शीतल निवासमा देखिएका दृश्यले मलाई निराश तुल्यायो : रास्वपा नेता चौधरी

अशोककुमार चौधरी

तीन वर्षको राजनीतिक यात्रामा मैले पाएको अनुभव सरल र सहज थिएन। जिम्मेवारीलाई मैले सधैं गम्भीरतापूर्वक, इमान्दार नियत र निष्पक्ष दृष्टिकोणसहित पूरा गर्ने प्रयास गरें। यस यात्रामा मलाई साथ, माया, विश्वास र निरन्तर सहयोग प्रदान गर्नु भएका सम्पूर्ण देशबासीप्रति म गहिरो आभार प्रकट गर्दछु।

संसद, संसदीय समिति र संगठनमा मेरो उपस्थितिको एउटै ध्येय थियो, जनताको आवाज बुलन्द गर्नु। भ्रष्टाचार र कुशासनविरुद्ध उठ्नु र निरन्तर संघर्ष गर्नु मेरो दैनिकी बन्यो। थारू समुदायबाट राजनीतिमा प्रवेश गर्दा मैले सदैव महसुस गरें। यो यात्रा केवल व्यक्तिगत उन्नतिको लागि होइन, ऐतिहासिक विभेद झेल्दै आएका तथा सामाजिक-आर्थिक रूपमा पछाडि पारिएका वर्गहरूको पक्षमा बोल्न र लड्नका लागि हो। संसदमा प्रवेश गर्दा मेरो उद्देश्य स्पष्ट थियो, नीति निर्माण, कानुन निर्माण र कार्यपालिकालाई जवाफदेही बनाउन सकिन्छ। यो सजिलो थिएन, तर म विश्वस्त थिएँ, राजनीति अझै पनि कानुनी बाटोतर्फ फर्कन सक्छ।

यसबीचमा मैले हाम्रो नवपुस्ता जेनजीको अदम्य साहस देख्ने अवसर पाएँ। २७ घण्टामै उनीहरूले इतिहास रचे। यसले नयाँ आशा जगाएको छ। नागरिकहरूले स्वयं निर्वाचन प्रणाली सुधारको आवश्यकता महसुस गर्न थालेका छन्, जुन भविष्यका लागि सकारात्मक संकेत हो।

मलाई लाग्छ, जेनजीले उठाएका ‘भ्रष्टाचार र बेथिति’ विरुद्धका मागहरू पूर्ण रूपमा न्यायोचित छन् र समाधान योग्य पनि छन्। तर, संविधान दिवसकै दिन शीतल निवासमा देखिएका दृश्यहरूले भने मलाई निराश तुल्यायो। पुरानै झुन्डसँग अघि-पछाडि लागेका केही झल्कोहरूको तस्बिर देख्दा मनमा प्रश्न जाग्छ, के यही हो त हाम्रा वीर जेनजी युवाहरूको बलिदानले ल्याएको परिवर्तन?

लोकतान्त्रिक हक अधिकारको निर्वाध उपभोग, विधिमा आधारित असल शासन र चरम भ्रष्टाचार तथा दण्डहीनताविरुद्ध कठोर र स्पष्ट कदम चाल्न ढिला गर्नु हुँदैन।

सर्वप्रथम
१) तत्काल नीतिगत निर्णय र उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति तथा स्रोतको छानबिन होस्।
२) सबै निकायमा गरिएका राजनीतिक नियुक्तिहरू एकै निर्णयबाट खारेज गरि मेरिटोक्रेसीको आधारमा स्थापित गरिनु पर्छ।
३) नेपालबाट विदेशी बैंकमा पठाइएका सम्पत्ति फिर्ता ल्याइनुपर्छ।
४) उच्च पदस्थ कर्मचारी र नेताहरूको बैंक खाता तथा सम्पत्ति तत्काल रोकिनुपर्छ।
५) स्वतन्त्र, निष्पक्ष र पारदर्शी उच्चस्तरीय न्यायीक छानबिन आयोग तत्काल गठन होस्।

मलाई थाहा छ, यो बाटो सजिलो छैन। तर, सत्य र न्यायका लागि बोल्नु पर्ने आवाज चुप लाग्न मिल्दैन। देश र जनताको भविष्य यही स्पष्टतामा निर्भर छ। साथै म जहाँ भए पनि देश र जनताको सेवामा निरन्तर समर्पित रहने मेरो दृढ संकल्प छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *