मेरैया गाउँमा ‘सखिया नाच’को रौनक
बर्दियाको बारबर्दिया नगरपालिका वडा न: १० मा अवस्थित मेरैया गाउँ अहिले ‘सखिया नाच’ को रौनकताले भरिएको छ। दशैंअघि सुरु भएर दशैं सकिएको केही दिनसम्म नाचिने सो नाचले गाउँ रौनकता बढाएको छ।
साँझपख गाउँका सम्पूर्ण युवतीहरूले थारू पहिरनमा सजिएर गाउँको मूल बरघर चौधरी प्रसाद चौधरीज्युको घरमा जम्मा भएर मोरिन्या रोशनी चौधरी (किरण) र पज्गिन्या प्रीति चौधरीको अगुवाइमा सखिया नाच्ने गरेका छन्।
गाउँमा सखिया नाच नाच्ने युवती हुँदाहुँदै पनि मादल बाजाउने ‘मदर्या’ नभएको सखिया नाच नाच्ने युवतीहरूले गुनासो गरेपछि सबै मेरैया गाउँबासीले सल्लाह गरेर मादल बजाउनका लागि प्रत्येक दिन सात-सात घरको पालो लगाइएको छ। जसले गर्दा गाउँका युवतीहरू नाच्न हौसिएका छन्।
पहिले पहिले करिब एक महिनासम्म नाचिने सखिया नाच आजभोलि हप्तादिन सम्ममात्र नाच्ने गरिन्छ। गाउँका युवतीहरू अध्ययन गर्न प्रायः गाउँबाहिर जाने भएकाले र नयाँ पुस्ता सखिया नाच नाच्न अग्रसर नहुँदा सखिया नाचको मौलिक लोक संस्कृति हराउँदै जाने अवस्थामा पुगेको छ। बारबर्दिया नगरपालिका भित्रको निकै थोरै गाउँमा मात्र नाचिने ‘सखिया नाच’लाई नगरपालिकाले समयमै संरक्षणप्रति चासो राखेन भने अबको केही वर्ष पछि सखिया नाच लोप भएर जानेछ।



Facebook Comment