काठमा बाँधिएको स्मृति : विक्रम महतोको ‘लडिया’ र हराउँदै गएको थारू सभ्यता
कारी महताे/चितवन
खिचरा महोत्सवको प्रदर्शनीस्थलमा उभिएको एउटा काठको गाडा छ। त्यो गाडा केवल काठका चक्का, डाँडा र डोरीको संरचना मात्र होइन, त्यो थारू समाजको स्मृति हो, पसिना हो र इतिहास हो। गाडासँगै उभिएका छन् राप्ती नगरपालिका-६ निवासी विक्रम महतो, जसका हातले काठलाई बोल्न सिकाएका छन्।
चितवनमा यस काठको गाडालाई लडिया (लणिया) भनिन्छ। पश्चिम नेपालतिर यही गाडा लह्रिया वा लढिया नामले चिनिन्छ। नाम फरक भए पनि यसको आत्मा एउटै हो, थारू समुदायको जीवनसँग गाँसिएको आत्मा। एक जोडी गोरुले तान्ने यो लडिया कुनै समय थारू समाजको प्रमुख सवारी साधन थियो। खेतबाट अन्न बोक्ने, घरायसी सामग्री ओसार्ने, गाउँ-बस्ती जोड्ने काम यही लडियाले गर्थ्यो।
आज सडकमा गुड्ने आधुनिक साधनहरूले लडियाको स्थान लिएका छन्। तर, लडियाले बोकेको इतिहास, संस्कृति र पहिचान भने ती साधनले कहिल्यै बोक्न सक्दैनन्। यही कारण विक्रम महतोका हातले बनाएको लडिया आज केवल एउटा प्रदर्शनी सामग्री होइन, यो थारू सभ्यताको जिउँदो साक्ष्य बनेको छ।
गाडाको हरेक भाग काठकै छ, चक्का, फ्रेम, आसन, डाँडा फलामको प्रयोग छैन, आधुनिक औजारको सहारा छैन। यो संरचनाले थारू समाजमा रहेको परम्परागत सीप, प्रकृतिसँगको सहअस्तित्व र काठप्रतिको गहिरो ज्ञानलाई उजागर गर्छ। कुनै समय चितवन जिल्लामा थुप्रै थारू मिस्त्रीहरू यस्ता लडिया बनाउँथे। तर समयक्रमसँगै ती सीपहरू बिस्तारै हराउँदै गए। आज ती सीपहरू बोकेर उभिएका छन्, विक्रम महतो। ५७ वर्षको उमेरमा उनी चितवनमा यस किसिमको काठको गाडा बनाउने सायद एकमात्र कार्यरत मिस्त्रीका रूपमा बाँकी छन्।
सानै उमेरदेखि हस्तकलामा निपुण विक्रमले वि.सं. २०३९ सालदेखि चाैध वर्षकाे कलिलाे उमेरमै यही कर्मलाई आफ्नो जीवनको पेशा बनाए। चार दशकभन्दा बढी समयदेखि उनले काठसँग संवाद गरिरहेका छन्, कहिले लडिया बनाएर, कहिले अन्य परम्परागत संरचना सिर्जना गरेर।
खिचरा महोत्सवका लागि बनाइएको यो लडिया सीमित समयमै हतार-हतार तयार गरिएको हो। “अलि धेरै समय पाएको भए, पुरानै शैलीमा जस्ताको तस्तै बनाउँथें,” विक्रम भन्छन्। उनका अनुसार यस्ता लडिया बनाउन आवश्यक सामग्री र पारिश्रमिक जोड्दा दुईदेखि साढे दुई लाख रुपैयाँ खर्च लाग्छ। खिचरा महोत्सवले विक्रम महतोको सीप मात्र होइन, थारू समाजको भुलिँदै गएको जीवनशैलीलाई पनि सार्वजनिक मञ्चमा ल्याइदिएको छ। प्रदर्शनी हेर्न आउने दर्शकहरूका लागि यो लडिया एउटा संरचना होइन, पुर्खाको कथा हो, श्रमको गाथा हो।
यही पेशाको भरोसामा विक्रम महतोले आफ्ना एकमात्र छोरालाई आर्किटेक्चर इन्जिनियर बनाएका छन्। परम्परागत सीप र आधुनिक शिक्षाबीचको यो सम्बन्ध आफैंमा एउटा प्रेरणादायी कथा हो, जहाँ काठका चक्का घुमेर भविष्यको बाटो खुल्छ। विक्रम महतो जस्ता स्रष्टा जोगिनु भनेको एउटा व्यक्तिलाई जोगाउनु होइन। यो लडिया, लह्रिया वा लढियासँगै बाँधिएको थारू सभ्यता, संस्कृति र इतिहासलाई बचाइराख्नु हो। लडिया, लह्रिया, लढिया-नाम जेसुकै होस्, यी सबै शब्दहरू आज स्मृतिका समानार्थी बन्दै गएका छन्।
गोरु नहुँदा पनि चक्का उभिएको छ। बाटो नहुँदा पनि गाडा तयार छ। केवल एउटा कुरा अभावमा छ, यसलाई बुझ्ने र जोगाउने समय। काठका चक्कामा आज पनि समय घुमिरहेको छ। हामीले त्यसलाई रोक्छौं कि फेरि बग्न दिन्छौं, निर्णय हाम्रो हातमा छ।
Facebook Comment