कैलालीको खुटिया नदीमा डुबेर प्रतीक चौधरीसहित चार किशोरको मृत्यु

कैलालीको खुटिया नदीमा डुबेर चार जना किशोरको मृत्यु भएको छ। गोदावरी नगरपालिका-९ स्थित खुटिया नदीमा नुहाउने क्रममा धनगढीका चार किशोर बेपत्ता भएका थिए।

१७ वर्षीय सक्षम जोशी, १५ वर्षीय जेव भण्डारी, १७ वर्षीय जादेज भण्डारी र १७ कै प्रतीक चौधरीको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले बताए। उनीहरू ७ जनाको समूहमा दिउँसो २ बजेतिर खुटिया नदीमा नुहाउने क्रममा डुबेका थिए। अन्य तीन जनाको भने सकुशल उद्धार गरिएको छ।

इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी रणबहादुर चन्दका अनुसार जेब र जाबेज जुम्ल्याहा दाजुभाइ हुन्। मृतक चारै जना किशोर धनगढीको वाल्मिकी इन्टरनेसनलमा कक्षा ११ मा अध्ययरत विद्यार्थी थिए। मृतकको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको डीएसपी चन्दले बताए। उनीहरू साथीहरूको समूहमा जन्मदिन मनाउन गोदावरी नगरपालिका ९ खुटिया खोलामा पुगेका थिए।

‘त्यहाँ केक पनि काटिएको छ। लुगा फुकालेर तलबाट पारि गएछन्। त्यहाँ केक काटेर केही माथिबाट उनीहरू सातै जना हात समातेर वारि लुगा भएतिर आउँदै रहेछन्,’ डीएसपी चन्दले भने, ‘४ जना गहिरो भागमा फसे। हात फुत्किएर पौडी खेलेर ३ जनाले ज्यान जोगाए।’

उनीहरू बिहीबार दिउँसो साढे १२ बजे बेपत्ता भएका थिए। स्थानीयवासी, प्रहरी र सशस्त्र प्रहरीको सहकार्यमा खोजी गर्दा उनीहरूको शव अपराह्न साढे ४ बजे फेला परेको हो। उनीहरूसँगै गएका १७ वर्षीय नवीन डडाल, १७ वर्षीय युवराज कुँवर र १७ वर्षीय आकाश मल्ल भने सकुशल छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *