थारू पर्वका विषयमा भ्रम फैलाउँदै मेनस्ट्रिम मिडिया
पश्चिम तराईका थारू समुदायले भदौ ६ गते अट्वारी पर्व मनाए। ठाउँअनुसार यसलाई बड्की अट्वारी, बड्का अत्तवारी पनि भनिन्छ। उक्त दिन मेनस्ट्रीम सबै अनलाइन मिडियाले ‘थारू समुदायले अट्वारी पर्व मनाउँदै’ भनेर स्थान दिए। तर, केही मिडियाले अट्वारीको पर्वको तथ्यलाई नै तरोड मरोड गरेर समाचार प्रकाशन गरेको पाइयो।
बाह्रखरी डटकमले भदौ ८ गते ‘थारू महिलाले अट्वारी मनाउँदै’ शीर्ष समाचार प्रकाशन गर्यो। रातोपाटीले ‘थारू समुदायले आज अटवारी पर्व मनाउँदै’ भनेर समाचार प्रकाशन गर्यो। यी दुवै अनलाइन सञ्चारमाध्यमले अट्वारी पर्वको मौलिकता र तथ्यलाई तरोडमरोड गरेको पाइयो।
बाह्रखरीले लिडमै लेखेको छ, ‘थारू समुदायका महिलाले आइतबार अट्वारी पर्व मनाउँदै छन्। तराई क्षेत्रमा बसोबास गर्ने आदिवासी थारू समुदायका महिलाले साउन महिनाको अन्तिम आइतबारलाई अट्वारीका रूपमा मनाउने गर्छन्। अट्वारी शब्द ‘आठौँ दिन’ वा ‘आइतबार’सँग सम्बन्धित छ । यो पर्व पति र परिवारको सुख, समृद्धि र दीर्घायुको कामना गर्दै मनाउने चलन छ।’

अट्वारी पर्वसँग यो कुनै पनि विषय मेल खाएन। खासमा योग थारू पुरुषहरूले मनाउने पर्व हो। तर, छिटपुट महिलाहरूले पनि यो पर्व मनाउने गरेका छन्। समाचारको लिडमा भन्याजस्तो यो पर्व महिलाले मनाउने पर्व होइन। यो साउनको अन्तिम आइतबार पनि मनाइँदैन। न यो पतिको दीर्घायुको लागि मनाइन्छ। यो समाचारको लिडमात्र होइन, पुछारसम्म पनि केही शब्दबाहेक अट्वारीको महत्त्वसँग मेल खाँदैन।
त्यस्तै रातोपाटी डटकमले अट्वारी पर्वको समाचारमा फाइल फोटो भन्दै गलत तस्बिर राखेको छ। जुन फोटो अट्वारी पर्वसँग मेल खाँदैन। रातोपाटीको समाचारमा पनि अट्वारी पर्वबारे गलत व्याख्या गरिएको छ। समाचारको दोस्रो लाइनमा भनिएको छ, ‘शुक्रबार राति दर खाएर दिनभरि व्रत बस्ने र साँझपख रोटी पकाएर देउतालाई चढाइसकेपछि खाने।’ अट्वारी पर्व हरेक वर्ष आइतबारकै दिन पर्छ र त्यसको दुई दिन अघि नै अर्थात् शुक्रबार दर खाने चलन यो पर्वमा छैन।

रोचक त के भने यो समाचार सरकारी न्युज एजेन्सी राससबाट लिइएको छ। राससका दाङ संवाददाताले यो समाचार तयार पारेको देखिन्छ। तर, यो समाचारको इतिहास खोज्ने हो भने अर्को रोचक कुरा थाहा पाइन्छ। राससले २०७९ सालमा पनि सोही समाचार प्रकाशित गरेको देखिन्छ। पहिले र अहिलेको समाचारमा एउटै कुराको फरक छ, त्यो भने व्यक्तिको कोट। बाँकी कोटमा भनिएका कुरा पनि जस्ताको तस्तै राखिएको छ।

यस विषयमा बाह्रखरी र रातोपाटीको फेसबुकमा थुप्रै थारू अगुवाहरूले कमेन्ट गरेका छन्। तर, ती मिडियाले सच्याउने प्रयास गरेको देखिएन।

थारू लेखक छविलाल कोपिलका अनुसार बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र दाङ जिल्लामा बसोबास गर्ने थारू समुदायले माघीपछिको ठूलो पर्वका रूपमा अट्वारीलाई मनाउने गर्छन्। थारू सस्ंकृतिविद् अशोक थारूका अनुसार थारूहरुले अट्वारी पर्वको पहिलो रात दर (भिन्सर्या भाट) खाने गर्छन्। दरमा भात, माछा चोखो तरिकाले पकाइन्छ र भाले नबास्दै उठेर दर खाने प्रचलन छ। यसपछिको दोस्रो दिन प्रायः पुरुष र इच्छा भएका महिला व्रत बस्छन्।
बर्तालुले फलफूललगायतका परिकार खानुपूर्व आफ्नो खानाबाट आधा भाग झिकेर अलग राख्ने प्रचलन छ। यसरी छुट्याएको परिकार विवाहित छोरीचेलीलाई कोसेलीका रूपमा उपहार दिने चलन छ, जसलाई अग्रासन पनि भनिन्छ। तसर्थ यो पर्वलाई दाजुभाइ र दिदीबहिनीप्रतिको प्रेम र सद्भावको रूपमा पनि चित्रण गरिन्छ।
Facebook Comment