जेनजी आन्दोलन: डा. चौधरी भन्छन्- ४२ जना युवाहरूको पोस्टमार्टम गर्न एकदमै गाह्रो भएको थियो

गत भदौ २३ र २४ गते जेन–जी को प्रदर्शनका क्रममा ७६ जनाको मृत्यु भएको सरकारी तथ्यांक छ। पोस्टमार्टमका लागि यहाँ कति शव ल्याइएको थियो ?
हामीसमक्ष पोस्टमार्टमका लागि ४९ जनाको शव ल्याइएको थियो।

शवको प्रकृति कस्तो थियो ?
७ वटा शव चिन्नै नसकिने अवस्थामा थिए। जलेका थिए। खरानी मात्रै थियो भने पनि हुन्छ। त्यसको पोस्टमार्टम हुन सकेको छैन। बाँकी ४२ जनाको पोस्टमार्टम भयो। नेपाल प्रहरीको आन्तरिक प्रतिवेदनमा मेटल (धातु) र रबर बुलेटबाट चार हजारभन्दा बढी राउन्ड गोली प्रहार भएको उल्लेख छ।

४२ शवको पोस्टमार्टम गर्दा बुलेट (गोली)को प्रहार कसरी भएको पाइयो ?
पोस्टमार्टम गर्न ल्याइएका ४२ मध्ये ३४ शवमा बुलेट इन्जुरी (गोलीको चोट)थियो। शरीरका विभिन्न अंगमा गोली लागेका मध्ये ११ जनाको टाउकोमा गोली लागेको पाइयो। १६ जनाको छातीमा गोली लागेको थियो। पेटमा चार जनाको र घाँटीमा तीन जनाको गोली लागेको थियो।

मेटल (धातु) र रबरका गोली कतिवटासम्म लागेको पाइयो ?
मेटलको गोलीचाहिँ एउटा बडी( शव)मा एउटा मात्र पाइयो। तर, रबरका गोली एउटा शरीरमा तीनवटासम्म पायौं।

पोस्टमार्टम गर्दा के देखियो– हाई भेलोसिटी (राइफललगायत)का हतियारबाट बढी गोली प्रहार भएको रहेछ कि लो भेलोसिटी (पेस्तोल, ह्यान्ड गनलगायत)का साना हतियारबाट ?

बुलेट इन्जुरी (गोली लागेको घाउ)को प्रकृति अध्ययन गर्दा अधिकांश हाई भेलोसिटीसँग मिल्छ। सबै इन्जुरीको प्रकृति हेर्दा हाई भेलोसिटी (राइफल)को प्रकृतिसँग मिल्छ।

हाई भेलोसिटी (राइफल)को प्रकृतिसँग मिल्छ भनेर कसरी भन्न मिल्छ ?
हाई भेलोसिटी र लो भेलोसिटी हतियारबाट गरिएको प्रहार टार्गेटमा लागिसकेपछि शरीरमा देखा पर्ने प्रतिक्रिया अथवा प्रकृति फरक–फरक हुन्छन्। हाई भेलोसिटी आम्र्सबाट जब गोली प्रहार हुन्छ, तब शरीरमाभित्र तीव्र वेभले खिचिने/फाट्ने हुन्छ। शरीरभित्रका अंगहरूलाई विच्छेद गर्छ। पोस्टमार्टम गर्दा शरीरभित्रका अंगहरू क्षतविक्षत भएको पाइएको छ। शरीरभित्र प्रवेश गरिसकेपछि बुलेट फ्र्यागमेन्ट (टुक्रिएको÷फुटेको) छ। त्यो सबै हाई भेलोसिटी बुलेटसँग मिल्छ। सबैजसो भन्दा पनि हुन्छ, हाई भेलोसिटी फायर (राइफल) आम्र्सबाट बुलेट फायर भएको देखिन्छ।

पोस्टमार्टमका क्रममा फेला परेका गोलीका फ्रयागमेन्ट( टुक्रा) कहाँ र कसको जिम्मामा छन् ?
गोलीको फ्रयागमेन्ट (टुक्रा)पनि हामीले प्रहरीलाई जिम्मा लगाएका छौं।

गोली प्रहारले शरीरमा देखिएको घाउको इन्ट्री र एक्जिट प्वाइन्ट कस्तो प्रकृतिको थियो ?
इन्ट्री वन्ड अधिकांशमा अगाडि भएको पाइएको छ। पछाडि पनि छन्। तर, अधिकांशमा अगाडि देखिएको छ। एक्जिट वन्ड कतिमा देखिएको छ। कतिपयमा देखिएको छैन। केही केहीमा एक्जिट वन्ड पनि छन्। एक्जिट वन्ड नभएकामा गोलीका फ्रयागमेन्ट पाएका छौं। एक्जिट वन्ड भएको गोलीको फ्रयागमेन्ट पाउने कुरै भएन। प्रकृति हाई भेलोसिटी फायर (राइफल) आम्र्ससँग मिल्छ।

एउटा शवमा अधिकतम कतिवटासम्म घाउ देखियो ?
रबर बुलेटको घाउ मल्टिपल पायौं। रबर बुलेटबाट भएको इन्ट्री वन्ड तीनवटा सम्म पायौं। मेटल बुलेटचाहिँ सिंगल पाइयो।

घाउको प्रकृति हेर्दा बुलेट (गोली) प्रहारको दूरी कतिसम्म देखिन्छ ? नजिकैबाट प्रहार भएको छ कि टाढाबाट ?
घाउको अध्ययन गर्दा फायर रेन्जबाट केही भन्न सकिन्छ। क्लोज (सिधा छोइएको)रेन्ज, कन्ट्याक्ट (नजिकै) रेन्ज र डिस्टेन्स (अलि टाढा) रेन्जको मापन गर्न सकिन्छ। क्लोज र कन्ट्याक्ट नभई डिस्टेन्स रेन्जबाट बुलेट प्रहार भएको देखिन्छ। हामीले क्लोज रेन्जकारूपमा टार्गेटबाट एक मीटरको दूरीलाई समेट्छौं। अलि टाढाको दूरीलाई डिस्टेन्स रेन्ज भन्छौं। गोली सँगसँगै गन पाउडरलगायत तत्वहरू निस्कन्छन्। बुलेट फायर हेर्दा कम्तीमा पनि एक मिटरभन्दा पर (टाढा)बाट भएको देखिन्छ।

पोस्टमार्टको क्रममा गोली मात्र नभएर सबै हेरिन्छ। मृतक जेन–जीको हेल्थ हिस्ट्रिको विषयमा केही नयाँ कुरा पाउनु भएको छ ?
पोस्टमार्टमको क्रममा हामीले गोली मात्र नभएर अन्य जे जे देखिन्छ अन्य सबै पक्ष हेर्ने, विश्लेषण गर्छौं। जेन–जी प्रदर्शनका क्रममा हालसम्म गरिएका पोस्टमार्टममा कुनै पनि रोगको लक्षण थिएन।

पोस्टमार्टमका क्रममा गोलीको प्रकृति के कस्तो देखियो ?
सग्लो गोली एउटा पनि थिएन। गोली फ्रयागमेन्ट (टुक्रिएका) भएका थिए। शिशा (लिड)का टुक्राहरू शरीरभित्र छरिएर रहेको अवस्थामा भेटिएको थियो। सिंगल इन्ट्री भए पनि शरीरभित्र छरिएर रहेको अवस्थामा पाइयो।

गोली कुन किसिमका थिए ?
गोली फ्रयागमेन्ट (टुक्रिएको/फुटेको) कारणले गर्दा हाम्रो चिकित्सकीय लेभलबाट विस्तृत व्याख्या गर्न सकिँदैन। गोलीको प्रकृति र गोली प्रहारपछि बनेको घाउको प्रकृति भने मिल्न जान्छ। हामीले यति मात्र भन्न सक्छौं कि यो हाई भेलोसिटी इन्जुरीबाट भएको हो।

पोस्टमार्टममा टर्मिनल ब्यालेस्टिक (गोली लक्ष्य भेदन गरे पछिको प्रभाव र प्रक्रियाको अध्ययन)महत्वपूर्ण मानिन्छ। त्यसैले हामीलाई भनिदिनुहोस् कि गोली कुन दिशाबाट र कति दूरीबाट चलाएको पाइयो ?
यसमा मैले अघि पनि भनिसकें। कम्तीमा पनि एक मिटरभन्दा टाढा र अधिकांश अगाडिबाट गोली लागेको पाइएको छ। एंगलको हिसाबमा चाहिँ घाउको प्रकृतिको आधारमा हामीले भन्न सक्दैनौं।

घाउको प्रकृतिको हिसाबले हेर्दा तालिम प्राप्त प्रशिक्षित व्यक्तिले नै गोली प्रहार गरेको देखिन्छ ?
हाई भेलोसिटी फायर साधारण व्यक्तिले गर्न गाह्रै पर्छ। स्वचालित हतियार चलाउन प्रशिक्षण त लिनै पर्छ। हाम्रो विचारमा हाई भेलोसिटी फायर आर्म चलाउन जानेको व्यक्तिबाट नै प्रहार भएको हुनुपर्छ।

पोस्टमार्टम रिपोर्ट हेर्दा के देखिन्छ- अधिकांशको घटनास्थलमै मृत्यु भएको हो कि उपचारका क्रममा ?
अधिकांश शवमा उपचारका चिह्न देखिएन। यस आधारमा भन्दा घटनास्थलमै ज्यान गएको देखिन्छ। अस्पतालमा लैजाँदा कतिपयलाई डाक्टरले मृत घोषित गरेका थिए। मृत्यु हुनेबित्तिकै पोस्टमार्टम गर्न ल्याइएको पनि थिएन। शव त सुरुमा सम्बन्धित अस्पतालमै थिए। उपचार गर्दा गर्दै भन्दा पनि धेरै जनाको ज्यान घटनास्थलमै गएको देखिन्छ।

४२ जनाको पोस्टमार्टम गर्न कति दिन लाग्यो ?
जेन–जी प्रदर्शनको तीन दिनपछि अर्थात् भदौ २७ देखि नै पोस्टमार्टम गर्न सुरु गरेका थियौं। गोली लागेका कतिपयको त अस्पतालमा उपचार भइरहेको थियो। पछि मात्र देहान्त भयो। अन्तिम पोस्टमार्टम असोज १३ गते भएको थियो।

गोली लागेर ज्यान गुमाएकाहरूको उमेर कति छ ?
सबैभन्दा सानो उमेर भनेको १६ वर्षको पाइयो। अधिकांश २०/२२ देखि २८ वर्षका छन्। सबैभन्दा ज्येष्ठ भनेको ६४ वर्षका व्यक्तिको ज्यान गएको पाइएको छ।

युवतीको पनि ज्यान गएको छ नि, होइन ?
हो। १९ वर्षकी महिलाको पनि ज्यान गएको छ। उनलाई मेटल बुलेट लागेको छ।

पोस्टमार्टमका क्रममा टाउको चिर्दा कत्तिको जटिलता हुन्छ ? भावनात्मक रूपमा पनि छुन्छ, होला नि ?
प्राविधिक रूपमा हामीले तटस्थ भएरै पोस्टमार्टम गर्नुपर्छ। पेसाले पोस्टमार्टम गर्ने डाक्टर भए पनि हामी पनि मान्छे नै हो। भावनात्मक पक्षले छोइ नै हाल्छ। जेन–जी प्रदर्शनका क्रममा ज्यान गुमाएका युवाहरूको शवको पोस्टमार्टम गर्नुपर्दा हामीलाई एकदमै गाह्रो महसुस भएको थियो। इमानदारीपूर्वक भन्नुपर्दा जेन–जी उमेरका युवाहरूले हाम्रो मुलुकमा आन्दोलन गरेको पहिलोपटक हो। र, मेरो १५ वर्षको करिअरमा यसरी धेरै जना गोली लागेको शव ल्याइएको पहिलोपटक नै हो। त्यसैले पनि पोस्टमार्टम गर्दा केही असहज महसुस भएको थियो। पहिले पहिले आकलझुकल रूपमा प्रहरीको इन्काउन्टरमा मारिएका, सिकार खेल्ने क्रममा झुक्किएर गोली लागेका, सुसाइड गरेका, विमान दुर्घटनामा परेका केसहरूमा पोस्टमार्टम गरिन्थ्यो।

जेन–जी प्रदर्शनमा प्रहरी कार्यालयहरू पनि तोडफोड भएको थियो। शवको पोस्टमार्टम सुरु गर्न केही असहज भयो कि ?
पोस्टमार्टम गर्नुअघि कानुनी प्रक्रियाहरू पूरा गनु पर्ने हुन्छ। शव ल्याउनेबित्तिकै पोस्टमार्टम गरिहाल्ने भन्ने हुँदैन। काठमाडौंमा उपत्यकामा प्रहरी वृत्तमा नै तोडफोड भएको थियो। जसका कारण ओनरसिप लिन र पोस्टमार्टमका लागि आधिकारिक पत्र आउन अलि ढिला भयो। कानुनी रूपमा पोस्टमार्टम गर्नु भनेर पत्र नआएसम्म हामीले पोस्टमार्टम गर्न मिल्दैन। प्रहरी परिसर भद्रकालीले ओनरसिप (आधिकारिकता) लिएर पत्र पठाएपछि बल्ल हामीले पोस्टमार्टम सुरु गर्‍यौं। र, आफन्तलाई शव बुझाउँदै गयौं।

पोस्टमार्टम गर्न बाँकी ७ जनाको शव व्यवस्थापन कसरी गर्नु भएको छ ?
७ वटा पोकामा सुरक्षितसाथ राखेका छौं। अवशेषको रूपमा रहेका छन्। हड्डीसमेत जलिसकेको अवस्थामा छन्। हामीले नम्बर त निकालेका छौं। हामीले प्रारम्भिक रूपमा हेर्दा त्यसबाट डीएनए आउन कठिन छ। तथापि, हामीले नमुना (स्याम्पल) संकलन गरेका छौं। विश्लेषणका लागि हामीले प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाएका छौं।

जेन–जीको प्रदर्शनका क्रममा तीनजना नेपाल प्रहरीको पनि ज्यान गएको छ। तीनवटै शवको पोस्टमार्टम भयो ?
हामीले नै पोस्टमार्टम गर्‍यौं।

पोस्टमार्टम रिपोर्टमा के देखियो ?
टाउको, छाती र पेटमा ब्लन्ट इन्जुरी (कडा र ठूला वस्तु वा धार नभएको वस्तु अथवा मुक्का र लात्तिले हानेपछि देखिने चोट) पाइयो। त्यही इन्जुरीकै कारण ज्यान गएको रिपोर्टमा पाइयो।

सबै शवको पोस्टमार्टममा कतिजना संलग्न हुनुभएको थियो ?
मेरो नेतृत्वमा सातजना डाक्टर र पाँचजना सहयोगी संलग्न भयौं।

कति दिनमा पोस्टमार्टम सम्पन्न गर्नु भयो ?
भदौ २७ देखि सुरु भएर असोज १३ मा सम्पन्न भयो। कतिपयको त उपचारका क्रममा ज्यान गएको हो। कुल मिलाएर १८ दिन लाग्यो, भनौं।

पोस्टमार्टमका क्रममा तपाईंंहरूलाई चुनौती के आउँछन् ?

शवको सम्मान र सुरक्षा नै हो। शवको सम्मान होस् भन्ने हामी चाहन्छौं। एक्सरे उपलब्ध हुँदो हो त गोली खोज्न सजिलो हुन्थ्यो। निकै मिहिनेत गरेर गोली खोज्यौं। सीमित स्रोतसाधनबाट त्रुटिरहित रिपोर्ट दिनुपर्ने चुनौती छ।

प्रस्तुति : दिनेश गौतम




Leave a Reply

Your email address will not be published. Required fields are marked *