अनिशा थारूले जितिन् कीर्तिमानी स्वर्ण

बागमती प्रदेशकी अनिशा थारूले १५औँ केन्द्रीय राष्ट्रपति रनिङ खेलकुदअन्तर्गत एथलेटिक्सको छात्रा ट्रिपलजम्पमा आज नयाँ जुनियर राष्ट्रिय कीर्तिमान बनाएकी छन्। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा अनिशाले ११.२७ मिटर जम्प गर्दै कीर्तिमानी स्वर्ण जितिन्। अनिशाले २०६४ सालमा केशरी चौधरीले बनाएको १०.८० मिटरको कीर्तिमान भङ्ग गरेकी हुन् ।

लुम्बिनीकी पिन्जु चौधरी दोस्रो तथा कर्णालीकी सरिता शाही तेस्रो भए। छात्रा ट्रिपलजम्पसहित छात्रछात्राको चार गुणा एक सय मिटर रिलेमा गरी तीन कीर्तिमान बने। छात्र चार गुणा एक सय मिटर रिलेमा बागमतीका प्रवीण रानामगर, सन्त दराई, सुविन लामा र नीरज शाहको बागमती टोलीले निर्धारित दूरी ४३.४ सेकेन्डमा पूरा गर्दै कीर्तिमानसहित स्वर्ण हात पारे।

बागमती टोलीले २०८० सालमा सुजल, सुदीप थारू, तुलसीराम चौधरी र रोहित गुप्ता सम्मिलित लुम्बिनी टोलीको ४४.०० सेकेन्डको कीर्तिमान तोडेका हुन्। गण्डकी दोस्रो र सुदूरपश्चिम तेस्रो बने।

सो स्पर्धाको छात्रामा बागमतीका दिना गोपाली, अनिशा थारू, भगवती खड्का र सुरुची मोक्तानले निर्धारित दूरी तय गर्न ५१.९ सेकेन्ड खर्चँदै कीर्तिमान स्थापित गरे।

लुम्बिनीका निशा चौधरी, रेसु थारू, रामकुमारी थारू र सम्झना थारूको नाममा ५४.२ सेकेन्डको कीर्तिमान थियो। लुम्बिनी टोलीले २०७९ सालमा उक्त कीर्तिमान बनाएका थिए। गण्डकी दोस्रो र सुदूरपश्चिम तेस्रो स्थानमा रहे।




Leave a Reply

Your email address will not be published. Required fields are marked *