झुम्रा गीत विवादमा आएपछि राज र सोनु कुश्मीले भने- थारू लोकगीत कसैको निजी सम्पत्ति होइन

गायक राज कुश्मी र गायिका सोनु कुश्मीको झुम्रा गीत विवादमा तानिएको छ। परम्परागत थारू भाषाको उक्त गीत यसअघि नै अरूले गाएको र त्यसको लयसमेत अरूकै रहेको भन्दै विवाद उत्पन्न भएपछि दुवै जनाले स्पष्टीकरण दिएका छन्।

गायक राज कुश्मीले थारू लोकगीत पुर्खाहरूले पुस्तौँदेखि हस्तान्तरण गर्दै आएको साझा सांस्कृतिक सम्पदा भएको बताएका छन्। उनले यस्ता प्राचीन लोकगीतका वास्तविक सर्जक वा रचनाकार को हुन् भन्ने कुरा धेरै अवस्थामा निश्चित गर्न नसकिने उल्लेख गरेका छन्।

‘थारू लोकगीत केवल एउटा गीत होइन, यो हाम्रा पुर्खाहरूले पुस्तौँदेखि पुस्तान्तरण गर्दै हामीसम्म पुर्‍याएको हाम्रो इतिहास, हाम्रो भावना, हाम्रो पहिचान र हाम्रो सांस्कृतिक नासो हो,’ उनले भनेका छन्।

परम्परागत लोकगीतलाई कसैले आफ्नो व्यक्तिगत सम्पत्ति वा एकलौटी अधिकारको विषय बनाउन नहुने उनको भनाइ छ। लोकगीतलाई कसले पहिले गाएको वा रेकर्ड गरेको भन्ने आधारमा मात्र मूल्याङ्कन गर्नुभन्दा त्यसको सांस्कृतिक मूल र सामुदायिक परम्परालाई बुझ्नुपर्ने उनले बताएका छन्।

राजले नयाँ पुस्ताले आफ्नै शैलीमा लोकगीत प्रस्तुत गर्नु संस्कृतिको विकास र विस्तारको माध्यम भएको उल्लेख गरेका छन्। लोकगीतको सिर्जना, पुनःप्रस्तुति, संरक्षण र प्रचारप्रसारले थारू भाषा, संस्कृति र पहिचानलाई थप बलियो बनाउने उनको भनाइ छ।

त्यस्तै, गायिका सोनु कुश्मीले पनि सांस्कृतिक गीत कुनै एक व्यक्तिको निजी सम्पत्ति नभई सम्पूर्ण थारू समुदायको साझा सम्पदा भएको बताएकी छन्।

उनले आफूभन्दा अघिल्लो पुस्ताका हजुरबुबा र हजुरआमाले समेत यस्ता गीत गाउने गरेको उल्लेख गर्दै पुरानो लयमा गीत प्रस्तुत गर्दा चोरीको आरोप लगाउनु उचित नभएको आशय व्यक्त गरेकी छन्।

‘कल्चरल गीतको बारेमा धेरै त जान्दिनँ। तर जति जाने र सुनेको छु, त्यो त हामी सबै थारूहरूको होइन र? कि एक जना कुनै व्यक्तिको मात्र हो?’ उनले प्रश्न गरेकी छन्।

सोनुले आफूहरूले गाएको गीतको लय पछिल्लो पुस्ताले प्रयोग गर्दा पनि चोरीको आरोप लाग्ने हो कि भन्दै प्रश्न गरेकी छन्। यस्ता विवादका कारण सांस्कृतिक गीत बनाउनसमेत मन नलाग्ने अवस्था आएको उनले बताएकी छन्।

दुवै जनाले थारू लोकगीतलाई साझा सांस्कृतिक विरासतका रूपमा सम्मान, संरक्षण र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *