रास्वपा उम्मेदवार लेखजंग थापा नाउपाका सामानुपातिक उम्मेदवार र टीकापुरबाट बनेका थिए उपाध्यक्ष

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही ३ मा उम्मेदवार बनाएका डा. लेखजंग थापा चार महिनाअघिसम्म नागरिक उन्मुक्ति पार्टीमा रहेको खुलेको छ। उनलाई नाउपाले समानुपातिकको बन्दसूचीमा राखेको थियो।

त्यतिमात्र होइन, उनी टीकापुर महाधिवेशनबाट उपाध्यक्षसमेत चयन भएका थिए। उक्त चुनावालई निर्वाचन आयोगले मान्यता दिएको थिएन। त्यस्तै डा. थापाकी पत्नी नुमा शर्मालाई नाउपाले लुम्बिनीमा राष्ट्रिय योजना आयोगको सदस्यसमेत बनाएको थियो।

२०७९ सालमा सम्पन्न चुनावमा लुम्बिनी प्रदेशका लागि खस आर्यतर्फ उनी समानुपातिक सूचीमा रहेका थिए। उनको नाम प्राथमिकता क्रमको पाचौं नम्बरमा थियो। रुपन्देही ३ मा उपचुनाव हुने भएपछि उनी रास्वपातिर ढल्किएका हुन्।

थापाले चार महिना अगाडि पार्टीबाट राजीनामा दिँदै आफूलाई बन्द सुचीबाट हटाउन आग्रह गरेका थिए। अध्यक्ष रञ्जिता श्रेष्ठले राजीनामा स्वीकृत गरिन् र नाउपाले निर्वाचन आयोगमा पत्राचार गर्‍यो। आयोगले गत २१ साउनमा मात्रै थापालाई बन्द सूचीबाट हटाइएको लिखित जानकारी गराएको थियो।

वरिष्ठ न्युरोलोजिष्ट डा. थापा सिद्धार्थनगर-९ निवासी हुन्। नेपाली न्युरो साइन्सको विकास र बिरामी उपचारमा १६ वर्षभन्दा बढी समय बिताएका उनी एक प्रतिभावान चिकित्सक हुन्।

पोखराको मणिपाल कलेज अफ मेडिकल साइन्सेजबाट एमबीबीएस, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट इन्टरनल मेडिसिनमा एमडी र कलेज अफ मेडिकल साइन्सेज चितवनबाट डीएम न्यूरोलोजी अध्ययन गरेका डा. थापा अमेरिकाको प्रसिद्ध हार्वार्ड विश्वविद्यालयको ‘सेफ्टी क्वालिटी लिडरसीप एण्ड इन्फमेटिभ’का ग्राजुएट्स हुन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *