नाउपा नेपालको अध्यक्षमा कबीर सोब, महासचिवमा उमाशंकर चौधरी
नागरिक उन्मुक्ति पार्टी (नाउपा) छाडेर नयाँ दल घोषणा गरेका रेशम चौधरीले नयाँ दल दर्ताका लागि निवेदन दिएका छन्। नागरिक उन्मुक्ति पार्टी, नेपाल नाम राखेर दल दर्ताका लागि दिएको निवेदन अहिले सनाखतको प्रक्रियामा रहेको छ।
पार्टी घोषणा गरेका चौधरीसहितका नेताहरू बिहीबार दल दर्ताको प्रयोजनका लागि एउटै पोशाकमा निर्वाचन आयोग पुगेका हुन्। निर्वाचन आयोगमा पेश भएको कागजातमा पार्टीको अध्यक्ष कबीर सोबलाई गरिएको छ। त्यस्तै, चुनाव चिह्न भने जाँतो प्रस्ताव गरिएको छ।
२८ वर्षीय सोब कैलाली टिकापुरका हुन्। चौधरीसँग डा. सीके राउत नेतृत्वको जनमत पार्टी परित्याग गरेका अब्दुल खान पनि आयोग पुगेका छन्। अबदुलसँगै थप पाँच जना केन्द्रीय नेताले असोजको पहिलो साता जनमत छोड्ने निर्णय गरेका थिए। अब्दुल खानलाई उक्त पार्टीको वरिष्ठ उपाध्यक्ष बनाइएको छ।
नाउपा नेपालको महासचिवमा उमाशंकर चौधरी छन्। कार्यसमितिमा रेशम चौधरी आफू पनि छैनन् र परिवारका कसैलाई पनि राखेका छैनन्। पार्टी नेतृत्वलाई लिएर विवाद भएपछि रेशम चौधरी नागरिक उन्मुक्ति पार्टीबाट अलग भएका थिए। उनले जेनजी पुस्ताका कबीर सोपलाई अध्यक्षको जिम्मेवारी दिएका छन्।
Facebook Comment