थारू विवाह : जहाँ कोसेलीमा लगिन्छ ‘रक्सीसहितको पहुरा’

लखन चौधरी/कैलाली
यतिबेला विवाहको सिजन छ। विभिन्न रीति, संस्कृति र परम्परा रहेको नेपाली समाजमा विवाहको पनि आ-आफ्नै संस्कार र चलन छ। पश्चिम नेपालको थारू बस्तीमा पनि विवाहको आफ्नै मौलिक संस्कार छ। थारू समुदायको विवाहको सुरुवाती ‘डिउली डर्ना’ अर्थात दुलहा वा दुलहीकी भाउजू, काकी मिलेर उरुदलाई जाँतोमा पिस्नेलगायतका मंगलिक कार्यबाट हुन्छ। Continue reading “थारू विवाह : जहाँ कोसेलीमा लगिन्छ ‘रक्सीसहितको पहुरा’”

दाङको दंगीशरणमा थारू रैथाने खाना महोत्सव

सन्तोष दहित/दाङ
दाङको दंगीशरणमा दुई दिने रैथाने खाना महोत्सव हुने भएको छ। मटावाँ, बरघर, भलमन्सा महासंघको आयोजनामा दंगीशरण गाउँपालिका ३ स्थित चखौरामा रहेको थारु सांस्कृतिक संग्रहालयमा माघ २६ र २७ गते दुई दिने अन्तर प्रदेशस्तरीय सांस्कृतिक तथा रैथाने खाना महोत्सव हुन लागेको हो।

थारू भाषा, कला, संस्कृतिको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले दुई दिने महोत्सव आयोजना गर्न लागिएको मटावाँ, बरघर, भलमन्सा महासंघका केन्द्रीय अध्यक्ष एवं लुम्विनी प्रदेशको पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले जानकारी दिए। ‘हाम्रो संस्कृति, हाम्रो सान, संस्कृति संरक्षणले बढ्छ देशको मान’ भन्ने मूल नारासाथ आयोजना हुन लागेको महोत्सवको उदघाटन पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्ने बताए।

महोत्सवमा दाङ र नवलपरासीको थारु समुदायको बर्का नाच, कैलालीको मुङ्ग्रहवा र चितवनको नाच प्रस्तुत हुने अध्यक्ष चौधरीले जानकारी दिए। यस्तै मघौटा, छोक्रा, हुर्डुंग्या लगायत चार दर्जनभन्दा बढी नाच प्रस्तुत हुने उनले बताए। महोत्सवमा सांस्कृतिक प्रतियोगिता एवं थारूलगायत विभिन्न जातजातिको रैथाने परिकारको प्रदर्शनी रहनेछ। थारू परिकारमा ढिक्री, अनदी चामलको भात, रोटी, अनदीको झोल, सुंगुरको सेकुवा, सिन्कीका परिकार, आलुको अचार लगायत जनजातिहरूको रैथाने परिकार बिक्री तथा वितरणका लागि राखिने उनले जानकारी दिए।

सोहीअनुसार थारु भाषाको विभिन्न पुस्तक, पत्रपत्रिकाहरु, थारु हस्तकला लगायत विक्री तथा प्रदर्शनीका लागि राखिने अध्यक्ष चौधरीले बताए। महोत्सवमा उत्कृष्ट सांस्कृतिक प्रदर्शन गर्ने पहिलो, दोस्रो र तेस्रोलाई आकर्षक पुरस्कारका साथै सहभागी सबै सांस्कृतिक टोलीलाई सान्त्वना पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। महोत्सवमा लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका थारूहरू मौलिक भेषभुषासहितको उपस्थिति रहने महासंघका अध्यक्ष चौधरीले जानकारी दिए।

महोत्सवमा दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत, रुपन्देही, नवलपरासी, कपिलबस्तु जिल्लाको एक हजार भन्दा बढी मटावाँ, बरघर (भलमन्सा), ककन्डर्वाहरूको उपस्थिति रहनेछ। कार्यक्रममा बरघर ऐन लगायत विषयमा छलफल र महासंघको नयाँ नेतृत्व समेत चयन गर्ने उनले जानकारी दिए।

आँखाबाट आँसु झार्दै प्रवीण थारूले भने- यो जग्गा मेरो बुबाको नाममा भइदिएको भए मैले पढ्न पाउँथे

 दिनेश गौतम/अनलाइन खबर साभार

माघको तेस्रो साता लाग्दै गर्दा काठमाडौंको मौसम चिसै छ । सोमबार बिहानपख एकैखाले पहिरन लगाएका, हातमा खनजोतका सामग्री लिएकाहरू लस्करै माइतीघरको चिसो सडकमा बसे । सरकारले आफूहरूसँग गरेको सम्झौता कार्यान्वयन नगरेपछि दाङबाट चामल, दाल र सिन्की बोकेर आएका ४० स्वर्गद्वारी गुठीपीडितहरूले आइतबारबाट धर्ना थालेका हुन् । उनीहरूका कथा एउटै छ, व्यथा एउटै छ । समूहका सबैले गलामा मोहीयानी प्रमाणपत्र भिरेका छन् र सरकारलाई प्रश्न गरिरहेका छन्- पुस्तौंदेखि खनजोत गरेको, रगत पसिना बगाएको जमिन आफ्नो किन भएन ?

आफ्ना मागलाई उनीहरूले प्लेकार्डमा पनि केही शुत्रबद्ध गरेका छन् । जस्तै, ‘रगत पसिना बगायौं–बदलामा के पायौं ? जमिनको सवाललाई धर्म संस्कृतिसँग जोडेर किसानमाथि अन्याय गर्न पाइँदैन’, यस्तै यस्तै ।

यही समूहमा छन्, दाङ घोराही–१४ का २५ वर्षीय प्रवीण दहित थारु । स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिका सह–सचिव र प्रवक्ता पनि हुन् उनी । समितिको अध्यक्ष ७४ वर्षीय प्रभु चौधरी हुन् । तर, अस्वस्थ भएपछि उनी आउन पाएनन् । त्यसैले प्रवीणसहितका युवालाई नेतृत्वको जिम्मेवारी सुम्पिएर प्रभुले माइतीघर मण्डलामा पठाएका हुन् ।

‘जग्गाको लागि लड्दा लड्दै उहाँ बिरामी पर्नुभएको छ । उहाँको अझै बाजेको नाममा मोहीयानी प्रमाणपत्र छ । पूर्जा नपाई बुवा बित्नु भयो । उहाँ छोरा (प्रभु चौधरी) नै ७४ वर्षको पुग्नुभयो । लालपूर्जा छैन । यो १२ मौजाका ३ हजार ५ घर परिवारको कथा–व्यथा हो,’ प्रवीणले सुनाए ।

प्रभु चौधरीको नेतृत्वमा २०४५ सालदेखि आन्दोलन चलिरहेको छ । ‘यो बीचमा बहुदल आयो, गणतन्त्र आयो, तर हामीले हाम्रो जग्गा पाएनौं । आदीमदेखि हाम्रो पुस्ताको थातथलो हो । तर पुस्तौ पुस्ता यसकै लागि लड्नु भयो । हाम्रो एउटै प्रश्न छ– जग्गा कहिले पाउँछौ ?,’ बोल्दा बोल्दै प्रवीणका आँखाबाट आँसु झरे ।

प्रवीणका बुबा चुरालाल चौधरी पनि ७४ वर्षका पुगे । चुरालालको नाममा मोही कायम भएको १७ कट्ठाको प्रमाणपत्र छ । तर जग्गा छ स्वर्गद्वारी गुठीको नाममा । ‘यो जग्गा मेरो बुबाको नाममा भइदिएको भए मैले पढ्न पाउँथे नि,’ स्वर्गद्वारी गुठीका कारण आफूले पढ्न नपाएको प्रवीणले गुनासो गरे ।

एसएलसी दिँदासम्म पनि प्रवीणलाई बुबाले खनजोत गरेको जग्गा आफ्नै हो भन्ने लागेको थियो । जब प्रवीणले २०७० सालमा दाङको समुदायिक विद्यालयबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरे । एसएलसी उत्तीर्ण भएपछि खुसीको खबर बुबालाई सुनाउँदै जग्गा कतै राखेर भए पनि उच्च शिक्षा पढ्ने प्रस्ताव प्रवीणले राखे । तर प्रवीणका बुबा रुन थाले । ‘म पास भएर आएँ तपाई किन रुनु हुन्छ ?,’ प्रवीणले बुबालाई प्रश्न गरेका थिए त्यस दिन ।

‘म रैतीले के दिन सक्छु र ? बुबा भएर जिम्मेवारी निभाउन सकिनँ । मैले जन्म नै नदिनु पर्ने भन्नुभयो…,’ प्रवीणले स्मृतिको गर्तबाट थप कुरा खोतल्न सकेनन् । गहभरी आँसु भएपछि प्रवीण माइतघर मण्डलाको छेउमा रहेको एउटा रुखमा आड लागेर एक्लै रुन थाले । वर्षौंदेखि बुबा–आमाले खेती गरेको जग्गा आफ्नो नरहेको उनले एसएलसी उत्तीर्ण भएपछि थाहा पाएका रहेछन् ।

केहीबेरपछि उनी आँसु पुछ्दै धर्नास्थलमा आए । मिडियाले पनि उनलाई पच्छ्याइरहेका थिए । आधाघण्टापछि हामीले फेरी उनीसँग कुरा सुरु गर्‍यौं । ‘…त्यसपछि यो आन्दोलनलाई सफल बनाउँछु । बुबा बाजेको सम्पत्ति लिएरै छाड्छु भनेर अभियानमा होमिएको हुँ,’ प्रवीणले भने, ‘चाहना हुँदा हुँदै पनि उच्च शिक्षा हासिल गर्न पाएका छैनौं । अहिले पनि रैतीको जीवन जीउन विवश छौं ।’

बुबाले उनलाई वकिल बनाउन चाहेका रहेछन् । तर गरिबी र जग्गा पनि आफ्नो नाममा नभएपछि प्रवीणको उच्च शिक्षाको ढोका नै खुलेन । ‘नपढेको र कानुन नबुझेका कारण जग्गा हाम्रो नाममा नभएपछि बुबाले मलाई कानुन बुझ्न र बोल्नका लागि वकिल बनाउन चाहनु भएको रहेछ,’ प्रवीणले भने, ‘कमजोर आर्थिक स्थितिले एसएलसीपछि माथिल्लो कक्षा पढ्न सकिएन ।’

खनजोत गरेर आयआर्जन गरेको पनि स्वर्गद्वारी गुठीलाई कुत बुझाउँदा सकिने गरेको उनी बताउँछन् । ‘धान तोरी जे उब्जाउ भए पनि गुठीलाई कुत दिनुपर्छ । गुठीलाई नदिए मोहीबाट निष्कासन गर्दिन्छ । कहाँ जाने ? के खाने ? बुबाले अरुको घरमा ज्याला मजदुरी गरेर पाल्नु भयो,’ उनले भने । यतिसम्म थियो कि, अरुको घरमा झिलिमिलि बिजुली बत्ति बल्थ्यो । तर उनको घरका टुकी ।

‘हाम्रो घरमा किन बिजुली नजोडेको भनेर बुबालाई सोधेँ । मोही भएकाले बिजीलु बत्ति पनि जोड्न अनुमति रहेनछ । आदिम समयदेखि बसोबास गरिरहेका हामीलाई यति धेरै अन्याय ?,’ उनले प्रश्न राखे । प्रवीणका अनुसार यो समस्या १९८० सालदेखिको हो । ‘जग्गाको मालिकलाई मोही बनाइयो । जग्गा धनी चाहिँ स्वर्गद्वारी गुठीलाई बनाइयो । हामी मोही होइनौं । जग्गाको मालिक हौं,’ प्रवीणले भने ।

त्यसपछि प्रवीण एउटै समस्यामा भएकालाई संगठित बनाउने अभियानमा जुटे । ‘प्रत्येकको घरघरमा पुगेर बुझ्दा ठूलो समस्या रहेछ । हामी एक जुट भएर आन्दोलन थालेका हौँ,’ उनले भने । सरकारसँग पटक पटक सम्झौता पनि भयो । तर सुनुवाइ नभएपछि माइतीघर मण्डलामा आएका हौँ ।’

२०७२ मा संविधान जारी भएपछि दाङकेन्द्रित आन्दोलन भयो । सहमति भएपनि माग सम्बोधन भएन । गत वर्षको चैतमा कानुन बनाउने सम्झौता सरकारसँग भयो तर अहिलेसम्म पनि अगाडि नबढेपछि गुठी पीडितहरू काठमाडौं आएका हुन् ।

‘माघसम्म कुरेर बस्यौं । सरकारले कानुन निर्माणको प्रक्रिया अगाडि बढाएन । कानुन निर्माता, न्यायालय, मानवअधिकारकर्मी सबै काठमाडौंमा हुनुहुन्छ । त्यसैले बाध्य भएर आएका हौं,’ प्रवीणले भने । प्रधानमन्त्री, मन्त्री, सांसददेखि नेतासम्मलाई भेटेको फोटोहरूको ब्यानर नै बनाएर संघर्ष समितिले माइतीघरमा झुन्ड्याएको छ । ‘भेट्न बाँकी कोही हुनुहुन्न । केपी ओली, शेरबहादुर देउवा, प्रचण्ड सबैलाई भेटेका छौं । आश्वासन दिनुभयो तर काम भएन,’ उनले भने, ‘परराष्ट्रमन्त्री आरजु राणा हाम्रो दुख देखेर रुनु भएको थियो । तर, पनि हामी निमुखाको सुनुवाइ भएन ।’

चर्चित नेताहरूको घर दाङमै छ । बारम्बार यो समस्या नेताहरूलाई राख्ने गरेको बताउँछन् प्रवीण । ‘एमाले महासचिव शंकर पोखरेल हुनुहुन्छ । यस्तै उहाँको घरको समस्या भएको भए के हुन्थ्यो ? माओवादीको रेखा शर्मा हुनुहुन्छ । एकीकृत समाजवादीको मेटमणि चौधरी हुनुहुन्छ । उहाँहरूको घरमा परेको भए के हुन्थ्यो ?,’ आफ्नै जिल्लाका नेतालाई प्रश्न गर्छन् उनी ।

अबको पिढीले आफूले पाएको जस्तो दुःख नपाउन् भनेर निर्णायक आन्दोलनमा होमिएको उनी बताउँछन् । ‘मैले पढ्न पाइनँ । के अब आउने कति पिढीले पनि पढ्न नपाउने हो ? उपचार नपाइ मर्नुपर्ने हो ? अब न्याय नपाएसम्म आन्दोलन जारी रहन्छ,’ उनले अठोट सुनाए ।

दाङ घोराहीका ७१ वर्षीय बासुराम चौधरी पनि धर्नामा छन् । उनी २०४५ सालसम्म पनि प्युठानको स्वर्गद्वारी आश्रममा कुत बुझाउन जान्थे । ‘धान तोरी जे अन्न हुन्छ प्युठान नै पुर्‍याउनु पथ्र्यो,’ उनले ती दिन सम्झँदै भने, ‘कुत मात्र होइन पुजारी र कर्मचारीलाई पनि बोकेर पुर्‍याएका छौँ ।’

बाँकी यहाँ  Click गरेर पढ्नुस् :

ओलीका आइटी विज्ञ अलीको स्वार्थमा अध्यादेश, आइटी कम्पनीमार्फत सजिलै धन बाहिर लाने र भित्र्याउने खेल

देशको सूचना तथ्यांक नै हात पार्न पल्किएका पात्र हुन् अस्गर अली । उनी प्रधानमन्त्री केपी शर्मा ओलीका प्रीय पात्र बनिसकेका छन् । अघिल्लो कार्यकालमा ओलीका आइटी सल्लाहकार बनेका अली यसपटक पनि बालुवाटार भित्राइएका छन् । उनी ओली प्रधानमन्त्री भए देखि नै सचिवस्तरको आइटी विज्ञका रुपमा नियुक्त भएका छन् । तर, उनी सेवा सुविधा नलिने गरी नियुक्ति पाउने एकमात्र ओलीको टिमका हुन् ।

अली सेवा सुविधाको भन्दा आइटीमा लाभ लिन र सूचना तथ्यांक हात पार्न नियुक्ति लिन पुगेको बुझिएको छ । उनी ओलीको अघिल्लो कार्यकालमा पनि संवेदनशील डाटा हात पारेर विवादमा परेका हुन् ।

यसपटक अलीले आफ्नो स्वार्थमा अध्यादेश जारी गर्न लगाएर आइटी क्षेत्रको शाखा विस्तार र लगानी बाहिर लाने र भित्राउने परिस्थिति बनाउन लगाए । आइटीमा विदेशी लगानी भित्राउने देशबाट सजिलै रकम पनि लान सकिने प्रावधान बनाएर उनले स्वार्थ पूरा गरे । देशका कतिपय आइटी कम्पनीहरुमा अलीको दृश्य अदृश्य लगानी छ । ती कम्पनीले सरकारसँग आइटीसम्बन्धी काम मात्र पाउने गरेका छैनन् डाटा समेत हात पार्ने गरेका छन् । अली ईसेवा र त्यससँग सम्बन्धित कतिपय आइटी कम्पनीका लगानीकर्ता पनि हुन् ।

नागरिक एप प्रयोगमा ल्याउने कानुनी व्यवस्था देखि ई गभर्नेन्सको कानूनी प्रबन्धको प्रारम्भ गर्ने गरी ल्याइएको भनिएको अध्यादेशमा अस्गर अलीको स्वार्थ छ । नागरिक एप बनाउँदा सुरुमा उनकै लगानीको कम्पनीले काम गरेको थियो । यो एपमा नागरिकको सामाजिक र आर्थिक दुवै डाटा रहने गर्छ । यसमा अलीको टिमले पहुँच बनाएको छ ।

नेपाली सूचना प्रविधिमा आधारित कम्पनीहरुले विदेशमा सहायक कम्पनी, शाखा खोल्न, कारोबार गर्न र आम्दानी नेपाल भित्राउन सक्ने कानूनी व्यवस्थासहितको ऐन संशोधनका लागि पनि अध्यादेश ल्याइएको छ । यसमा अस्गर अलीको मुख्य स्वार्थ देखिएको छ । अलीले आफ्नो आइटी कम्पनीलाई विस्तार गर्ने देखि नेपालमा आइटी कम्पनीमार्फत् रकम भित्राउने र लाने सहजताको माध्यम खोजेका थिए । अध्यादेशमार्फत् उनले यसलाई सफल पादैछन् ।

देशमा अहिले एनसेलले विभिन्न माध्यमले रकम बाहिर लगिरहेको खुलिसकेको छ । यसमा ठूलो मात्रामा कर छली भइरहेको छ । सरकारलाई नै निरिह पार्ने गरी गतिविधि भइरहेको छ । अब आइटी कम्पनीमार्फत् स्वदेशको रकम विदेशमा लाने र विदेशबाट पनि शंकास्पद धनहरु भित्राउने खेलहरु गर्न खोजिएको छ । अलीको स्वार्थमा योजनावद्ध तरिकाले यसमा काम भइरहेको छ ।

प्रधानमन्त्रीको आइटी विज्ञ विभिन्न आइटी कम्पनीमा लगानी गरिरहेबाट स्वार्थ समेत बाझिएको छ । बालुवाटार पसेर ओलीको कोर टिमलाई प्रभावमा पारी अलीले कानून नै अध्यादेशमार्फत् संशोधन गराएका छन् । यसले देशबाट शंकास्पद धन बाहिर जाने र आउने खतरा बढ्न सक्छ । देशमा जनताको धनको सुरक्षा गर्न नसकेको सरकारले विदेशबाट लगानी भित्राउने दाबी गरेको छ । जबकि सहकारीमार्फते जनताको खरबौं रकम डुबेको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी अहिले सरकारले जारी गरेको अध्यादेश संविधानको मुल मर्म एवं भावना विपरित रहेको बताउँछन् । उनले संसदको भूमिकालाई कार्यपालिकाले अपहरित गर्नु संविधानवादको आधारभूत मान्यता विपरित भएको तर्क गरे । ओली सरकारले ठूलै जालसाजी गरेको त्रिपाठीको भनाई छ ।

उनले भनेजस्तै ओलीको टिमले अध्यादेश ल्याएर ठूलो जालसाजी गरेको छ । जसमा अस्गर अलीको आइटीमा स्वार्थबाट निर्देशित भई गरेको जालसाजी पनि एक हो । उनले देशमा शंकास्पद धन भित्राउने र लाने खेलमा आफ्ना कम्पनीहरुलाई सक्रिय पार्ने भएका छन् । देशमा आइटीसम्बन्धी महत्वपूर्ण ठेक्का हात पारेर आर्थिक लाभ लिने देखि संवेदनशील डाटा हात पारेर दुरुपयोग गरेको चर्चा चलिरहँदा अलीको अर्को आर्थिक स्वार्थ छर्लंग भएको छ ।

अलीले के गरे
अलीको नागरिक एप बन्दा नै पहुँच बनाएका थिए । सरकारी सेवाको डिजिटलाइसनमा पनि उनी हावी भएका थिए ।

अलीले आइटी क्षेत्रमा आफ्ना विश्वासपात्र कर्मचारीलाई सरुवा गरी लाने गरेका छन् । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको कम्प्युटन निर्देशक रहिसकेका सुभाष ढकाल पनि उनका खास मान्छे हुन् ।

ओम्नी ग्रुपको चलखेलमा पनि अली संलग्न पाइएका थिए । ढकाललाई आइटी विज्ञ अलीकै योजनामा राष्ट्रिय परिचयपत्रमा लगिएको थियो । राष्ट्रिय परिचयपत्रमा हुँदा ओम्नीसँग साँठगाँठ गरेर आइटीको ठेक्का समेत दिने गरेका थिए ।

अलीको विकल पौडेल र सुनिल पौडेल समूहसँग पनि साँठगाँठ थियो । सञ्चार मन्त्रालयमा बसेर उनीहरुले आइटीको खेलमा ठूलै चलखेल गरेका थिए ।

अलीले मतदाता विवरण, अध्यागमन, वैदेशिक रोजगारीमा जानेको विस्तृत विवरण देखि अधिकांश सरकारी डाटामा पहुँच बनाउँदै आएका छन् । अस्गरका गतिविधिले नेपालमा डाटा सुरक्षामाथि प्रश्न उठ्ने गतिविधि पनि हुँदै आएको छ ।

कहाँ कहाँ लगानी
अस्गरको लगानीमा आइटीसम्बन्धी विभिन्न कम्पनी देशभर सक्रिय छन् । जसमध्ये एफवान सफ्ट मुख्य साझेदार रहेको एक्सटेन्सो डाटा नामक कम्पनी पनि हो । यो कम्पनीले नेपालका डाटाहरु विश्लेषण र विक्री गर्छ ।

नागरिक एप पनि अस्गरकै योजनामा बनेको हो । यसका लागि विभिन्न सरकारी निकायसँग रहेको डाटा एकत्रित गरिएको थियो । अध्यागमन विभाग, श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग, गृह मन्त्रालय, राष्ट्रिय परिचयपत्रलगायतका निकायसँग रहेका संवेदनशील विवरण प्रधानमन्त्री कार्यालयमा अस्गरकै योजना अनुसार लगेर विवरण एकतृत गरिएको थियो ।

सञ्चार मन्त्रालय अन्तर्गतको राष्ट्रिय सूचना प्रविधि केन्द्रले निर्माण गर्ने एपमा पनि अस्गरकै खेल चल्यो । यसका लागि उनले आफ्ना विश्वासपात्र नातेदार रहिम अली र अस्लाम अलीलाई परामर्श दाता नियुक्त गरेका थिए । उनीहरु अस्गरको लगानीको एफ वान सफ्टमा कार्यरत थिए ।

अस्गरले वित्तिय संस्थाको तथ्यांक पनि हात पारेका छन् । उनको कम्पनी एफवन सफ्टले ९० प्रतिशतभन्दा बढी वित्तीय संस्थाको तथ्यांक रहेको सन्देश जाने गरी वेबसाइटमै राखेको छ । नेपालका ९० प्रतिशत वित्तीय संस्थामा अस्गरको कम्पनीको कुनै न कुनै भुक्तानी सेवा प्रयोग हुने गरेको छ । अस्गरले आइटीसम्बन्धी सहायक कम्पनीहरु पनि खोलेका छन् ।

अस्गरको एफवन सफ्टसँग इसेवा, फोनपे, फोनलोन, फोनएनएक्सटी, फोनप्वाइन्ट्स, स्वस्तिक कलेज, दियालो टेक्नोलोजी, फोनलोन जस्ता १६ कम्पनी आवद्ध छन् । अदृश्य रुपमा दर्जनौं कम्पनी जोडिएका छन् ।

नेपालीपेनबाट साभार

बाँके र बर्दियालाई कर्णालीमा गाभ्ने कुरा कुनै हालतमा स्वीकार्दैनौं : रेशम चौधरी

मधेस केन्द्रित ८ दलीय मोर्चाको कार्यदलमा नागरिक उन्मुक्ति पार्टीले आफ्नो एजेण्डाबारे जानकारी गराएको छ। सिंहदरबारमा सोमबार बसेको कार्यदल बैठकमा नागरिक उन्मुक्तिले टीकापुर घटनामा राज्य पूर्वाग्राही देखिएको र झुटा मुद्दा लगाउने काम भएको बताएका थिए।

नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका चौधरीले लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरिएको विषयलाई पनि मोर्चाले आफ्नो एजेण्डा बनाउन आग्रह गरिएको बताए। ‘टीकापुर घटनामा ५८ जनाविरुद्ध झुटा मुद्दा लगाइएको थियो। २८ जना हामी जेल पनि बस्यौं। ३० जना अहिले पनि फरारको सूचीमा हुनुहुन्छ। ३ सय जनाको नाम अहिले पनि नाम र ठेगाना मिलेन भनेर तामेलीमा राखिएको छ। उनीहरूमाथि पनि जुनसुकै बेला मुद्दा चल्न सम्भावना छ,’ सञ्चारकर्मीसँग चौधरीले भने।

उनले थरुहट र मधेस आन्दोलनका विषयमा गठित लाल आयोगको प्रतिवेदन किन सार्वजनिक गरिएन भन्ने विषयमा पनि आफूहरूले चासो देखाएको बताए। ‘८ दलीय कार्यदलले बनाएको मस्यौदा समितिलाई हामीले टीकापुर घटनासँगै लाल आयोगको प्रतिवेदन पनि सार्वजनिक गरिनुपर्ने विषयमा जानकारी गराएका छौं। प्रतिवेदन सार्वजनिक नहुँदा अहिले पनि थारूहरूले न्याया पाउन सकेका छैनन्,’ चौधरीले भने।

उनले अहिले आएका कतिपय विधेयक र अध्यादेशमा पनि आफूहरूको असहमति रहेको बताए। उनले भूमिसम्बन्धी अध्यादेश, सामाजिक सञ्जाल विधेयक र संविधान संशोधनको विशेषतः थ्रेस होल्डमा आफूहरूको आपत्ति रहेको बताए। संविधान संशोधनका नाममा बाँके र बर्दियालाई कदापि कर्णालीमा गाभ्न नहुने उनको भनाइ छ। ‘कांग्रेस, एमाले र राप्रपाका सांसदहरूले दुवै संसदमा बाँके र बर्दियालाई कर्णालीमा मिसाउने कुरा गर्नुभएको छ। सञ्जय गौतम, धवल शम्शरे जबराले यो विषय उठाउनुभएको छ। त्यो विषयमा त हामीलाई पनि सोध्नपर्ने होला नि? तर, उनीहरूले भनेजस्तो सहजचाहिँ छैन,’ उनले भने।

उनले संविधान संशोधनलाई आवश्यकभन्दा बढी हल्ला फैलाइएको बताए। ‘प्रधानमन्त्री आफैंले २०८७ सम्म संविधान संशोधन हुँदैन भनिरहनुभएको छ। यो विषय ‘बाघले बाख्रो खायो’ जतिकै हल्ला फैलिएको छ। खासमा वन झाँगिएको चाहिँ छ। हामी बाघबाट सचेत हुनुपर्छ,’ उनले भने। त्यस्तै सामाजिक सञ्जाल विधेयक र भूमिसम्बन्धी विधेयकमा पनि करेक्सन आवश्यक रहेको उनले बताए। त्यस्तै मोर्चाको नाम मधेसीबाट नराख्न आफूहरूले सुझाव दिएको चौधरीले बताए।

स्वर्गद्वारी गुठीपीडित थारूहरू काठमाडौंमा, भने- गरिबके पस्नामा दिउँटा रमैठ ट?

दीपक सापकोटा/कान्तिपुर साभार

माइतीघरको चिसो सडकमा टुसुक्क बसेका छन् केही पुरुष र महिला। यी किसान दाङदेखि सामलतुमल बोकेर काठमाडौं आइपुगेका हुन्। समूहमा छन् २२ पुरुष र १७ महिला। कथाव्यथा सरकारलाई सुनाउन आएका उनीहरू आफ्नै थारू पहिरनमा छन्। सेतो चौबन्दी, झुलुवा, पगिया र अंगुछ। महिलाले चाँदीको मङया र टाउँक पनि लगाएका छन्।

सबैले घाँटीमा झुन्ड्याएका छन्– पुर्खादेखि जोतेको जमिनको मोहियानी हकको प्रमाणपत्र।

तिनको नारा छ-
रगत पस्ना बगैली, वाकर सटाहा का पैली
(रगतपसिना बगायौं, बदलामा के पायौं?)
गरिबके पस्नामा दिउँटा रमैठ ट?
(गरिबको पसिनामा देवता रमाउँछन्?)

स्वर्गद्वारी गुठीका मोही किसान भन्छन्– ‘देउताका नाममा हामीलाई साह्रै सकस भयो।’

दाङका १२ मौजा (गाउँ) मा ३ हजार ५ परिवार स्वर्गद्वारी गुठीका मोही छन्। तिनले १ हजार ५० बिघा जमिन जोतिरहेका छन्। तर त्यस जग्गाको स्वामित्व स्वर्गद्वारी गुठीका नाममा छ। आफूले जोतभोग गरेको, पसिना बगाएको जग्गाको स्वामित्व आफ्नै हुनुपर्छ भनेर ती किसान दशकौंदेखि आन्दोलनमा छन्।

उनीहरूसँग मोहियानी पुर्जा छ। तर, त्यो पुर्जा २०६२ चैत १४ मा सर्वोच्च अदालतको परमादेशबाट खारेज गरेपछि उनीहरू थप आक्रोशित छन्। सर्वोच्चले ‘स्वर्गद्वारी गुठी विशेष प्रकृतिको निजी गुठी भएका कारण आश्रमको जग्गा खण्डीकरण गर्न नमिल्ने’ आदेश दिएको थियो।

सर्वोच्चको आदेशपछि किसान मोहीपुर्जाको प्रमाण बोकेर न्याय मागिरहेकै छन्। ‘त्यही भूमिमा खेतीपाती गर्‍यौं, हाम्रो पुर्खा बसोबास गरेको पुस्तौं बित्यो,’ दाङबाट आन्दोलन गर्न काठमाडौं आएका बासुराम चौधरी (७१) भन्छन्, ‘जग्गा स्याहार गर्ने हामी तर स्वामित्वचाहिँ हाम्रो नहुने?’ जोतखन गरेको जग्गा स्वामित्व माग गर्दा नदिएपछि बाध्य भएर राज्यको ध्यानाकर्षण गराउन काठमाडौं आएको उनले सुनाए।

स्वर्गद्वारी गुठीअन्तर्गतको जग्गा जोतिरहेका किसानले २०४५ सालदेखि नै जिल्ला केन्द्रित आन्दोलन गरेका थिए। अहिलेको आन्दोलनमा उनीहरूको ३ बुँदे माग छ– मोही किसानले जोतभोग गर्दै आएको जमिन मोहीका नाममा रैतानी हुने कानुनी व्यवस्था गरियोस्, विशेष प्रकृतिको निजी भनिएको गुठी जग्गाका निष्कासित मोहीको हक पुनःस्थापित गरियोस् र किसानले बुझाउनुपर्ने रैतानीबापतको तिरो वडामार्फत बुझाउने व्यवस्था गरियोस्।

गुठी संस्थान ऐनको दफा २ को बुँदा ‘ग’ मा गुठीको परिभाषा छ, ‘गुठी भन्नाले कुनै मठ वा कुनै देवी-देवताको पर्व, पूजा वा जात्रा चलाउन वा कुनै धार्मिक वा परोपकारी कामका लागि कुनै मन्दिर, देवस्थल, धर्मशाला, पाटी–पौवा, इनार, पोखरी, तलाउ, धारा, पियाउ, बाटो, घाट, पुल, चौचारा, गौचरन, बाग, बगैंचा, जंगल, पुस्तकालय, पाठशाला, औषधालय, चिकित्सालय घर, इमारत वा संस्था बनाउने, चलाउन वा त्यसको संरक्षण गर्न कुनै दाताले आफ्नो चलअचल सम्पत्ति वा आयस्ता आउने अरू कुनै सम्पत्ति वा रकममा आफ्नो हक छाडी राखेको गुठीसमेतलाई सम्झनुपर्छ।’

किसानले गत वर्ष फागुन ७ देखि दाङमा आन्दोलन गरेका थिए। एक महिनापछि सरकारसँग सम्झौता भएर आन्दोलन टुंगिएको थियो। ‘तर एक वर्ष हुनै लाग्दा पनि सम्झौता कार्यान्वयन गरिएन। हामी प्रधानमन्त्री, भूमि व्यवस्थामन्त्री, पूर्वप्रधानमन्त्रीकहाँ पुग्यौं, गुनासो गर्‍यौं, तर उहाँहरूले वाचा पूरा गर्नुभएन,’ स्वर्गद्वारी गुठीपीडित मोही किसान संघर्ष समिति दाङका सचिव, घोराही–१४ का प्रवीण दहित (२५) भन्छन्, ‘त्यसैले हामी काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी भएका छौं।’

काठमाडौंको अनिश्चितकालीन बसाइमा उनीहरूको बस्ने, खाने कुनै स्थायी मुकाम छैन। गौशालाको धर्मशालाले केही दिन बस्ने ओत दिएको छ। त्यसपछि कहाँ जाने? कहाँ बस्ने? उनीहरूलाई थाहा छैन। मात्र उनीहरूलाई थाहा छ– आफ्ना माग बुलन्द उठाउन र माग पूरा नभएसम्म माइतीघरको कुनामा लामो समयसम्म धर्ना बस्नुपर्छ। उनीहरू दाङदेखि नै आफ्नो समूहलाई पुग्ने नुनतेल, चामल, तरकारी, मसला बोकेरै सहरै पसेका छन्।

गौशालादेखि सडक किनारै–किनार हिँडेर आइतबार उनीहरू माइतीघरसम्म आएका हुन्। तिनले हातमा बोकेका थिए, आफूले प्रयोग गर्ने कृषि औजार– हलो, कोदालो–कोदाली, भौका, ढकिया, बहिङ्गा, स्याङ्गो, फरुवा र सिकहर। जति पुरानो दाङको इतिहास छ, थारूको इतिहास उति नै पुरानो छ। ती आदिवासी हुन्। तर उनीहरूले जोतभोग गरेको जमिनको कुत दाङस्थित स्वर्गद्वारीको आश्रममा बुझाउनुपर्छ।

घोराही–१४ का प्रवीण दहितको पुर्खाको कथा सुनिहेरौं। आफ्नै पुर्खाले जोतभोग गरिरहेको ठूलो हिस्सा जमिन कसरी बाँडियो? त्यसको हिसाबकिताब उनले दुरुस्तै राखेका छन्, मानौं त्यो समय–रेखा उनलाई कण्ठस्थै छ, ‘हाम्रा पुर्खाको जग्गा १९८० सालमा अनन्त गिरी (स्वर्गद्वारी गुठीको प्रहाप्रभु हंसानन्दका चेला) को स्वामित्वमा पुग्यो।

त्यसपछि २०३० सालमा स्वर्गद्वारी आश्रमका नाममा दर्ता भयो,’ उनी भन्छन्, ‘अनन्त गिरी जमिनदारी भएको जग्गामा हाम्रा ठूलोबुबा ढब्बु थारूका नाममा २०२४ सालमा मोही कायम भएको रहेछ र मेरो बुबा चुरालाल चौधरीको चाहिँ २०४७ मा स्वर्गद्वारी आश्रमकै नामबाट मोही कायम भएको छ।’

उनको मस्तिष्कमा सधैं एउटै प्रश्न खेल्छ– ‘पुर्खाले सयौं वर्षदेखि खनजोत गरिरहेको जमिनको स्वामित्व हाम्रो किन भएन?’ उनको परिवारले एक बिघा बारीमा अन्न उब्जाएबापत पाँच क्विन्टल तोरी कुत तिर्छ। ‘पैतृक सम्पत्तिका नाममा एक धुर पनि जमिन छैन हाम्रो,’ प्रवीणले भने। उनका बुबाका नाममा १७ कट्ठा र ठूलोबुबाका नाममा ४ बिघाको मोही कायम भएको छ, जुन स्वर्गद्वारी गुठीको स्वामित्वमा छ। त्यही जग्गामा उनीहरूको संयुक्त परिवारका ४३ जना आश्रित छन्।

रामपुर–२ घोराहीबाट गुठी आन्दोलनमा भाग लिन पहिलो पटक काठमाडौं आएकी छन्- सोमा चौधरी (२७)। उनलाई यो सहर ठूलो आशा छ। ‘तर, चिसो छ, खान–बस्न ठेगान छैन, यसले दुःखी पनि छु,’ उनले भनिन्। उनी र उनका श्रीमान् स्वर्गद्वारीकै गुठीको ६ कट्ठा जग्गामा खनजोत गर्छन्– मकै, तोरी, गहुँ, मसुरो उब्जाउँछन्, तर उब्जाउ–अन्नको आधा हिस्सा गुठीलाई बुझाउनुपर्छ। त्यो कुत अब तिर्नु नपरोस् भनेर सासूआमालाई ७ वर्षकी सानी छोरी छोडेर आन्दोलनमा हिँडेकी छिन् सोमा। भन्छिन्, ‘दुःख छ जिन्दगीमा, सरकारले हाम्रो माग पूरा गरेपछि त सुख भइहाल्ला।’

आन्दोलनमा सहभागी हुन लमही नगरपालिका–३, मजगाउँदेखि आएका छन् भरतमणि चौधरी (५२)। उनी बालखै छँदादेखि कुत बोकेर दाङबाट हिँडेर स्वर्गद्वारी, प्यूठान पुग्थे। नुन, कुसको गुन्द्री, तेल, धान, तोरीको भारी ठूलो हुन्थ्यो। भारी बिसाउँदै–बिसाउँदै लामो यात्रा गर्दै, खोलाको जँघार तर्दै, पहाड चढ्दै उनी बुबा रामप्रसाद र हजुरबुबा सुखराम चौधरीको पछिपछि कुत बझाउन धेरैपटक प्यूठानसम्म पुगे।

पछि स्वर्गद्वारी गुठीलाई कुत तिर्न घोडामा गए उनका बा–हजुरबा। ‘मैले बाल्यकालमै थाहा पाएदेखि गुठीअन्तर्गतकै साढे तीन बिघा जग्गा जोतिरहेका छौं। बा–हजुरबाको जिन्दगी यसैगरी सकियो। त्यो जग्गामा घर बनाउन पाइँदैन, बनाइहाले पनि बिजुली–पानी पाइँदैन,’ भरतमणि भन्छन्, ‘हक–अधिकार माग्न काठमाडौं आएका छौं। वारपार नभई फर्कंदैनौं।’

माइतीघरको चिसो भुइँमा टुसुक्क बसिरहेका थिए– बासुराम चौधरी। उनी दाङस्थित घोराही–२, रामपुरबाट आएका हुन्। उनको परिवारले पनि गुठीअन्तर्गतको जग्गामा पसिना बगाइरहेको छ। ‘आफ्नो नाममा एक चोक्टो पनि जग्गा छैन। लालपुर्जा पाइन्छ कि भनेर काठमाडौं आएको हुँ,’ बासुरामले भने, ‘धर्मशालामा बास छ, चिसोले बस्न गाह्रो छ। तर सरकारले हाम्रो कुरा नसुनेसम्म यहीं बस्छौं।’

आफ्नो नाममा लालपुर्जा नभएरै मल नपाइने, बैंकबाट ऋण नपाइने, जग्गा बेचबिखन गर्न नपाइने पीडाले यी वृद्धको मन असाध्यै दुखेको छ। ‘ठेकुट तिर्ने हो कि छोराछोरी पढाउने? जोतेको जग्गाबाट खान त पुग्दैन,’ उनी भन्छन्, ‘हाम्रो जिन्दगी त यस्तै भयो–भयो, अब छोरानातिको जिन्दगी राम्रो होस् भन्न पनि काठमान्डु आएको हो।’

चाँदीको मङया, टाउँकले झपक्कै छिन् सुघरमनया चौधरी (४६)। मोहियानीसम्बन्धी कागज देखाएपछि सरकारले खनजोत गरेको जग्गा सरकारले दिन्छ कि भन्ने आस छ उनलाई। घाँटीमा झुन्ड्याएको मोहियानी हकको चिर्कटोतिर देखाउँदै उनले भनिन्, ‘मोही हक लिएरै दाङ फर्किने हो।’

लमही–३, वनगाउँका लेखबहादुर चौधरीले गुठीअन्तर्गतको ७ बिघा १४ कट्ठा जग्गा खनजोत गरिरहेका छन्, जसमा उनका हजुरबा–बाले जंगल फाँडेर बस्ती बसाएका हुन्। ‘जमिन जोतेको जोत्यै छौं तर मेरो नाममा एक धुर पनि जमिन छैन। उल्टै स्वर्गद्वारी आश्रमलाई ठेकुट तिरिरहेकै छौं,’ उनले भने, ‘न ऋण पाइन्छ, न गुठीजग्गामा घर बनाउन पाइन्छ। सरकारले हाम्रो पक्षमा कानुन नबनाएसम्म आन्दोलन गरिरहन्छौं।’

दाङ, तुलसीपुर–१० की सुनिता चौधरी (२९) का बुबा रामलाल चौधरीले गुठीको ४ बिघा जमिन जोतिरहे। त्यही जमिनको स्वामित्व कायम गराउन उनी काठमाडौं आएकी छन्। ‘रासनपानी बोकेर आएका छौं, सरकारले हाम्रो माग पूरा नगरेसम्म सडकमा बसिरहन्छौं।’

घोराही–१४, झिगौरा आशाकुमारी चौधरी (५१) भूमि–अधिकारका लागि ३ पटक काठमाडौं आइसकेकी छन्। उनको परिवारले स्वर्गद्वारी गुठीको १ बिघा जमिन जोतिरहेको छ। जोतेको जग्गामा अति थोरै उब्जनी भए पनि गुठीलाई तिर्नैपर्ने दुःखले उनलाई कहिल्यै नछोडेको उनले बताइन्। उब्जनी नभएको वर्ष पनि कुत तिर्नैपर्ने तनावले झन् दुःख थपेको छ। ‘सरकार सम्झौता मात्रै गर्छ, कार्यान्वयन गर्दैन,’ उनले भनिन्, ‘सरकारले दिनुसम्म दुःख दियो।’

संविधानको धारा २९० मा ‘गुठी जग्गामा भोगाधिकार भइरहेका किसान एवं गुठीको अधिकारको सम्बन्धमा संघीय संसद्ले आवश्यक कानुन बनाउनेछ’ लेखिएको छ। संविधानको धारा ५१ को उपधारा ‘ङ’ मा लेखिएको छ– कृषि र भूमि सुधारसम्बन्धी नीतिगत व्यवस्थामा भूमिमा रहेको दोहोरो स्वामित्व अन्त्य गर्ने, किसानलाई प्राथमिकता दिएर भूमि सुधार गर्ने, अनुपस्थित भूस्वामित्वलाई निरुत्साहित गर्ने। त्यसमा ‘किसानको हकहित संरक्षण गर्दै कृषिको उत्पादन र उत्पादकत्व बढाउने’ पनि उल्लेख छ।

‘यी सबै व्यवस्थाले गुठी जमिन जोतभोग गरेका किसानलाई जमिनको स्वामित्व दिने गरी आवश्यक कानुनी व्यवस्था गर्न सरकारलाई निर्देश गरेका छन्,’ प्रवीण दहित भन्छन्, ‘तर, सरकारले हाम्रो कुरा सुनेन। जबसम्म हाम्रा माग पूरा हुँदैनन्, तबसम्म यही सडकमा आन्दोलन गरिरहन्छौं।’

इन्द्र चौधरीलाई सर्वोत्कृष्ट बालसाहित्य लेखन पुरस्कार

बालसाहित्यकार इन्द्र चौधरी ‘नेबासास बालपुस्तक लेखन पुरस्कार’बाट पुरस्कृत भएका छन्। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा दोस्रो बालपुस्तक प्रदर्शनी तथा उपत्यकाव्यापी बालकथा लेखन प्रतियोगिता कार्यक्रमको अवसरमा आइतबार चौधरीलाई उक्त पुरस्कार प्रदान गरिएको हो। प्रतिष्ठानका कुलपति भूपाल राई, सदस्य सचिव धनप्रसाद सुवेदी र नेपाल बालसाहित्य समाजका अध्यक्ष प्रमोद प्रधानले संयुक्त रुपमा पुरस्कार प्रदान गरे।

चौधरीलाई २०७९ सालमा रुप टु रिडद्वारा प्रकाशित ‘नयाँ वनपाले’ (प्रकाशित पहिलो र कथा दोस्रो) बालचित्र पुस्तकका लागि २०७९ को ८ वर्षभन्दा कम उमेर समूहको बालपुस्तक लेखनका लागि सर्वोत्कृष्टताका लागि उक्त पुरस्कार प्रदान गरिएको हो।

विगत ५ वर्षदेखि बालसाहित्य अनुवाद तथा लेखन गर्दै आएका चौधरीका हालसम्म ४ वटा बालचित्र कथाका पुस्तक प्रकाशित भएका छन् भने उनले अंग्रेजीबाट नेपाली र अंग्रेजी र नेपालीबाट थारू तथा रानाथारु भाषामा दर्जनौं बालकथा अनुवाद गरेका छन्। छोटो समयमा नै पुरस्कृत हुन पाउँदा निकै खुसी लागेको चौधरीले बताए। ‘छोटो समयमा नै सवोत्कृष्ट लेखनका लागि पुरस्कार पाउँदा निकै खुसी लागेको छ। यो मैले नसोचेको उपलब्धि हो,’ उनले भने, ‘यसले मलाई बालसाहित्यको क्षेत्रमा थप केही गर्ने ऊर्जा थपेको छ।’

आधा दशक सञ्चारकर्मीका रूपमा काम गरेका चौधरी रङ्गमञ्च हुँदै हालः शिक्षकका रूपमा कार्यरत छन्। पुरस्कार ग्रहणपछि चौधरीले कथालाई उत्कृष्ट बनाउनका लागि सम्पादकका रूपमा महत्त्वपूर्ण भूमिका निभाएका वरिष्ठ बालसाहित्यकार तथा आख्यानकार अनन्त वाग्ले र आकर्षक चित्र बनाउने अनुश्री लामालाई धन्यवाद व्यक्त गरे।

उनले भने, ‘पुस्तक सर्वोत्कृष्ट बनाउनमा यसका सम्पादक अनन्त वाग्ले र चित्रकार अनुश्री लामाजीको महत्त्वपूर्ण भूमिका छ।’ साथै उनले आफ्नो लेखनलाई मूल्यांकन गरी पुरस्कारका लागि योग्य ठानेकोमा मूल्यांकन समितिलाईसमेत धन्यवाद दिए।

चौधरीसँगै लेखनतर्फ सिर्जना राईले २०७९ सालको ८ वर्षभन्दा माथिका उमेर समूहका लागि, कवि मित्रलाल पंगेनी २०७८ सालको ८ वर्षभन्दा मुनिका उमेर समूहका लागि र हरि खनाल २०७८ सालकै ८ वर्षभन्दा माथिका उमेर समूहका लागि पुरस्कार प्राप्त गरेका छन्। त्यस्तै, चित्रांकनतर्फ २०७८ का लागि कलाग्रज बी र २०७९ का लागि कृषा ताम्राकार पुरस्कृत भएका छन्। साथै, प्रकाशन गृहलाई पनि पुरस्कृत गरिएको थियो।

अमेरिकी संस्था टीएफएको अध्यक्षमा दोहोरिए सुरेन्द्र चौधरी, यस्तो बन्यो नयाँ कार्यसमिति

अमेरिकी संस्था थारु फ्रेन्ड एन्ड एसोसिएसन (टीएफए)को अध्यक्षमा सुरेन्द्र चौधरी (इलिनोई) दोहोरिएका छन्। डीसेम्बर २९ मा सम्पन्न टीएफएको वार्षिक साधारणसभाले चौधरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो। Continue reading “अमेरिकी संस्था टीएफएको अध्यक्षमा दोहोरिए सुरेन्द्र चौधरी, यस्तो बन्यो नयाँ कार्यसमिति”

बर्दियाका कृष्ण थारूलाई टीएफए अमेरिकाको आर्थिक सहयोग

अमेरिकी संस्था थारूज एण्ड फ्रेन्ड्स एसोसिएसन (टीएफए)ले बर्दिया बाँसगढीका कृष्ण थारूलाई आर्थिक सहयोग गरेको छ। पत्रकार सन्तोष दहितले हिमाल खबरमा प्रकाशित ‘अदालतमा दुई सय रुपैयाँ तिर्न नसक्दा छोरा जेल गएपछि रातभर सुत्नै सकिनँ’ शीर्षकको रिपोर्टका आधारमा उक्त सहयोग उपलब्ध गरिएको हो। Continue reading “बर्दियाका कृष्ण थारूलाई टीएफए अमेरिकाको आर्थिक सहयोग”

तीन अर्ब ठगी योजनाका मास्टरमाइन्ड माइकल चौधरी, यसरी परे प्रहरी फन्दामा

इसेवालगायतका मोबाइल वालेट प्रयोगकर्तालाई संगठित रूपमा ठगी गर्ने गिरोह पक्राउ परेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले कैलालीका माइकल डंगौरा( चौधरी)सहित ठगीमा संलग्न सातजनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। सिआइबीका एसपी सुधीरराज शाहीका अनुसार उनीहरूले करिब तीन अर्ब रुपैयाँबराबरको ठगी गरेको कारोबारबाट खुलेको छ। जसमध्ये करिब ५४ करोड क्रिप्टोमा लगानी गरेका छन्।

पक्राउ पर्नेमा दुई भारतीयसमेत छन्। कैलालीको बर्दगोरिया गाउँपालिका-६ का माइकल मास्टर एजेन्ट भएको सिआइबीको प्रेस विज्ञप्तिमा उल्लेख छ। उनलाई सघाउने अनिल विश्वकर्मा, पीयूष श्रेष्ठ, अश्विसन चौलागाईं, सत्यम् सहनी, रोशन कुमार र मुन्ना कुमारलाई सिआइबीले पक्राउ गरेको हो। रोशन र मुन्ना भारतीय नागरिक हुन्।

२२ वर्षीय माइकल आइटीका विद्यार्थी हुन्। उनले घर र गाडीसमेत खरिद गरिसकेका थिए। कुनै पेसामा आबद्ध नभएका उनले अनलाइन ठगी र क्रिप्टो कारोबारबाटै सो सम्पत्ति कमाएको प्रहरीको आकलन छ। उनको बाइनान्स एपमा ५४ करोडबराबरको मौज्दात देखिएको छ। उनीहरूविरुद्ध संगठित अपराधको कसुरमा प्रहरीले अनुसन्धान अघि बढाएको छ।

‘मुख्य गरी इसेवाका प्रयोगकर्तालाई आफूहरू अफिसबाट बोलेको भन्दै फोन गरी सिस्टम अपडेटका नाममा ओटिपी मागेर खाताबाट पैसा चोरी गर्दै आएका थिए,’ उनले भने, ‘यसरी ठगिनेमा सरकारी कर्मचारीदेखि चिकित्सकसम्म छन्।’

उनीहरूले धेरैजसो पोस्टपेड नम्बर चलाउने इसेवा प्रयोगकर्तालाई लक्षित गरेको अनुसन्धानमा आबद्ध प्रहरी अधिकारी बताउँछन्। यसरी फोन गर्न उनीहरूले करिब ४० वटा सिमकार्ड निकालेका थिए। त्यस्ता सिमकार्ड नक्कली परिचयपत्रका आधारमा निकालिएकाले प्रहरीलाई अनुसन्धानमा समेत समस्या भएको थियो।

पक्राउ परेका अन्यको मोबाइलमा क्रिप्टोसम्बन्धी एपहरू भेटिएका छन्। उनीहरूविरुद्ध ठगीका साथै क्रिप्टो कारोबारको कसुरमा पनि अनुसन्धान भइरहेको सिआइबीले जनाएको छ। त्यस्तै, पक्राउ परेका दुई भारतीयको हुन्डीलगायत अन्य आर्थिक अपराधमा पनि संलग्नता देखिएको छ। उनीहरूलाई अनलाइन जागिरको प्रलोभनमा विभिन्न लिंक पठाएर त्यसमार्फत अनलाइन फिसिङसमेत गरेका थिए। यसरी ठगी भएको रकमको हुन्डीमार्फत कारोबार मिलाउने गरेका थिए।