कांग्रेस महाधिवेशनमा रेशम चौधरीको प्रश्न- थारूहरू कहिले प्रधानसेनापति हुने?

नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीले पहिले कपाल फुलेका नेताहरूले देश बिगारेको र अहिले कलिला जुंगा भएका नेताहरूले समेत देश बनाउने छनक नदेखाएको आरोप लगाएका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सम्बोधन गर्दै चौधरीले अब आधाआधी कपाल फुलेका नेताहरूले भने देश बनाउने आशा रहेको बताए।

उनले कांग्रेसले राणा शासन ढालेको, कमैया मुक्ति गरेको तथा नेपालको संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेको स्मरण गरे। तर संविधानमा अधिकार लेखिए पनि थारू समुदायले व्यवहारमा अधिकार नपाएको उनको गुनासो थियो। ‘नेपालको संविधानको ६.७ प्रतिशत हुने थारू कहिले प्रधानसेनापति हुने ? कहिले मुख्यसचिव हुने ?’ उनले प्रश्न गरे।

चौधरीले कांग्रेस नेता गगन थापाको राजनीतिक आन्दोलनको प्रसंग उल्लेख गर्दै आफूहरू पनि १९ दिने जनआन्दोलनमा सहभागी भएर लाठी खाएको बताए। उनले आन्दोलनसँगै थारू समुदायको धर्म र पहिचान साट्न खोजिएको भन्दै आपत्ति जनाए। ‘हाम्रो पहिचानसँग कुनै धर्म साट्न पाइँदैन। दसैँको जमरासँग कुनै साटफेर गर्न सक्दैनौँ,’ उनले भने।

चौधरीले टीकापुरलाई जिल्ला बनाउने आफूहरूको पुरानो सपना अझै पूरा नभएको भन्दै यसको रेखांकन र नामांकन गर्न माग गरे। उनले आफूलाई थारूको मात्र नेता भनेर बुझ्ने गरिएकोप्रति असन्तुष्टि जनाउँदै राष्ट्रिय गीत गाए पनि राष्ट्रिय बन्न नसकेको बताए।

उनले नेपालको राजनीतिमा जालझेल रहेको भन्दै रवि लामिछानेको प्रसंगसमेत उल्लेख गरेका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *