नेपालका लागि भारतीय राजदूतमा सुधाकर दलेला नियुक्त
भारत सरकारले नेपालका लागि नयाँ राजदूतमा सुधाकर दलेलालाई नियुक्त गरेको छ। भारतीय विदेश मन्त्रालयले दलेलालाई नेपालका लागि नयाँ राजदूतमा नियुक्त गरेको हो।
भारतीय विदेश मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरेर मन्त्रालयका सचिवसमेत रहेका दलेलालाई नेपालका लागि राजदूतमा नियुक्त गरेको उल्लेख गरेको छ। नवनियुक्त राजदूत देलाल छिट्टै आफ्नो कार्यभार सम्हाल्ने भारतीय विदेश मन्त्रालयले जनाएको छ।
दलेला सन् १९९३ मा भारतीय विदेश सेवामा प्रवेश गरेका कूटनीतिज्ञ हुन्। उनले आफ्नो कूटनीतिक करियर इजरायलको तेल अभिभस्थित भारतीय नियोगबाट सुरु गरेका थिए। त्यसपछि उनले ब्रासिलिया, सिकागो, ढाका, जेनेभा, थिम्पु र वासिङ्टन डीसीस्थित भारतीय नियोगमा विभिन्न जिम्मेवारी सम्हालेका छन्।
दलेलाले नयाँ दिल्लीमा पनि महत्वपूर्ण जिम्मेवारीमा कामसमेत गरेका छन्। सन् २००९ देखि २०११ सम्म प्रधानमन्त्री कार्यालयमा निर्देशकका रूपमा कार्यरत रहँदा उनले दक्षिण एसियाली छिमेकी, पूर्वी एसिया, इन्डो-प्यासिफिक क्षेत्र, खाडी, मध्यपूर्व र अफ्रिकी मुलुकसँग भारतको सम्बन्धसम्बन्धी विषय हेरेका थिए। उनी सन् २००६-२००७ मा विदेश मन्त्रालयको ‘नर्थ’ डिभिजनका निर्देशक तथा सन् २०१६ देखि २०१९ सम्म त्यही डिभिजनका सहसचिव (ज्वाइन्ट सेक्रेटरी) थिए। उक्त जिम्मेवारीमा उनले नेपाल र भुटानसँगको भारतको सम्बन्ध हेरेका थिए।
व्यापार तथा आर्थिक कूटनीतिमा समेत अनुभव भएका दलेलाले नयाँ दिल्लीस्थित वाणिज्य विभागमा व्यापार नीतिसम्बन्धी निर्देशकका रूपमा काम गरेका छन्। विश्व व्यापार संगठन (डब्ल्यूटीओ)का लागि भारतको स्थायी नियोगमा दुईपटक कार्यरत उनी सन् २०१४ देखि २०१६ सम्म भारतका उपस्थायी प्रतिनिधि थिए।
अमेरिकामा पनि उनले विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हालेका छन्। उनी सिकागोस्थित भारतीय महावाणिज्यदूतका रूपमा कार्यरत रहे भने वासिङ्टन डीसीस्थित भारतीय दूतावासमा सन् २०११ देखि २०१४ सम्म राजनीतिक मामिलाका मन्त्री र सन् २०२० देखि २०२२ सम्म उपप्रमुख (डेपुटी चिफ अफ मिसन)का रूपमा काम गरे।
सन् २०२२ देखि २०२५ सम्म भुटानका लागि भारतीय राजदूत रहेका दलेलाले १ सेप्टेम्बर २०२५ देखि भारतको विदेश मन्त्रालयमा आर्थिक सम्बन्ध सचिवको जिम्मेवारी सम्हाल्दै आएका छन्। उक्त भूमिकामा उनले भारतको आर्थिक कूटनीति, ग्लोबल साउथसँगको विकास साझेदारी, अफ्रिकासँगको साझेदारी, बहुपक्षीय आर्थिक सम्बन्ध तथा नयाँ र उदाउँदा रणनीतिक प्रविधिसम्बन्धी विषय हेर्दै आएका छन्। उनी ब्रिक्स, आईबीएसए र आईटुआईटुआईका लागि भारतका ‘शेर्पा’समेत हुन्।
Facebook Comment