राजधानीमा थारु सांस्कृतिक पर्व ‘गुरही’ र पुस्तान्तरणको सवाल

शत्रुघन चौधरी
१. परिचय
नेपालका भूमीपुत्र थारुहरु पुर्व झापा देखी पश्चिम कन्चनपुरसम्म तराई तथा भित्री तराईको भू-भागमा सदियौंदेखि प्रकृतिसँग तादात्म्य मिलाएर बसोबास गर्दै आएका छन । जनगरणा २०७८ अनुसार नेपाल भरका थारुहरुको कुल जनसंख्या १८०७१२४ र काठमाठौ उपत्यकामा बसोबास गर्ने थारुहरुको संख्या ३२९५४ रहेको छ । थारु कल्याण कारीणी सभाको दावी अनुसार करिब २ लाख थारुहरु काठमाडौ उपत्यकामा बसोबास गर्दछन । थारु समुदाय सांस्कृतिक रूपमा निकै धनी छ । थारु समुदायले मनाउने विभिन्न चाडपर्वहरूमध्ये ‘गुरही’ (गुरिया) पर्व पश्चिमी थारु समुदाय विशेष गरी दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लाका थारु समुदायहरुले श्रावण शुक्ल पञ्चमी अर्थात् नागपञ्चमीकै दिन मनाइने मनाईने एउटा मौलिक तथा सास्कृतिक पर्व हो।

‘गुरही’ शव्दको अर्थ थारु भाषामा एक प्रकारको सुन्तला वा खैरो रङको लामो पुच्छर भएको उड्ने किरा लाई बुझाउछ । नेपालीमा गाइने किरा वा अंग्रेजीमा Dragonfly भनिन्छ । वर्षायामको खेतीपाती सकिएलगत्तै बालबालिकाहरुको सहभागीतामा यो पर्व मनाउने गरिन्छ । यस पर्वले एकातिर वर्षायाममा लाग्ने अनेक किसिमका रोगहरु खाँज, खुज्ली, घाउ, खटिरा, ज्वरो महामारी रोगहरुबाट छुटकारा पाईन्छ भन्ने मान्यता रहिआएको छ भने अर्को तर्फ गुरही किराले लामखुट्टे लगायत हानिकारक किरालाई खाएर पर्यावरणलाई सन्तुलन राख्न मदत गर्दछ । यही गुरही किराबाट ‘गुरही’ पर्व नामाकरण भएको हो । विभिन्न जिल्लाबाट अध्ययन, रोजगारी, व्यवसाय लगायत विभिन्न अवसरको खोजीका क्रममा काठमाडौँ उपत्यकामा आई परिवारका साथ बसोबास गर्ने थारुहरूको संख्य दिन प्रतिदिन बढदै गएको छ । उनीहरुको बालबालिकाहरु विस्तारै शहरिया र आधुनिक जीवनशैलीमा अभ्यस्त भैरहेका छन । यसकारण उनीहरु थारु मौलिक संस्कृति परम्पराबाट विस्तारै टाढीदै गएको आभास हुन्छ । यसले भोलीका दिनहरुमा थारु पहिचान नै संकटमा पर्ने देखिन्छ । अत नयाँ पुस्तालाई थारु भाषा, संस्कृती, परम्परा, ज्ञान, सीप हस्तान्तरण, पुस्तातरण गर्न जरुरी भैसकेको छ ।

२. काठमाडौँमा गुरहीको गौरवशाली इतिहास

उपत्यकामा बसोबास गर्ने थारु समुदायका अगुवा, महिला, पुरुष, बुद्धिजीवी, अभियन्ता, कर्मचारी, व्यावसायी, श्रमिक, विद्यार्थीहरुको सक्रिय सहभागीतामा आफ्नो मौलिक कला र संस्कृतिलाई प्रवर्धन र संरक्षण गर्ने उदेश्यले राजधानीमा सामुहिक रुपमा विगत १० वर्ष देखि गुरही पर्व मनाईदै आएको छ । वि.सं. २०७२ – ऐतिहासिक सुरुवात (त्रिवि परिसर) : काठमाडौँको इतिहासमा पहिलो पटक कैलाली-कञ्चनपुर मैगर समाजका अध्यक्ष एन्जल कुश्मीको संयोजकत्वमा त्रिभुवन विश्वविद्यालय (त्रिवि) को खुला परिसरमा गुरही कार्यक्रको शुरुवात गरिएको थियो ।

वि.सं. २०७३ साउन २३ गते चम्पन सांस्कृतिक समूहका अध्यक्ष नन्दूराज चौधरीको संयोजकत्वमा त्रिभुवन विश्वविद्यालयकै परिसरमा दोस्रो पटक व्यापक तयारीका साथ ‘गुरही अस्राउने’ कार्यक्रम सम्पन्न भयो, जसले यो पर्वलाई संस्थागत स्वरूप दिन सुरु गर्यो । वि.सं. २०७४ साउन १३ गते वि.सं. २०७५ भदौ २ गते र २०७६ साउन १९ गते – चम्पन सांस्कृतिक समूहका अध्यक्ष नन्दूराज चौधरीको अध्यक्षतामा नेपाल पर्यटन बोर्डको हलमा गुरही पर्व अझ बृहत रुपमा आयोजना गरिएको थियो । वि.सं. २०७७ र २०७८ – विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (COVID-19 ) को महामारी र बन्दाबन्दी (Lockdown) का कारण कुनै पनि गतिविधि हुन पाएन । वि.सं. २०७९ साउन २० गते वि.सं. २०८० भदौ ४ गते, चम्पन सांस्कृतिक समूहका अध्यक्ष नन्दूराज चौधरीकै अध्यक्षतामा भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको हलमा गुरही कार्यक्रम भव्यताका साथ आयोजना गरी युवाहरूमाझ संस्कृति प्रतिको झुकावमा थप ऊर्जा सञ्चार गरियो ।
|
वि.सं. २०८१ साउन २५ गते अग्रासन थारु महिला समाजका अध्यक्ष चम्पा चौधरीको नेतृत्वमा नेपाल प्रज्ञा प्रतिष्ठानमा गुरही कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको थियो । यो वर्षदेखि राष्ट्रियस्तरमा गुरही लगायत सांस्कृतिक पर्व मनाउने कार्यमा महिला नेतृत्वको नयाँ आयाम थपिएको छ । वि.सं. २०८२ साउन १३ गते नेपाल पर्यटन बोर्डको हलमा वहाँकै नेतृत्वमा गुरही कार्यक्रम सम्पन्न गरिएको थियो । पछिल्लो समय राजधानीको गुरही पर्वमा महिला पुरुष युवा युवतीहरुको उल्लेख्य सहभागिता हुदै आएको छ । ३.

३. गुरही पर्वको महत्व
गुरही केवल एउटा पर्व मात्र होइन, यो थारु समुदायको जीवनपद्धतिको ऐना पनि हो । यसका तीनवटा मुख्य पक्षहरू छन्:
सामाजिक पक्ष: यो पर्वले भाइ-बहिनी र साथीभाइबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउछ । गाउँ वा सहरको चोकमा जम्मा भएर सामूहिक रूपमा चाड मनाउँदा आपसी रिसराग मेटिने, मेलमिलाप बढ्ने र सामाजिक सद्भाव अझ बलियो बनाउन मद्दत गर्दछ ।
सांस्कृतिक पक्ष: यस पर्वले थारु समुदायको लोककथा, परम्परागत गुरही बनाउने कला र लोक वार्तालाई जीवन्त राख्छ । यो दिन खाइने विशेष परिकार ‘घुघ्री’ ले थारु खानपानको मौलिकता झल्काउने काम गर्दछ ।
वातावरणीय पक्ष: थारु समुदाय प्रकृतिपूजक हुन । वर्षायाममा धानबालीमा कीरा लाग्ने र तराईमा लामखुट्टेको प्रकोपहरु बढ्छन् । गाइने किरा (गुरही) ले लामखुट्टे जस्ता हानिकारक कीराहरूलाई खाएर वातावरण सफा राख्छ र प्रकृतिको सन्तुलन मिलाउँछ । त्यसैले यो पर्वले पर्यावरण संरक्षण प्रतिको सचेतनालाई बढावा दिने कार्य गर्दछ ।

४. गुरही मनाउने मौलिक तौर तरिका र प्रचलन
गुरही पर्वको अघिल्लो दिन गाउँको ‘चौकीदार’ ले साँझपख गाउँको गल्ली-गल्ली घुमेर ठुलो स्वरमा हाँक पार्छन् “अरे गाउँक मनै घुघरी भिजाउ रे घुघरी ” भनी उर्दी गरेपछि मात्र गाउँभरिका मानिसहरूले विधिवत् रूपमा चना, केराउ जस्ता गेडागुडी भिजाउने प्रक्रिया सुरु गर्छन् । गुरहीको दिन बिहानै गाउँका महिलाहरूले घर सरसफाई गर्दछन । भान्सामा अघिल्लो दिन भिजाएर राखिएको चना तथा अन्य गेडागुडीहरूलाई उमालेर स्वादिष्ट ‘घुघ्री’ पकाइन्छ । यसका साथै माछा मासु लगायत अन्य मिठा मिठा परिकार बनाईन्छ । सोही दिन विहान देखि केटा मान्छे सोंटा बनाउने काममा जुटछन र केटीहरु गुरही बनाउन थाल्दछन । अभिभावकहरुले खेतमा गई सोँटा बनाउनकालागि चुर्की, रारा घाँस अनि बाँसको कप्टेरो काटेर ल्याउछन र सोँटा बनाउन बालकहरुलाई मद्दत गर्दछन । यता महिला, युवती र बालिकाहरू भने घरमा बसेर पुराना रङ्गीचङ्गी कपडाका टुक्राहरू र कपासको प्रयोग गरी आकर्षक गुरही र गुरहा बनाउँछन् । गुरही तयार भएपछि थालमा राख्छन र गुरहा र गुरहीलाई ओल्टाई पल्टाई खेलाउछन, काखमा लिएर डोलाउछन र गीत गुन्गुनाउछन्।

चुपि रहो गुरही, चुपि रहो गुरही । ढेहरिक गोराटिर ढरबँ हो गुरही।
चुप रहो गुरही, चुप रहो गुरही। मोंकक पिस्निपर ढरबँ हो गुरही ॥
चुप रहो गुरही, चुप रहो गुरही । भिटक अँर्वापर ढरबँ हो गुरही ॥
चुप रहो गुरही, चुपि रहो गुरही । भिकौटिक छर्निटिर ढरबँ हो रही ॥
चुपि रहो गुरही, चुपि रहो गुरही । माटिक खोंख्रिम ढरहुँ हो रही।
दाङ बोले टिम्कि, महदेवा बोले ढोल अमलिक रुखवाटिर बैठहिं मोर गुरही।
दाङ बोले टिम्कि, महदेवा बोले ढोल असनक रुखवाटिर बैठहिं मोर गुरही ।
|
साँझपख घाम डुब्ने बेला चौकीदारले पुन हाँक पार्छन “अरे गाउँक मनै गुरही अस्राई चोलो रे” भनी हाँक पार्दछन । चौकीदारको यो हाँक सुन्नेबित्तिकै घरघरबाट परम्परागत थारु गहना र पहिरनमा सजिएका युवती तथा बालिकाहरू थाल वा ‘ढकिया’ मा आफूले बनाएका कपडाका गुरही र पकाएको घुघ्री लिएर गाउँको खुला चउर वा चौबाटोतर्फ हर्षोल्लासका साथ प्रस्थान गर्छन् । अस्राउने स्थानमा पुगिसकेपछि एकातिर युवतीहरु मौलिक पहिरनमा गुरहीको थाल लिएर लामवद्ध उभिन्छन अर्कोतिर युवाहरु थारु भेषभुषामा सोँटा लिएर लामवद्ध उभिएका हुन्छन । वरिपरी गाउँले दर्शकहरुको खचाखच भिड हुन्छ । यो क्षण उत्सवीय क्षण बनेको हुन्छ । सबै जम्मा भैसकेपछि गाउँको अघरिया वा बरघरले सबैले सुन्ने गरी भन्छन लेउ आब गुरही असैना सुरु … यति भनेर सबैलाई अस्राउन अनुमति दिन्छन । त्यसपछि बालिकाहरुले आफ्ना थालमा रहेका कपडाका गुरहीहरूलाई सामूहिक रूपमा भुइँमा फ्याँकिदिन्छन् यसलाई ‘गुरही अस्रैना’ भनिन्छ । बालिकाहरुले भुइँमा फ्याँक्ने बित्तिकै सोँटा लिएर तम्तयार अवस्थामा बसेका सा साना केटाहरूले ‘डे घुघ्री, डे घुघ्री’ भन्दै ती पुतलीहरूलाई आफ्नो सोटाले ठटाउँदै घुघ्री माग्छन ।
|
सोटाले गुरही ठटाइसकेपछि बालिका युवतीहरुले केटाहरू र गाउँलेहरूलाई प्रसादको रूपमा घुघ्री बाँड्छन् उनीहरुलाई आमा वा दिदीहरुले सघाउछन । जति धेरैलाई प्रसाद बाँडन सक्यो त्यतिनै पुन्य प्राप्त हुन्छ भन्ने मान्यता छ । यसरी सामुहिक गुरही अस्सराई र घुघ्री एक आपसमा बाँडचुँड गरी गाउँलेहरू खाँदै गरेको दृश्य साच्चिकै अनुपम र जीवन्त देखिन्छ । यसले एक आपसमा आत्मीयता झनै बढाईदिन्छ। यही लोक संस्कृति नै गुरहीको असली परिचायक हो । घुघ्री बाँडदा अन्तमा केही भाग घुघ्री बचाएर घर लाने प्रचलन छ । फर्किदा बाटोमा दुवो उखेलेर घुघ्रीसगै थालमा राख्दछन र घरतिर लाग्छन । फर्किने क्रममा गाउँको मरुवामा रहेका देवतालाई प्रसाद चढाई मर्वाको छाप्रोमा छिटेर घर फर्किन्छन् । घर आएर पनि आफ्नो घरको छानामाथि, गोठको वरिपरी, बरुवाको छानामाथि, अनाज राख्ने धनसार र बारीमा लगाइएका तरकारीहरूमा छिट्ने प्रचलन छ । यसो गर्दा घरमा भूतप्रेत नआउने, रोगव्याधी र लुतो नलाग्ने, भकारी धानमा वृद्धि हुने, बारीको तरकारी फल्ने जस्ना जनविश्वास रहिआएको छ। त्यसैगरि केटाहरूले ठटाउन लगिएको सोंटा कसैले नदेख्ने गरि लुकाएर घर ल्याइन्छ । त्यो पनि तरकारी बारीमा बाँढिन्छ । यसो गरे किरा फट्याङ्ग्रा नलाग्ने र फल पनि राम्रो लाग्ने जनविश्वास रहिआएको छ । त्यस्तै त्यही सोंटालाई धूप लगाई घोटेर घाउ, खटिरामा सञ्चो हुने, पेट दुखाइ र ज्वरो आएमा पनि यसले औषधीको काम गर्ने कुरा यो समुदायका जानकारहरू बताउँछन् । यसरी गुरही पर्व विधिवत् सकिन्छ । यो बिशेष गरेर बालबालिकाहरूको एक मौलिक पर्व हो । जुन पर्वले रोगव्याध हटाउने लुतो फाल्नेदेखि लिएर बालीनाली सप्रिने मान्यता बोकेको छ।

५. चुनौती र अवसरहरू
सहरमा मनाउँदा आउने समस्या र चुनौतीहरू:
सामुदायिक संरचना र चौकीदार प्रथाको अभाव: सहरमा गाउँको जस्तो ‘भल्मन्सा’ वा ‘चौकीदार’ हुँदैनन्, जसले हाँक पारेर सबैलाई एकै ठाउँमा भेला गराउन सकून्
। छरिएर रहेको घर अपार्टमेंट वा कोठाको बसाइमा सामूहिक हाँक सुनिने सम्भावना हुँदैन, जसले गर्दा चाडको त्यो मौलिक सामूहिकता हराउँछ ।

खुला ठाउँको अभाव: काठमाडौँ जस्तो सहरमा गुरही अस्राउनका लागि परम्परागत खुला चउर वा सुरक्षित चौबाटो पाउन निकै गाह्रो छ। सडकको बीचमा गुरही अस्राउदा ट्राफिक व्यवस्थापन र फोहोरको समस्या आउन सक्छ ।

• सोँटा र गुरही बनाउने कच्चा पदार्थको अभाव: सहरमा सोटा बनाउन आवश्यक पर्ने सामग्री बाँसका कप्टेरा, काँस वा चुर्की सजिलै पाइँदैन । त्यस्तै, व्यस्तताका कारण घरमा कपडाको पुतली बनाउनुको साटो बजारबाट तयारी खेलौना किन्ने प्रवृत्ति बढ्ने खतरा रहन्छ । यसले मौलिकता हराउने खतरा हुन्छ ।

सीपयुक्त जनशक्तीको अभाव : गुरही र सोँटा बनाउन सिपयुक्त जनशक्तीको आवश्यक पर्दछ । नयाँ पुस्तालाई यो सीप हस्तान्तरण गर्न नसक्ने हो भने पछि मौलिकता नरहन सक्छ ।

अवसरहरू:
बजेटको अभाव : शहरी क्षेत्रमा मौलिक चाड पर्व सामूहिक रुपमा मनाउन निकै खर्चिलो हुदै गएको छ । राजधानीमा मौलिक पर्व मनाउने थारुहरुको आफ्नै सामुदायिक भवनको अभाव छ। सरकारी तवरबाट कुनै पनि सहयोग प्राप्त हुन सकेको छैन । हालसम्म विभिन्न सघ सस्था तथा व्यक्तितवरबाट आर्थिक संकलन गरेर मौलिक पर्व व्यवस्थापन गरिदै आएको छ । यसरी बजेट अभावले आयोजकलाई कार्यक्रम व्यवस्थापन गर्न निकै कठीनाई भोग्नु परिरहेको छ ।

सांस्कृतिक पर्यटन: काठमाडौँमा गुरही मनाउँदा यसले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा थारुहरुको परम्परा, संस्कृतिको प्रवर्द्धन गर्ने अवसर दिन्छ जसकारण सास्कृतिक पर्यटन प्रवर्धनमा टेवा पुग्ने देखिन्छ ।
राष्ट्रिय तथा अन्तराष्ट्रीय पहिचान: राजधानीमा पर्व मनाउदा राज्यका उच्च ओहोदाका व्यक्तिहरूलाई आमन्त्रण गरिन्छ विभिन्न मिडियाहरुले समाचार बनाउछन यसले गर्दा थारु संस्कृतिको राष्ट्रिय तथा अन्तर्राष्ट्रीयस्तरमा प्रचार प्रसार हुन्छ र समुदायका साथै राष्ट्रको पहिचान कायम गर्न मदत गर्दछ ।
परम्परागत हस्तकला सीपको बजारीकरण : हाम्र परम्परागत हस्तकला सीपलाई बजारीकरण गर्न सके आय आर्जनको प्रचुर सम्भावना देखिन्छ । गुरहीको अवसरमा वा अघिपछि यस पंकारका मौलिक गुरही र सोँटा बनाई विक्री वितरण उपहारका सामग्री उत्पादन गर्न सके यसले स्थानीय आर्थिक विकासमा टेवा पुग्ने देखिन्छ ।

६. पुस्तान्तरण कसरी
थारुहरुको मौलिक सांस्कृती परम्परा चाड पर्वहरू पहिचानको धरोहर हुन । यसलाई जीवन्त राख्न पुस्तान्तरणको खाँचो छ । यसकालागि पुराना र नयाँ पुस्ताबीच सहकार्य हुन जरुरी छ । विशेष गरेर शहरी क्षेत्रमा बसोबास गर्ने युवाहरुलाई यस किसिमका मौलिक कार्यक्रमसँग जोडन अझ बढी आवश्यक छ । यसमा दुवै पक्षको भूमिका निम्नानुसार रहन्छ:

क) पुरानो पुस्ता (अभिभावक र अभियन्ताहरू) को भूमिका:
• सहभागीता : कुनै पनि कार्यक्रम आयोजना गर्दा नयाँ पुस्तालाई कुनै न कुनै भूमीका दिई अधिकाधिक संख्यामा सहभागी हुने वातावरण तयार गर्ने । यसले उनीहरुलाई आफ्नो धर्म सस्कृति परम्पराका बारेमा चासो बढाउछ र सिक्न उत्पेरित गर्दछ ।

• तर्क र विज्ञानसहित बुझाउने: युवाहरूलाई “यो हाम्रो चलन हो, मान्नैपर्छ” भन्नुको साटो यसको वैज्ञानिक र वातावरणीय पक्ष (कीट-पतङ्ग नियन्त्रण र जनस्वास्थ्य) बुझाउनुपर्छ ।

• लचकता र सहर अनुकूलन: सहरमा हुर्किएका युवाहरूले यसलाई मनाउँदा डिजिटल माध्यमको प्रयोग गरे वा थोरै परिमार्जन गरे भने पुरानो पुस्ताले ‘परम्परा बिग्रियो ‘ भनी गुनासो नगरी स्विकार्नु पर्छ।

• हस्तकला र सीपको व्यावहारिक तालिम कार्यशाला: कपडाको गुरही बनाउने, सोटा बाट्ने र ‘घुघ्री’ भिजाउने पकाउने जस्ता सीपहरू आफ्ना छोराछोरीलाई घरमै सिकाउने। सार्वजनिक रुपमा कार्यशाला मार्फत प्रत्यक्ष बनाएर सीप हस्तान्तरण गर्ने ।

ख) नयाँ पुस्ता (नवयुवाहरू) को भूमिका:
डिजिटल प्रवर्द्धन (Digital Promotion): अहिलेका पुस्ता बढी जसो सुचना प्रविधिमा अभ्यस्त हुन्छन । यसलाई एउटा अवसरको रुपमा लिएर गुरही पर्वका फोटो भिडियोहरु गीतहरु टिकटक, इन्स्टाग्राम रिल र युट्युबमार्फत ‘ट्रेन्डिंग’ बनाएर विश्वभर फैलाउने ।

• अपनत्व र गर्वको भावना: गुरही जस्ता हरेक कार्यक्रममा आयोजकहरुसग सहकार्य गर्ने । बैठकहरुमा सहभाग गर्ने आफ्ना कुराहरु राख्ने । आफ्नो पहिचानसग जौडिएको मौलिक पर्व प्रति गर्व गर्ने ।
• सहभागीता : काठमाडौमा हरेक वर्ष आयोजना गरिने गुरही पर्वमा सहभागीता जनाउने । गुरही र सोँटा बनाउने कार्यशालामा भाग लिने र सीप सिक्न चासो दिने ।

७. निष्कर्ष
गुरही पर्व थारुहरुको एउटा महत्वपूर्ण मौलिक तथा सांस्कृतिक पर्व हो । हाम्रो परम्परा, सस्कृती, मौलिक चाडपर्व पहिचानका जरा हुन । यस प्रकारका चाडपर्वले हाम्रो अस्तित्व कायम गरेको छ। यो पर्व भातृत्व प्रेमको पर्वको रुपमा पनि लिईन्छ । यस प्रकारका मौलिक धरोहरलाई अविच्छिन्न राख्न अति जरुरी छ । यसकालागि थारुहरुको परम्परागत ज्ञान, सीप, कला, संस्कृति, चाडपर्वलाई पुस्तान्तरण गर्न अति आवश्यक छ । पुस्तान्तरणकालागि नयाँ पुस्तालाई पनि संगसंगै लिएर जान जरुरी हुन्छ ।

नीहरुलाई हाम्रो परम्परा, सस्कृतिको महत्वलाई बुझाउने, सास्कृतिक सभा समारोहमा सहभागी गराउने, उनीहरुका कुरा पनि सुन्ने सुनाउने वातावरण सिर्जना गर्ने, समय समय सस्कृतिसँग सम्बन्धित चित्रकला प्रतियोगिता गर्ने जस्ता क्रियाकलापहरु गर्न सकेको खण्डमा सहज तरिकाले पुस्तान्तरण हुने अपेक्षा गर्न सकिन्छ । अहिलेको युग सुचना प्रविधिको युग हो अझ भनौ नयाँ पुस्ता झन यसमा अभ्यस्त हुदै गएको छ अत हाम्रो परम्परा संस्कृतिलाई सुचना प्रविधिसग जोडन अति आवश्यक छ । गुरही जस्ता मौलिक चाड पर्वलाई व्यापकता दिन यसको मनाउने तौर तरिका विशेषता महत्वका बारेमा विभिन्न अनलाईन पत्रपत्रिका, सामाजिक सन्जाल, युटुव, टिकटक, ईन्सटाग्राम, डिस्कोर्ड, स्न्यापच्याट जस्ता प्लेटफर्म मार्फत सबैलाई सुसुचित गराउन आवश्यक देखिन्छ । यसैगरी गुरही पर्वलाई वर्षमा एकपटक मात्र मनाएर पुग्दैन यसलाई स्थानीय पाठ्यक्रममा समावेश गरेर अध्यापनको विषय पनि बनाइनु जरुरी छ । समय समयमा शहर केन्द्रित रही यस प्रकारको मौलिक चाडपर्व सामूहिक रुपमा मनाउन कार्यक्रमको आयोजना गर्न जरुरी छ । देशको राजधानी जस्तो महंगो ठाँउमा यस प्रकारका सामुहिक चाड पर्व मनाउन दिन प्रतिदिन खर्चिलो बन्दै गएको छ । विगत एक दशकदेखि समुदायका अगुवा समाजसेवी अभियन्ताहरुद्वारा स्वस्फुर्त रुपमा आफ्नो बलबुटामा कार्यक्रमको आयोजना गरिदै आएको छ । गुरही जस्तो महत्वपूर्ण सांस्कृतीक पर्वको संरक्षण र प्रवर्धन गर्ने कार्यमा राज्यको पनि उत्तिकै ध्यान जान जरुरी छ ।

सन्दर्भ सामग्री:
कोपिला, छविलाल. (२०८२, साउन १३ ). गुरही पर्व: थारु संस्कृतिका किम्बदन्तीहरू. नेपाल भ्युज. https://nepalviews.com बाट प्राप्त ।
दहित, डा गोपाल. (२०७७). थारु संस्कृतिको परिचय. बर्दिया : युनिक नेपाल, राजापुर नगरपालिका-२, जोतपुर ।
थारु, फनिश्याम. (२०६९). थारु लोक संस्कृति र चाडबाड. काठमाडौं: नेपाल प्रज्ञा-प्रतिष्ठान ।
सर्वहारी, डा कृष्णराज. (२०८०, भदौ ४). थारु समुदायको गुरही पर्वमा प्रकृति प्रेम. रातोपाटी. https://ratopati.com बाट प्राप्त ।
सत्गौंवा थारु समाज सङ्घ. (२०७८). थारु सांस्कृतिक दर्पण. दाङ: सत्गौंवा थारु समाज सङ्घ, देउखुरी।
Tharuwan.com मा प्रकाशित समाचारहरू

लेखक संस्कृतिविद् तथा अनुसन्धाता हुन्।




One thought on “राजधानीमा थारु सांस्कृतिक पर्व ‘गुरही’ र पुस्तान्तरणको सवाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *