रैथाने थारू स्वादका लागि खुल्यो टिम्बर ट्रपिकल रिट्रीट होटल
पर्यटन व्यवसायमा अगाडि बढिरहेको नवलपुर (पूर्वी नवलपरासी)मा टिम्बर ट्रपिकल रिट्रीट होटल सञ्चालनमा आएको छ। नेचरगाइड देवेन्द्र महतो र होटल म्यानेजमेन्ट अध्ययनरत उनका छोरा सिलासले कावासोती नगरपालिका-१५ शेरगञ्जमा टिम्बर ट्रपिकल रिट्रीट होटल सञ्चालनमा ल्याएका हुन्। महतोका आमाबुबा बिकनकुमारी थरुनी र रुपनारायण महतोले मंगलबार संयुक्तरूपमा होटलको उद्घाटन गरे।
सुन्दर, शान्त, प्राकृतिक वातावरण र रैथाने थारु परिकारसँग रमाउन चाहने पाहुनालाई लक्षित गरेर होटल सञ्चालन गरेको सञ्चालक महतोले बताए। उनले होटलमा घोङ्घी, माछा, हाँस, चिचर, सोझो रोटी लगायतका थारू परिकारसहित पाहुनाले अर्डर गरेअनुसार चाइनिज लगायत अन्य खानेकुराका परिकार उलब्ध गराइने जानकारी दिए। ‘हाम्रो विशेष परिकार भने रैथाने थारू खाना नै रहने छ,’ सञ्चालक महतोले भने।
काठ, बाँसलगायत वनजन्य सामग्री प्रयोग गरेर बनाइएको होटलको वरिपरि रुख र बोटविरुवा छन्। शेरगञ्जको अग्लो भागमा रहेको होटलबाट चितवन राष्ट्रिय निकुञ्जसहित बाघखोर होमस्टेको सुन्दर दृश्य देखिने गर्दछ। होटल परिसरमा सिजनअनुसार विभिन्न किसिमका आगन्तुक चराचुरुङ्गी आउने गरेका छन्। गर्मी याममा स्वर्गचरी, कोइली लगायतका पाहुना चराले त्यस ठाउँमा गुँड बनाएर बचेरा हुर्काउने गरेको महतोले जानकारी दिए।
त्यसैगरी रैथाने विभिन्न प्रजातिका चरा जतिसुकै बेला देखा पर्ने गरेको जनाइएको छ। चराचुरुङ्गी, प्रकृति र स्थानीय थारू संस्कृतिसँग रमाउन चाहेका पर्यटकका लागि आफ्नो होटल उपयुक्त गन्तव्य बन्नसक्ने महतोले उल्लेख गरे। उनले डण्डा बजार र कावासोती बजारको बाटो भएर होटलसम्म पुग्न सकिने जानकारी दिए।
होटल उद्घाटन कार्यक्रममा अमेरिका बस्दै आएका कावासोती नगरपालिका-१५ गोडारका राजु महतो, कैलालीको धनगढीका अविनाश चौधरी, होटल व्यवसायी बिनु महतो लगायतको उपस्थिति रहेको थियो।
Facebook Comment