गरिमा हत्या प्रकरण : थप एक बालक पक्राउ
दिवाकर भण्डारी/सिमरा
बारा जीतपुरसिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा (गढिमा) चौधरी हत्या प्रकरणमा अनुसन्धान गर्न प्रहरीले थप एक बालकलाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्ति नाबालक रहेका कारण प्रहरीले नाम र ठेगाना खुलाएको छैन।
ती बालकलाई सिमरा आसपासको क्षेत्रबाट पक्राउ गरिएको हो। पक्राउ परेका बालक यसअघिनै प्रहरी हिरासतमा रहेका १६ वर्षीय अर्का बालकको साथी रहेको बुझिएको छ। जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेका अनुसार बालकलाई आइतबार पक्राउ गरिएको हो।
यो सँगै प्रहरीले गरिमा हत्या प्रकरणमा हालसम्म ९ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। यसअघि बालिकाको शव फेला परेकै दिन १६ वर्षीय एक बालक र २४ वर्षीय प्रोग्रेस चौधरी पक्राउ परेका थिए भने घटनाको थप अनुसन्धानका लागि प्रहरीले प्रोग्रेसका परिवारका सदस्यसहित ६ जनालाई नियन्त्रणमा लिएको थियो। पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखेर अनुसन्धान भईरहेको प्रवक्ता घलेले जानकारी दिए।
साउन ३१ गते बिहान करिब ८:३० हराएकी गरिमाको शव तीन दिनपछि घरदेखि करिब डेढसय मिटर दक्षिणतर्फको खाली घरमा अर्धनग्न अवस्थामा भेटिएको थियो। बालिकाको बलात्कार गरी हत्या गरेको अवस्थामा शव भेटिएको हो।
म्याजिक चालक प्रोग्रेसको पाँच वर्षीया छोरीसँग खेल्न गएका बेला बालिका हराएकी थिइन्। बालिका प्रोग्रेसकै घर अगाडिबाट हराएपछि प्रहरीले उनीहरूलाई अनुसन्धानको दायरमा ल्याएको हो । पीडित परिवार र स्थानीयले पनि प्रोग्रेसको परिवारलाई आरोप लगाउँदै आएका छन्।
प्रोग्रेसले चलाउने म्याजिकमा सहचालक रहेका १६ वर्षीय बालकले भने गरिमाको बलात्कार र हत्या आफूले गरेको स्वीकार गरिसकेका छन् । शव भेटिएकै दिन बालकले बालिकालाई बलात्कार गरेर डोरीले घाँटी कसेर हत्या गरेको बताएका थिए।
यसअघि आफू एक्लैले हत्या गरेको जिम्मा लिएका बालकले आइतबार सार्वजनिक एक भिडियोमा घटनामा अर्को एक साथी समेत संलग्न रहेको बताएका छन्। ती साथीले पनि बालिकालाई बलात्कार गरेको उनको दाबी छ।
सामाजिक सञ्जालमा भाइरल बनिरहेको उक्त भिडियोको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ। प्रादेशिक अस्पताल कलैयामा ओसीएमसीका क्रममा लिइएको उक्त भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको हो। भिडियो कसले सार्वजनिक गर्यो भन्ने प्रहरीले खुलाएको छैन । बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवर भिडियो सार्वजनिक भएको विषयमा जाँच भइरहेको बताउँछन्।
Facebook Comment