चन्द्रागिरीमा मोटरसाइकल दुर्घटना हुँदा रमेश चौधरीको मृत्यु
काठमाडौंको चन्द्रागिरी नगरपालिका-८ स्थित एपीएफ एकेडेमी गेट काप्रावोट नजिकै मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पछाडि सवार व्यक्ति घाइते भएका छन् ।
मृत्यु हुनेमा कञ्चनपुरको बेलौरीका २५ वर्षीय रमेश चौधरी रहेका छन् । दुर्घटनामा कञ्चनपुरको पुनर्वास नगरपालिका-६ घर भई हाल काठमाडौंको कीर्तिपुर बस्दै आएका ४३ वर्षीय मेकबहादुर वाइबा घाइते भएका छन्।
प्रहरीका अनुसार शुक्रबार साँझ करिब ६ बजे मकवानपुरबाट सतुङ्गलतर्फ आउँदै गरेको बा.प्र.०२-०२० प २७६६ नम्बरको बुलेट मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेको थियो ।
दुर्घटनामा चालक चौधरी र पछाडि सवार वाइबा घाइते भएका थिए। घटनाको जानकारी पाएलगत्तै प्रहरी प्रभाग मातातीर्थबाट खटिएको टोलीले दुवै जनाको उद्धार गरी उपचारका लागि सतुङ्गलस्थित एपीएफ अस्पताल पुर्याएको थियो।
उपचारका क्रममा चिकित्सकले साँझ ७ बजे चालक चौधरीलाई मृत घोषणा गरेका थिए। पछाडि सवार वाइबाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा परेको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।
Facebook Comment