पूर्वमन्त्री रञ्जिताको पिएसओले जम्मा गरेको ११ लाखबारे अख्तियारले छुट्टै अनुसन्धान गर्ने

कास्कीको लिचीबारी जग्गा प्रकरणमा ३२ लाख रुपैयाँ घुस लिएको आरोप लागेका तत्कालीन भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीमाथि छुट्टै अनुसन्धान हुने भएको छ। विशेष अदालत काठमाडौंबाट मुद्दा नम्बर ०७४-cr- ०१६७ मा भएको आदेशअनुसार अधिकारीमाथि छुट्टै अनुसन्धान हुनेछ।

अधिकारीसँग घुस प्रकरणमा जोडिएका दुई पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठविरूद्ध भने बुधबार विशेष अदालतमा मुद्दा दर्ता भएको छ। फरक फरक प्रकृतिका र फरक फरक समय अवधिका वारदात फरक निर्णयकर्ता भएकाले छुट्टै अनुसन्धान गर्न लागेको अख्तियारको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।

उनका अनुसार पूर्वमन्त्री अधिकारी र विचौलिया सुजनकुमार तामाङसँग भएको संवादमा ३२ लाख रूपैयाँ घुस लिएको भनिएको छ। साथै सुजनसँग तत्कालीन सचिव अर्जुनप्रसाद पोखरेलले ५ लाख र १० हजारको सामान मदिरा र २ वटा कुखुरासमेत लिएको आरोप छ। फरक फरक समय अवधि भएकाले उनीहरूमाथि छुट्टै मिसिल खडा गरी अनुसन्धान अधिकृत तोकेर अनुसन्धान अगाडि बढाउने प्रवक्ता पौडेलले जानकारी दिए।

‘मुद्दालाई टुक्राटुक्रा गरेर अख्तियारले अनुसन्धान अगाडि बढाउन पाउँछ। त्यही अनुसार गरेका हौं,’ उनले भने। बलराम अधिकारी मात्र नभई मालपोत कार्यालय कास्कीका नायब सुब्बा दीपक सुवेदीले ७० लाख खर्च गरी चिरञ्जीवि पौडेललाई मालपोत कार्यालय कास्कीमा ल्याएको विषयमा पनि छुट्टै अनुसन्धान हुने भएको छ।

‘पौडेलले सेवाग्राहीसँग ४ पटक हवाई टिकट किन्न लगाएको भन्ने आरोप पनि छ। त्यसैले छुट्टै अनुसन्धान हुन लागेको हो,’ उनले भने। त्यस्तै पूर्वमन्त्री रञ्जिता श्रेष्ठको पिएसओ रोशन लोहनीले ११ लाख रूपैयाँ घुस लिएको विषयमा छुट्टै अनुसन्धान गर्ने प्रवक्ता पौडेलले जानकारी दिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *