युवा नेता राजीव चौधरीले कांग्रेसको केन्द्रीय सदस्यमा खुलातर्फ उम्मेदवारी दिने

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा युवा नेता राजीव चौधरीले खुला केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। बारा क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत निर्वाचित चौधरीले पार्टीको केन्द्रीय नेतृत्वमा युवाको अर्थपूर्ण र समावेशी सहभागिता सुनिश्चित गर्न उम्मेदवारी दिन लागेको बताएका छन्।

नेपाल थारू संघ काठमाडौंका अध्यक्षसमेत रहेका चौधरी लामो समयदेखि कांग्रेसको विद्यार्थी तथा युवा संगठनमा सक्रिय छन्। पार्टी संगठनसँगै समाजसेवा, उद्यम र स्थानीय विकास निर्माणका गतिविधिमा पनि सक्रिय रहेका चौधरीले आफूले हासिल गरेको संगठनात्मक अनुभवलाई पार्टीको केन्द्रीय तहमा उपयोग गर्ने बताएका छन्।

चौधरीले कांग्रेसको केन्द्रीय नेतृत्वमा युवाको सहभागिता अहिलेको आवश्यकता भएको बताएका छन्। उनका अनुसार युवा सहभागिता केवल संख्यात्मक रूपमा नभई नीति निर्माण र निर्णय प्रक्रियामा अर्थपूर्ण हुनुपर्छ।

‘लोकतन्त्रमा युवा सहभागिता नै देश विकासको आवश्यकता हो। त्यसमा पनि समावेशी युवा अहिले देशले चाहेको र खोजेको प्रतिनिधि हो,’ उनले भने, ‘त्यसकारण मेरो उम्मेदवारी केन्द्रीय सदस्यमा रहन्छ।’

उनले कांग्रेसलाई समयअनुकूल, आधुनिक र गतिशील बनाउन नयाँ पुस्ताको प्रवेश अपरिहार्य रहेको बताए। उनका अनुसार पार्टीमा युवाको प्रवेशसँगै उनीहरूलाई जिम्मेवारी दिने, काम गर्ने अवसर सिर्जना गर्ने र योग्यताका आधारमा नेतृत्व विकास गर्ने वातावरण पनि बनाउनुपर्छ।

चौधरीले यसपटक कांग्रेसको नेतृत्व तहमा युवाको प्रवेशको सम्भावनालाई सकारात्मक रूपमा लिएका छन्। तर नयाँ पुस्तालाई प्रवेश गराउने मात्रै नभई नेतृत्व हस्तान्तरणको स्पष्ट संस्कार पनि विकास गर्नुपर्ने उनको धारणा छ।

‘यस पटक केन्द्रीय नेतृत्व तहमा युवाको प्रवेश हुँदै छ, यो हाम्रा लागि खुसीको कुरा हो,’ उनले भने, ‘महाधिवेशनले युवाको मर्म र भावनालाई आत्मसात् गरेर विचार, संगठन र कार्यक्रममा प्रस्ट नीति बनाउनुपर्छ। प्रवेशसँगै बहिर्गमनको व्यवस्था पनि हुनुपर्छ। यसले पार्टीलाई गतिशील बनाउँछ।’

उनका अनुसार एउटै पुस्ता लामो समयसम्म नेतृत्वमा रहिरहनेभन्दा क्षमता र योगदानका आधारमा नेतृत्व हस्तान्तरण हुँदै जाने संस्कारले पार्टीलाई थप ऊर्जाशील बनाउन सक्छ। चौधरीले जेनजी आन्दोलनपछि युवामा राजनीतिप्रति प्रत्यक्ष चासो बढेको बताएका छन्। आन्दोलनले नयाँ पुस्ताका राजनीतिक अपेक्षा, असन्तुष्टि र परिवर्तनको चाहनालाई थप स्पष्ट बनाएको उनको बुझाइ छ।

उनका अनुसार कांग्रेसले युवामा देखिएको नयाँ राजनीतिक चेतनालाई केवल निर्वाचनका बेला मतदाताका रूपमा हेर्नु हुँदैन। त्यसलाई पार्टीको विचार, नीति र संगठनसँग जोड्नुपर्ने उनको धारणा छ। ‘जेनजी आन्दोलनले युवामा राजनीतिप्रति प्रत्यक्ष चासो बढाएको छ। त्यसैले पार्टीभित्र यसलाई वैचारिक रूपमा जोड्नुपर्छ,’ उनले भने।

चौधरीको उम्मेदवारीको अर्को प्रमुख एजेन्डा युवाका मुद्दालाई पार्टीको नीति निर्माणसँग जोड्नु हो। उनका अनुसार युवा बेरोजगारी, उद्यमशीलता, वैदेशिक रोजगारी, शिक्षा, सीप विकास, प्रविधि र आर्थिक अवसरका विषयलाई पार्टीको नियमित राजनीतिक एजेन्डा बनाउन आवश्यक छ।

युवालाई राजनीतिक संगठनमा सहभागी गराउने तर नीति निर्माणमा उनीहरूको आवाज नसमेट्ने प्रवृत्ति परिवर्तन गर्नुपर्ने उनको भनाइ छ। ‘युवालाई केवल नारामा होइन, निर्णय प्रक्रियामै सहभागी गराउनुपर्छ,’ उनको जोड छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *