कांग्रेस नेता उमाकान्त चौधरीका दाजु रामाकान्तको निधन, देउवाद्वारा दुःख व्यक्त
नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीका दाजु रामाकान्त चौधरीको निधन भएको छ। नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी कांग्रेसका नेता एवं नेपाल शिक्षक सङ्घ बाराका सदस्य चौधरीको भदौ ६ गते मेडिसिटी अस्पतालमा भएको निधनप्रति दुःख व्यक्त गरे।
विसं २०१३ भदौ १५ गते जन्मिएका स्व. चौधरीले लोकतन्त्रको स्थापना तथा पुनःस्थापना आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए। लोकतन्त्र र जनताका हक अधिकारका लागि गरिएको आन्दोलन र सङ्घर्षका क्रममा उनले पटक-पटक जेलनेल भोगेको कांग्रेसले जनाएको छ।
स्व. चौधरीले स्थानीय, प्रदेश तथा सङ्घीय निर्वाचनमा सक्रिय भूमिका निर्वाह गरेका थिए। विद्यार्थी जीवनदेखि नै राजनीतिक यात्रा प्रारम्भ गरेका चौधरीको निधनबाट एक होनाहार व्यक्तित्वलाई गुमाएको कांग्रेसले जनाएको छ।
चौधरीको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन्। देउवाले चौधरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिरशान्तिको कामनाका साथै कांग्रेस सहमहामन्त्री उमाकान्त चौधरीलगायत शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नोतर्फबाट गहिरो समवेदना प्रकट गरे।
Facebook Comment