नेपालको पर्यटन र क्रिकेटमा भारत सरकारको सहयोग
हिमालयको मुटुमा अवस्थित नेपाल र भारतले भौगोलिक सीमा मात्रै होइन, संस्कृति, आस्था र पीढीगत मित्रताको अटुट बन्धन साझा गर्छन्। दशकौँदेखि विकसित हुँदै आएको यो सम्बन्ध दक्षिण एसियाकै सबैभन्दा जीवन्त र परिपक्व साझेदारीका रूपमा स्थापित भइरहेको छ, जहाँ विकास, पर्यटन र खेलकुद कूटनीति निर्णायक स्तम्भ बनेका छन्।
ग्रामीण समुदायलाई सशक्त पार्ने साना पूर्वाधारदेखि लिएर नेपाली अर्थतन्त्रलाई चलायमान बनाइरहेका भारतीय पर्यटकहरूको भूमिका, र विद्यालय तथा क्रिकेट पूर्वाधार निर्माणसम्म भारत-नेपाल सम्बन्ध आज विश्वास, पारस्परिक प्रगति र क्षेत्रीय सहकार्यको उत्कृष्ट मोडेलका रूपमा उभिएको छ।
प्रगतिको जग बसाल्दै
भारत लामैदेखि नेपालको प्रमुख विकास साझेदारका रूपमा स्थापित छ। शिक्षा, स्वास्थ्य, कनेक्टिभिटी, कृषि तथा ऊर्जा, यी सबै क्षेत्रमा भारतले दिगो प्रभाव पार्ने सहयोग पुर्याउँदै आएको छ। मे २०२५ मा नयाँ दिल्लीले नेपालमा १२ वटा नयाँ उच्च प्रभाव सामुदायिक विकास परियोजना (HICDP) निर्माणका लागि रु ४७४ मिलियन (झन्डै ३.३९ मिलियन अमेरिकी डलर) सहयोग गर्ने घोषणा गर्यो।
यी परियोजनामा विद्यालय भवन, खानेपानी प्रणाली, स्वास्थ्य सुविधा र कृषि सेवा केन्द्रहरू समावेश छन्, जसले ग्रामीण जनजीवनमा प्रत्यक्ष प्रभाव पार्ने अपेक्षा छ। अर्को चरणमा भारतले धनुषा, पर्सा, अछाम र बारामा नयाँ माध्यमिक विद्यालय तथा मनाङमा पाँच शय्याको अस्पताल निर्माणका लागि रु ३९० मिलियन (करिब २.७८ मिलियन अमेरिकी डलर) बराबरका पाँचवटा HICDP परियोजनाको सम्झौतामा हस्ताक्षर गर्यो।
यी सबै पहलहरूले सबै तहका समुदायलाई आधारभूत पूर्वाधारमार्फत सशक्त बनाउने भारतको दीर्घकालीन प्रतिबद्धता झल्काउँछन्। सन् २००३ यता भारतले नेपालभर ५७९ वटा HICDP कार्यान्वयन गरिसकेको छ, जसमध्ये ४९६ सम्पन्न भइसकेका छन् र ८३ परियोजना सञ्चालनमा छन्। नेपालका स्थानीय निकायमार्फत कार्यान्वयन गरिएका यी योजनाहरूले सोलुखुम्बुमा खानेपानी, धादिङमा मातृ–स्वास्थ्य सेवा, बाजुरामा कृषि अवसरजस्ता प्रत्यक्ष लाभ पुर्याएका छन्।
भारतको योगदान साना परियोजनामा मात्र सीमित छैन। जयनगर-बिजलपुरा-बर्दिबास रेलमार्ग-नेपालको पहिलो सीमापार ब्रोडगेज रेल र दक्षिण एसियाकै पहिलो मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन जस्ता परियोजनाले कनेक्टिभिटी र ऊर्जा सुरक्षामा ऐतिहासिक छलाङ दिलाएका छन्।
पाइपलाइनका कारण पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर करिब रु २ ले घटेको छ, जसबाट लाखौँ उपभोक्ता प्रत्यक्ष लाभान्वित भएका छन्। सिलिगुडी-झापा पाइपलाइन र ४०० केभी प्रसारण लाइनजस्ता नयाँ परियोजनाले नेपाललाई ऊर्जा आत्मनिर्भरता र स्वच्छ वृद्धितर्फ उन्मुख गरिरहेका छन्।
सहयोगको दायरा मानव विकाससम्म फैलिएको छ, हरेक वर्ष १,५०० भन्दा बढी नेपाली विद्यार्थी भारतीय छात्रवृत्ति पाउँछन्। सन् २००१ देखि ३,३०० भन्दा बढी नेपाली पेशेवरले भारतीय प्राविधिक तथा क्षमता अभिवृद्धि कार्यक्रममा सीप अभिवृद्धि गरेका छन्। यस्ता दीर्घकालीन लगानीले नेपालका डाक्टर, इन्जिनियर, प्रशासक र प्राविधिकहरूको नयाँ पुस्ता तयार गरिरहेको छ।
पर्यटनमार्फत साझा यात्रा
पर्यटन दुई राष्ट्रबीचको सांस्कृतिक, ऐतिहासिक र भावनात्मक पुल हो। नेपाल भारतीयहरूका लागि भौगोलिक नजिकोपनभन्दा धेरै, एउटा आध्यात्मिक निरन्तरता हो—बुद्ध जन्मिएको लुम्बिनी, जनकपुर, पवित्र हिमालय र शान्त आध्यात्मिक स्थलहरूले वर्षेनि हजारौँ भारतीय आगन्तुकलाई आकर्षित गर्छन्। महामारीअगाडि नेपालमा अन्तर्राष्ट्रिय पर्यटक आगमनमध्ये ३०% भन्दा बढी भारतीय थिए, र २०२३ पछि यो प्रवाह तीव्र गतिमा फर्किएको छ।
सन् २०२४ मा मात्र ३.५ लाख भारतीय पर्यटक नेपाल आएका थिए, नेपालका लागि सबैभन्दा ठूलो पर्यटक समूह। यसले विशेषगरी पोखरा, काठमाडौं, लुम्बिनी, जनकपुर र पशुपतिनाथ क्षेत्रमा होटल, ट्रेकिङ एजेन्सी, रेस्टुरेन्ट, ट्याक्सीदेखि साना व्यवसायसम्मलाई पुनर्जीवित गराएको छ। सीमापार रेल सेवा पुनः सञ्चालन, र २०२४ मा सुरु गरिएको UPI–FonePay डिजिटल भुक्तानी प्रणालीले यात्रा अझ सरल बनाएको छ। आज भारतीय पर्यटकले मुम्बई वा दिल्लीमा प्रयोग गर्ने QR कोड पोखराको क्याफेमा सहजै स्क्यान गरेर भुक्तानी गर्न सक्छन्—यो डिजिटल कनेक्टिभिटीले पर्यटन–नेतृत्व विकासको सम्भावना विस्तार गरिरहेको छ।
प्रत्येक भारतीय पर्यटकले औसत ५००–६०० अमेरिकी डलर खर्च गर्ने भएकाले स्थानीय सेवा अर्थतन्त्रले प्रत्यक्ष लाभ पाएको छ। आतिथ्य, यातायात र साहसिक पर्यटन क्षेत्रहरूले भारतीय आगन्तुकका कारण दोहोरो अंकमा वृद्धि देखाएका छन्।
सांस्कृतिक पर्यटनले पनि टेवा पाइरहेको छ—लुम्बिनीमा भएको भारत–नेपाल सांस्कृतिक महोत्सव जस्ता कार्यक्रमहरूले साझा इतिहास र सांस्कृतिक आत्मीयतालाई अझ नजिक ल्याइरहेका छन्।
क्रिकेट: मित्रताको नयाँ प्रतीक
हालका वर्षमा खेलकुद, विशेषगरी क्रिकेट भारत-नेपाल सम्बन्धको आकर्षक अध्याय बनेको छ। पहिले सीमित समूहमा लोकप्रिय रहेको क्रिकेट अहिले काठमाडौंदेखि धरान र पोखरासम्म उकालो लागिरहेको छ, र यस उत्थानमा भारतीय समर्थन महत्वपूर्ण रहेको छ। भारतले सामग्री, विशेषज्ञता, तालिम, एक्सपोजर म्याच, कोचिङ तथा युवा विकास कार्यक्रममार्फत नेपाल क्रिकेटलाई प्रतिस्पर्धी बनाइरहेको छ।
BCCI ले नेपाली खेलाडीहरूका लागि प्रशिक्षण अवसर विस्तार गरेको छ भने भारतीय पूर्व–क्रिकेटरहरूले कोचिङ र मेन्टोरिङमा सक्रिय योगदान दिइरहेका छन्।
नेपाल एसिया कपका लागि छनोट भएपछि भारतीय समर्थन झन् बढ्यो। क्रिकेट रङ्गशाला विकास, युवा क्रिकेट संरचना, तथा खेलकुद आदानप्रदानका परियोजनामा भारतीय दूतावासले सहयोग वृद्धि गरिरहेको छ। नेपालले आईसीसी टुर्नामेन्टहरूमा प्रभाव छोड्दा भारतीय दर्शकहरू नेपाली टोलीका सबैभन्दा उत्साही समर्थकमध्ये देखिन थाले। क्रिकेट अब खेलमात्र होइन, यो दुई देशबीचको साझा गर्व, भावनात्मक निकटता र मित्रताको सशक्त प्रतीक बनेको छ।
भविष्यका लागि साझेदारी
नेपालप्रति भारतको आर्थिक तथा प्राविधिक सहयोग वर्षौंदेखि विस्तार हुँदै आएको छ। ७५० मिलियन अमेरिकी डलर बराबरका सहुलियतपूर्ण ऋण सुविधा, १ बिलियन अमेरिकी डलरको भूकम्पपछिको पुनर्निर्माण सहायता, तथा हरेक प्रदेशमा फैलिएका अनुदान परियोजनाले नेपाली जीवनका हरेक तहलाई छुँदै आएका छन्।
HICDP को वार्षिक सीमा हालै रु ५० मिलियनबाट बढाएर रु २०० मिलियन पुर्याइएको निर्णयले नेपालका बढ्दो विकास आवश्यकताप्रति भारतको संवेदनशीलता र प्रतिबद्धता दुवैलाई देखाउँछ। भारतको विकास मोडल स्थानीय स्वामित्व र समुदाय केन्द्रित कार्यान्वयनमा आधारित छ, यसले प्रत्येक परियोजना स्थानीय प्राथमिकता, स्थानीय आवश्यकता र स्थानीय लाभसँग प्रत्यक्ष सम्बद्ध रहन्छ भन्ने सुनिश्चित गर्छ।
यो सम्बन्धको सबैभन्दा विशेष पक्ष यसको मानवीय आयाम हो।
भारतको सहयोगमा बनेको सिँचाइ नहर प्रयोग गर्ने किसानदेखि, नवनिर्मित विद्यालयमा पढ्ने विद्यार्थी, सीमा सहजतामा यात्रा गर्ने पर्यटक, अन्तर्राष्ट्रिय अवसरका लागि प्रशिक्षण लिएको युवा क्रिकेटर—यी सबै कथामा भारत–नेपाल मित्रता दैनिक रूपमा जिउँदो देखिन्छ।
भारत र नेपाल साथसाथै अघि बढिरहेका छन्र उनीहरूको सम्बन्ध सामान्य कूटनीतिभन्दा पर पुगेको छ। यो साझेदारी साझा समृद्धि, पारस्परिक सम्मान, र सांस्कृतिक आत्मीयताको बन्धनमा निर्मित छ।
निर्माण भएको हरेक पुल, खुल्ने हरेक कक्षाकोठा, स्वागत गरिएका हरेक पर्यटक, र क्रिकेट मैदानमा बनेका हरेक रनले एउटै सत्य पुष्टि गर्छ, प्रगति साझा हुँदा मात्र दिगो हुन्छ, र मित्रता जब कर्ममा रूपान्तरित हुन्छ, त्यो साझा भविष्यको वास्तविक आधार बन्छ। आज, हिमालयको फेददेखि काठमाडौंका सडकसम्म भारत-नेपाल साझेदारी यो सत्यको जीवन्त उदाहरणजस्तै चम्किरहेको छ कि छिमेकीहरूले सँगै अघि बढ्दा भूगोल मात्र होइन, भविष्य पनि साझा गर्न सकिन्छ।
Facebook Comment