माडी नगरपालिकाको उत्कृष्ट निर्णय, थारूका परम्परागत घरको संरक्षण गरिने

चितवनको माडी नगरपालिकाले आदिवासी थारू जातिको सघन बसोबास भएका वडाहरूमा थारूहरूका परम्परागत घरहरूको संरक्षण तथा सम्बर्द्धनका लागि प्रोत्साहन गर्ने भएको छ। नगर प्रमुख ताराकुमारी काजी महतोले नगरपालिकाको नीति तथा कार्यक्रम पेस गर्दै आदिवासी थारू जातिको बाहुल्यता भएको क्षेत्रमा परम्परागत थारूका घरहरू मासिन नदिन त्यस्ता घरहरूको संरक्षण गर्ने नीति लिएको जानकारी दिइन्।
पछिल्लो समयमा थारूका परम्परागत घरहरू भत्काएर कंक्रिटका संरचना बनाउन थालेपछि नगरपालिकाले मौलिक र परम्परागत घरहरूको संरक्षणलाई प्रोत्साहन गर्ने नीति लिएको बताइन्।
माडी नगरपालिकाको वडा नं. १,२, ३ मा थारू जातिको सघन बसोबास छ। पालिका प्रमुख र उपप्रमुख दुबै थारू जातिबाट निर्वाचित भएका छन्। पालिकाले एक टोल एक रंगको घर निर्माण गर्न प्रोत्साहनसमेत गर्ने नीति लिएको छ।
पालिकाले बेरुजु घटाउन फोकल पर्सन तोकेर काम गर्ने भएको छ। नगरप्रमुख ताराकुमारी काजी महतोले नगरपालिकाको बढ्दो बेरुजु घटाउन फोकल पर्सन तोक्ने बताइकी छन्। माडी नगरपालिकामा गत आर्थिक वर्षमा २ करोड १४ लाख ५८ हजार ९८६ रुपैयाँ बेरुजु थपिएर कुल बेरुजु ४८ करोड १४ लाख ७३ हजार ९८६ रुपैयाँ पुगेको छ । सो पालिकाले गत वर्ष एक रुपैयाँ पनि बेरुजु फर्स्यौट गर्न सकेन।
पालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीले सो भत्ता नलिने स्वःघोषणा गरे नगरपालिकाले सम्मान गर्ने भएको छ। करको दायरामा नआएका उद्योग व्यवसायले २०८२ पौष मसान्तभित्र दर्ता हुन आए विशेष छुट दिइने पालिकाले जनाएको छ।
माडी नगरपालिकाले विद्यालयहरूमा ‘रमाइलो शुक्रबार’ र ‘सिकाइसँगै उत्पादन’ कार्यक्रम सहित शैक्षिक सुधारका २६ बुँदे नीति तथा कार्यक्रमहरु ल्याएको छ। सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड, कम्प्युटर ल्याब, इन्टरनेट सेवा विस्तार गर्ने र शिक्षामा प्रविधिकरणमा जोड्ने नीति नगरपालिकाले लिएको नगर प्रमुख महतोले बताइन्। नगरपालिकाले बघौडा अस्पताललाई आइसीयु, पोष्टमार्टम, ल्याब सेवा र ब्लड बैंकसहित स्तरोन्नति गरी रेफरल अस्पतालको रूपमा विकास गर्ने नीति लिएको छ।
Facebook Comment