एमालेको भातृसंगठन अनेरास्ववियुले दियो बालेन र सुदनविरुद्ध जाहेरी, राष्ट्रिय सम्पदा जल्न दिएको आरोप
जिल्ला प्रहरी परिसर काठमाडौंले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्धको जाहेरीमा एक दिनको समय माग गरेको छ। एमाले निकट अनेरास्ववियुले दिएको किटानी जाहेरीलाई एक दिन समय मागेको पूर्व अध्यक्ष समिक बडालले बताए।
उनका अनुसार सरकारकी वकिलको कार्यालयसँग छलफल गरेरमात्रै प्रहरीले निर्णय गर्ने भएको छ। ‘हामीले जाहेरी दिएका छौं। सरकारी वकिलसँग सल्लाह गरेर २४ घन्टामा यसको निर्णय दिन्छौं भन्नुभएको छ। सरकारी वकिलको कार्यालयको निर्णयपछि मात्रै हामी थप निर्णय गर्नेछौं,’ उनले भने।
बडालले थप न्यायिक निरुपणका लागि आफूहरू सम्बन्धित ठाउँमा जान तयार रहेको बताए। ‘हामी कानुनी राज्यको पक्षधर भएको संगठन हौं। हामीले मुलुकको विधिको शासनको वकालत गर्दै यहाँसम्म आएका छौं। दण्डहीनतालाई प्रश्रय दिनु हुँदैन भनेर हामी यहाँ उपस्थित भएका छौं,’ उनले भने।
उनले राष्ट्रिय सम्पदाहरू तोडफोड र आगजनी गर्नेहरूलाई अनुसन्धान गरेर दोषीहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए। उनले त्यसका लागि आवश्यक प्रमाणहरू पनि बुझाएको बताए। ‘जेनजीका नाममा बालबालिकाको हत्या भएको छ। सिंहदरवार, अड्डाअदालत जलेका छन्। राष्ट्रिय सुरक्षामा खतरा महसुस भएको छ। हामी दण्डहीनतालाई टुलुटुलु हेरेर बस्दैनौं,’ उनले भने।
त्यस्तै अखिलका महासचिव दीपक धामीले जेनजी आन्दोलनपछि देश आतंकित बनेको बताए। उनले यस्तो बेला राज्यका सबै नियकाहरू परिचालित हुनुपर्नेमा कोही व्यक्तिहरूले सरकारी कार्यालयहरूमा हुकुमी शासन चलाइरहेको आरोप लगाए।
‘प्रहरीलाई कुटी कुटी मारिएको छ। विद्यार्थीलाई गोली हानिएको छ। शान्तिको प्रतीकको रूपमा रहेको देशमा विध्वंश मच्चाइएको छ। त्यो हुनु हुँदैन। हामी पनि त्यही समूहका युवाहरू हौं। अनधिकृत मान्छेहरू सिंहदरवार छिरेर हुकुमी शासन लाद्नु हुँदैन,’ उनले भने।
Facebook Comment