एउटा थारूलाई राजनीतिक नियुक्ति गर्दा प्रदेशभर खैलाबैला मच्चिएको छ : मन्त्री लेखी

मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले थारू समुदायका व्यक्तिलाई राजनीतिक नियुक्तिमा दिँदा प्रदेशभर खैलाबैला मच्चिएको बताएका छन्। बुधबार जनकपुरमा आयोजित कार्यक्रममा मन्त्री लेखीले आफूले मुलुकको संविधान र प्रचलित कानुनअनुसार थारू समुदायका एक जना अध्यक्ष पदमा र दलित समुदायका एक जनालाई सदस्यको रूपमा नियुक्त गरेको बताए। तर, सो कदमलाई लिएर अनावश्यक राजनीतिक तरंग सिर्जना गरिएको उनको भनाइ छ।

संविधानअनुसार थारू र दलितलाई नियुक्ति गरेको उनको भनाइ छ। ‘मधेस प्रदेशका विभिन्न समिति, आयोग र प्रतिष्ठानमा सयौंको संख्यामा नियुक्ति हुँदा आवाज उठ्दैन। तर, मैले एक जना थारू र एक दलितलाई अवसर दिएपछि लेखीले के गर्न खोज्यो भनेर हल्ला फैलाइन्छ,’ उनले भने।

मन्त्री लेखीले आफू कुनै व्यक्ति वा शक्तिको डरले झुक्ने खालको नभएको प्रष्ट पार्दै संविधान, प्रचलित ऐन तथा नियमावली बमोजिम अघि बढ्ने बताए। उनले दलित, थारू, आदिवासी जनजाति, मधेसीलगायतका ऐतिहासिक रूपमा पछाडि पारिएका समुदायलाई राज्यको मूलधारमा ल्याउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए।

उनले चलचित्र तथा लोक सञ्चार प्रवर्द्धन बोर्डका अध्यक्षमा किशोर कुमार लेखीलाई नियुक्त गरेका थिए। सोही नियुक्तिलाई अतिरञ्जित भ्रम फैलाइएको उनको भनाइ छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *