइएको छ,’ मोर्चाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
त्यस्तै गौर घटनाबारे सर्वोच्च अदालतले जारी गरेको परमादेशप्रति ध्यानाकर्षण जनाएको छ। मोर्चाले अनुसन्धानमा आशंका जनाउँदै निन्दा पनि गरेका छन्। ‘परमादेशको पूर्ण पाठ प्राप्त भइनसकेको भए पनि यदि भनिएजस्तो छानबिन वा अनुसन्धान सफा नियत, तटस्थता, कानुनसम्मत र सम्बन्धित सबैलाई दायरामा ल्याएर गरिन्छ भने यस्तो छानबिन र अनुसन्धानप्रति कसैको आपत्ति हुने कुरै भएन। संघीय लोकतान्त्रिक मोर्चा यसको निन्दा गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।
मोर्चाले राजनीतिक प्रतिशोध साँध्नेगरी अदालतको आदेश आएको जनाएको छ। ‘मोर्चा यी सबै तथ्यगत विषयवस्तुमा आधारित रहेर निष्पक्ष, तटस्थ, वास्तविकतामा आधारित अनुसन्धानको पक्षमा छ। तर, एकपक्षीय, राजनीतिक प्रतिशोधी, पूर्वाग्रही र विभेदी मानसिकताले गरिने कुनै पनि कारबाहीको सशक्त प्रतिकार हुने सम्बन्धित सबैमा स्पष्ट गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।
Facebook Comment