चीनको अर्थतन्त्र संकटमा, संकट लुकाउँदै सरकार

दशकौँदेखि चीनलाई विश्वको उत्पादन केन्द्र र दोस्रो ठूलो अर्थतन्त्रका रूपमा प्रशंसा गरिँदै आएको छ। चीनको उदयले विश्व इतिहासलाई नै नयाँ दिशा दिने अपेक्षा गरिएको थियो। तर चमकदार तथ्यांक र विजयका नारामुनि एउटा चिन्ताजनक वास्तविकता लुकेको छ। चिनियाँ अर्थतन्त्र कमजोर बन्दै गएको छ र सरकारले त्यसको संकटको गहिराइ लुकाउन निरन्तर प्रयास गरिरहेको छ।

सरकारी तथ्यांकमा चीनको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिदर अझै ४.५ देखि ५ प्रतिशतको हाराहारीमा देखाइन्छ। तर स्वतन्त्र विश्लेषक तथा संस्थाहरूले वास्तविक वृद्धिदर निकै कम, करिब २ देखि ३ प्रतिशत मात्रै रहेको संकेत गरेका छन्। यो भिन्नता सामान्य तथ्यांकगत त्रुटि मात्र होइन। बरु पारदर्शिताको स्थानमा प्रचार र सुधारको स्थानमा अस्वीकारलाई प्राथमिकता दिने प्रणालीको प्रमाण हो।

चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) ले लामो समयदेखि आर्थिक उपलब्धिलाई आफ्नो वैधताको प्रमुख आधार बनाउँदै आएको छ। आर्थिक वृद्धिका तथ्यांकलाई सरकारको क्षमताको प्रमाणका रूपमा प्रस्तुत गरिन्छ भने असहमत आवाजहरूलाई दबाइन्छ। तर अहिले देखिएका कमजोरीहरू यति गहिरा भइसकेका छन् कि तिनलाई बेवास्ता गर्न सम्भव छैन।

कुनै समय घरपरिवारको सम्पत्ति वृद्धिको प्रमुख आधार रहेको घरजग्गा क्षेत्र अहिले धराशायी भएको छ। सन् २०२६ मा घरजग्गामा लगानी झन्डै १८ प्रतिशतले घटेको छ। यसले लाखौँ अपार्टमेन्ट बिक्री हुन नसक्ने अवस्थामा पुर्‍याएको छ भने परिवारहरूलाई आर्थिक सुरक्षा निर्माण गर्न कठिन बनाएको छ।

उपभोक्ताको विश्वास मापन गर्ने खुद्रा बिक्री सन् २०२६ को जुनमा केवल १ प्रतिशतको हाराहारीमा बढेको छ। यसले खर्च गर्नुभन्दा बचत गर्न प्राथमिकता दिइरहेको जनसंख्याको अवस्थालाई प्रतिबिम्बित गर्छ। विशेषगरी स्थानीय सरकारहरूको ऋण अस्थिर स्तरमा पुगेको छ। तर ऋणको दुष्चक्रमा फस्ने डरले बेइजिङ बजेट घाटा बढाउन अझै अनिच्छुक देखिन्छ।

सीसीपीले सुधारको बाटो रोज्नुको सट्टा नियन्त्रणलाई थप कडा बनाएको छ। सरकारी वक्तव्यहरूमा अर्थतन्त्रलाई ‘उचित सीमाभित्र’ रहेको बताइन्छ। तर यस्तो अभिव्यक्ति राजनीतिक प्रदर्शनबाहेक केही नभएको आलोचकहरूको भनाइ छ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) लगायतका संस्थाका अर्थशास्त्रीहरूले चीनको आर्थिक मन्दी अस्थायी नभई संरचनागत प्रकृतिको रहेको चेतावनी दिएका छन्।

सरकारले वास्तविकता स्वीकार गर्न नचाहनु योजनाबद्ध रहेको आरोप लगाइएको छ। तथ्यांक बढाएर प्रस्तुत गर्दा स्थानीय अधिकारीहरूले वित्तीय स्रोत प्राप्त गर्न सक्छन् भने केन्द्रीय नेतृत्वले समृद्धिको भ्रम कायम राख्न सक्छ। तर यो बाहिरी आवरण पनि कमजोर बन्दै गएको छ।

वास्तविक आर्थिक गतिविधिको अनुमान गर्न प्रयोग गरिने रातिको प्रकाशसम्बन्धी भूउपग्रह तस्बिरहरूले कुनै समय तीव्र आर्थिक वृद्धिका लागि चर्चित औद्योगिक क्षेत्रमा स्थिरता देखाएको दाबी गरिएको छ। सामाजिक सञ्जालमा बन्द भएका कारखाना, भुक्तानी नभएका तलब र तालाबन्दी गरिएका कारखानाका ढोकाबाहिर प्रदर्शन गरिरहेका श्रमिकका कथाहरू फैलिएका छन्।

चीनको आर्थिक संकटका कारण अनेकौँ छन्। घरजग्गा संकटले घरपरिवारको सम्पत्तिमा ठूलो क्षति पुर्‍याएको छ। यसले उपभोक्ताहरूलाई सतर्क बनाएको छ र उनीहरू खर्च गर्न हिचकिचाइरहेका छन्।

विशेषगरी स्थानीय सरकारहरूले न्यून प्रतिफल दिने पूर्वाधार परियोजनामा लगानी गर्न ठूलो ऋण लिएका कारण ऋणको भार असाधारण रूपमा बढेको छ।

कुनै समय आर्थिक वृद्धिको भरपर्दो आधार रहेको निर्यात क्षेत्र पनि अहिले दबाबमा छ। विश्वव्यापी माग सुस्ताउँदै गएको छ भने व्यापारिक तनाव बढिरहेको छ।

विद्युतीय सवारीसाधनजस्ता बलिया देखिएका क्षेत्रमा समेत अवस्था चुनौतीपूर्ण रहेको लेखमा उल्लेख छ। मूल्य प्रतिस्पर्धाले नाफाको मार्जिन घटाएको छ र प्रमुख सवारीसाधन उत्पादकमध्ये आधाभन्दा बढीले घाटा बेहोरेको बताइएको छ। नाफाबिनाको बिक्री सफलता होइन, बरु एउटा जाल हो।

चीनको आन्तरिक अवस्था तीव्र रूपमा बिग्रँदै गएको दाबी गरिएको छ। कुनै समय ‘फलामे कचौरा’ अर्थात् स्थायी रोजगारी र सुनिश्चित सुविधाबाट सुरक्षित मानिने सरकारी कर्मचारी तथा शिक्षकहरूले अहिले तलब ढिलो पाउने र सुविधाबापतको रकमसमेत भुक्तानी नहुने समस्या सामना गरिरहेका छन्।

चीनको सफलताको प्रतीकका रूपमा प्रस्तुत गरिँदै आएको सेन्जेन सहरमा समेत घरबारविहीन मानिसहरूको संख्या बढिरहेको लेखमा उल्लेख छ।

वृद्ध नागरिकहरू बिहानै बजारमा तरकारी बेच्न ठाउँ सुरक्षित गर्न लाम लाग्ने गरेका छन्। यो अवसरहरू खुम्चिँदै गएको अवस्थाको एउटा स्पष्ट संकेतका रूपमा प्रस्तुत गरिएको छ।

कुनै समय उपभोगको मेरुदण्ड मानिने मध्यम वर्गले समेत अत्यावश्यक वस्तुमा खर्च कटौती गरिरहेको छ। यसले उपभोक्ताको विश्वास कमजोर बन्दै गएको संकेत गर्छ।

विश्वासबिना कुनै पनि अर्थतन्त्र प्रभावकारी रूपमा सञ्चालन हुन सक्दैन।

सीसीपीको निष्क्रियता उल्लेखनीय रहेको लेखको दाबी छ। घरेलु उपभोग बढाउने र ऋणमा आधारित आर्थिक वृद्धिमाथिको निर्भरता घटाउने सुधारतर्फ अघि बढ्नुको सट्टा सरकारले पुरानै रणनीतिलाई निरन्तरता दिएको छ।

प्रतिफल घट्दै गए पनि ठूला पूर्वाधार परियोजनाहरू जारी छन्। विश्व बजारमा माग र आपूर्तिबीचको असन्तुलन बढिरहेको अवस्थामा समेत निर्यात अनुदान विस्तार गरिँदै छ।

नेतृत्वले वास्तविकताको सामना गर्न अनिच्छा देखाउनु आर्थिक व्यवस्थापनको कमजोरी मात्र नभई राजनीतिक अस्तित्वसँग पनि जोडिएको विषय हो। असफलता स्वीकार गर्नु भनेको पार्टीको वैधताको आधारलाई नै कमजोर बनाउनु हो।

चीनको आर्थिक सुस्तताले विश्वव्यापी व्यापार र लगानीको स्वरूप परिवर्तन गरिरहेको छ। बहुराष्ट्रिय कम्पनीहरूले चीनमा आफ्नो व्यावसायिक उपस्थितिको पुनर्मूल्यांकन गरिरहेका छन्। केही कम्पनीले चिनियाँ बजारबाट पूर्ण रूपमा बाहिरिने निर्णयसमेत गरेका छन्।

असीमित उपभोक्ता बजारको मिथक कमजोर बन्दै गएको छ। त्यसको स्थानमा खुम्चिँदो माग र बढ्दो अस्थिरताको वास्तविकता देखिन थालेको छ।

चीनलाई केन्द्र बनाएर आपूर्ति शृङ्खला निर्माण गरेका देशहरूका लागि यसको प्रभाव गम्भीर हुन सक्छ। भ्रममा आधारित समृद्धि दीर्घकालसम्म टिक्न नसक्ने वास्तविकतालाई विश्वले बुझ्न थालेको लेखमा उल्लेख छ।

सीसीपीले आर्थिक असफलता लुकाउने प्रयासलाई निरन्तरता दिन सक्ने अवस्था नरहेको लेखको निष्कर्ष छ। ऋणमा आधारित आर्थिक वृद्धिको सीमा नाघिसकेको छ। उपभोग कमजोर भएको छ र निर्यातले मात्रै अर्थतन्त्रलाई धान्न सक्ने अवस्था छैन।

घरजग्गा, वित्तीय क्षेत्र, उत्पादन उद्योग र स्थानीय सरकारको वित्तीय अवस्था एकैसाथ संकटमा परेको दाबी गरिएको छ। यो अस्थायी आर्थिक मन्दी वा सामान्य आर्थिक चक्रको परिणाम मात्र नभई वर्षौँदेखि कायम विकृत प्रोत्साहन प्रणाली, गलत तथ्यांक र आर्थिक वास्तविकतामाथि राजनीतिक नियन्त्रण हाबी भएको अवस्थाको परिणाम भएको लेखमा उल्लेख छ।

अर्थतन्त्रका सबै प्रमुख आधार एकैपटक कमजोर हुँदा पुनरुत्थान गणितीय रूपमा नै असम्भव बन्ने दाबी लेखले गरेको छ।

चीनको अर्थतन्त्र अब केवल सुस्त गतिमा अघि बढिरहेको छैन, बरु संरचनागत रूपमा धराशायी हुँदै गएको लेखको दाबी छ। सरकारले तथ्यांकमा हेरफेर गरेर संकटको वास्तविकता बाहिर आउन ढिलाइ गराउन सक्छ। तर यसले वास्तविकतालाई रोक्न सक्दैन।

श्रमिकहरूको आम्दानी घटिरहेको छ। घरपरिवारले खर्च कटौती गरिरहेका छन् र उपभोक्ताको विश्वास कमजोर बनेको छ। इतिहासले गलत तथ्यांकमा आधारित प्रणालीहरू क्रमिक रूपमा नभई अचानक असफल हुन सक्ने देखाएको लेखमा उल्लेख छ। चीन अहिले त्यस्तै निर्णायक मोडमा पुगेको दाबी गरिएको छ।

आर्थिक संकट रातारात विस्फोटक रूपमा नदेखिए पनि यो चुपचाप र निरन्तर रूपमा विभिन्न क्षेत्रमा फैलिरहेको छ। अन्ततः वास्तविकतालाई अस्वीकार गर्ने प्रवृत्ति नै यसको अन्तिम सिकार बन्न सक्ने लेखको निष्कर्ष छ।

विश्वले यसका सम्भावित परिणामहरूको सामना गर्न तयारी गर्नुपर्ने आवश्यकता औँल्याइएको छ। चीनमा हुने परिवर्तनले विश्वलाई पनि प्रभावित गर्छ। सीसीपीले वास्तविकताको सामना गर्न अस्वीकार गर्दा खतरनाक भ्रम सिर्जना भएको लेखको दाबी छ। तर भ्रमका आधारमा कुनै पनि अर्थतन्त्र दीर्घकालसम्म टिक्न सक्दैन।

चीनले सामना गर्नुपर्ने आर्थिक हिसाबकिताबको घडी नजिकिँदै गएको र त्यसले विश्व इतिहासलाई नयाँ दिशा दिन सक्ने लेखको निष्कर्ष छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *