आँखाबाट आँसु झार्दै प्रवीण थारूले भने- यो जग्गा मेरो बुबाको नाममा भइदिएको भए मैले पढ्न पाउँथे

दिनेश गौतम/अनलाइन खबर साभार
माघको तेस्रो साता लाग्दै गर्दा काठमाडौंको मौसम चिसै छ । सोमबार बिहानपख एकैखाले पहिरन लगाएका, हातमा खनजोतका सामग्री लिएकाहरू लस्करै माइतीघरको चिसो सडकमा बसे । सरकारले आफूहरूसँग गरेको सम्झौता कार्यान्वयन नगरेपछि दाङबाट चामल, दाल र सिन्की बोकेर आएका ४० स्वर्गद्वारी गुठीपीडितहरूले आइतबारबाट धर्ना थालेका हुन् । उनीहरूका कथा एउटै छ, व्यथा एउटै छ । समूहका सबैले गलामा मोहीयानी प्रमाणपत्र भिरेका छन् र सरकारलाई प्रश्न गरिरहेका छन्- पुस्तौंदेखि खनजोत गरेको, रगत पसिना बगाएको जमिन आफ्नो किन भएन ?
आफ्ना मागलाई उनीहरूले प्लेकार्डमा पनि केही शुत्रबद्ध गरेका छन् । जस्तै, ‘रगत पसिना बगायौं–बदलामा के पायौं ? जमिनको सवाललाई धर्म संस्कृतिसँग जोडेर किसानमाथि अन्याय गर्न पाइँदैन’, यस्तै यस्तै ।
यही समूहमा छन्, दाङ घोराही–१४ का २५ वर्षीय प्रवीण दहित थारु । स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिका सह–सचिव र प्रवक्ता पनि हुन् उनी । समितिको अध्यक्ष ७४ वर्षीय प्रभु चौधरी हुन् । तर, अस्वस्थ भएपछि उनी आउन पाएनन् । त्यसैले प्रवीणसहितका युवालाई नेतृत्वको जिम्मेवारी सुम्पिएर प्रभुले माइतीघर मण्डलामा पठाएका हुन् ।
‘जग्गाको लागि लड्दा लड्दै उहाँ बिरामी पर्नुभएको छ । उहाँको अझै बाजेको नाममा मोहीयानी प्रमाणपत्र छ । पूर्जा नपाई बुवा बित्नु भयो । उहाँ छोरा (प्रभु चौधरी) नै ७४ वर्षको पुग्नुभयो । लालपूर्जा छैन । यो १२ मौजाका ३ हजार ५ घर परिवारको कथा–व्यथा हो,’ प्रवीणले सुनाए ।
प्रभु चौधरीको नेतृत्वमा २०४५ सालदेखि आन्दोलन चलिरहेको छ । ‘यो बीचमा बहुदल आयो, गणतन्त्र आयो, तर हामीले हाम्रो जग्गा पाएनौं । आदीमदेखि हाम्रो पुस्ताको थातथलो हो । तर पुस्तौ पुस्ता यसकै लागि लड्नु भयो । हाम्रो एउटै प्रश्न छ– जग्गा कहिले पाउँछौ ?,’ बोल्दा बोल्दै प्रवीणका आँखाबाट आँसु झरे ।
प्रवीणका बुबा चुरालाल चौधरी पनि ७४ वर्षका पुगे । चुरालालको नाममा मोही कायम भएको १७ कट्ठाको प्रमाणपत्र छ । तर जग्गा छ स्वर्गद्वारी गुठीको नाममा । ‘यो जग्गा मेरो बुबाको नाममा भइदिएको भए मैले पढ्न पाउँथे नि,’ स्वर्गद्वारी गुठीका कारण आफूले पढ्न नपाएको प्रवीणले गुनासो गरे ।
एसएलसी दिँदासम्म पनि प्रवीणलाई बुबाले खनजोत गरेको जग्गा आफ्नै हो भन्ने लागेको थियो । जब प्रवीणले २०७० सालमा दाङको समुदायिक विद्यालयबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरे । एसएलसी उत्तीर्ण भएपछि खुसीको खबर बुबालाई सुनाउँदै जग्गा कतै राखेर भए पनि उच्च शिक्षा पढ्ने प्रस्ताव प्रवीणले राखे । तर प्रवीणका बुबा रुन थाले । ‘म पास भएर आएँ तपाई किन रुनु हुन्छ ?,’ प्रवीणले बुबालाई प्रश्न गरेका थिए त्यस दिन ।
‘म रैतीले के दिन सक्छु र ? बुबा भएर जिम्मेवारी निभाउन सकिनँ । मैले जन्म नै नदिनु पर्ने भन्नुभयो…,’ प्रवीणले स्मृतिको गर्तबाट थप कुरा खोतल्न सकेनन् । गहभरी आँसु भएपछि प्रवीण माइतघर मण्डलाको छेउमा रहेको एउटा रुखमा आड लागेर एक्लै रुन थाले । वर्षौंदेखि बुबा–आमाले खेती गरेको जग्गा आफ्नो नरहेको उनले एसएलसी उत्तीर्ण भएपछि थाहा पाएका रहेछन् ।
केहीबेरपछि उनी आँसु पुछ्दै धर्नास्थलमा आए । मिडियाले पनि उनलाई पच्छ्याइरहेका थिए । आधाघण्टापछि हामीले फेरी उनीसँग कुरा सुरु गर्यौं । ‘…त्यसपछि यो आन्दोलनलाई सफल बनाउँछु । बुबा बाजेको सम्पत्ति लिएरै छाड्छु भनेर अभियानमा होमिएको हुँ,’ प्रवीणले भने, ‘चाहना हुँदा हुँदै पनि उच्च शिक्षा हासिल गर्न पाएका छैनौं । अहिले पनि रैतीको जीवन जीउन विवश छौं ।’
बुबाले उनलाई वकिल बनाउन चाहेका रहेछन् । तर गरिबी र जग्गा पनि आफ्नो नाममा नभएपछि प्रवीणको उच्च शिक्षाको ढोका नै खुलेन । ‘नपढेको र कानुन नबुझेका कारण जग्गा हाम्रो नाममा नभएपछि बुबाले मलाई कानुन बुझ्न र बोल्नका लागि वकिल बनाउन चाहनु भएको रहेछ,’ प्रवीणले भने, ‘कमजोर आर्थिक स्थितिले एसएलसीपछि माथिल्लो कक्षा पढ्न सकिएन ।’
खनजोत गरेर आयआर्जन गरेको पनि स्वर्गद्वारी गुठीलाई कुत बुझाउँदा सकिने गरेको उनी बताउँछन् । ‘धान तोरी जे उब्जाउ भए पनि गुठीलाई कुत दिनुपर्छ । गुठीलाई नदिए मोहीबाट निष्कासन गर्दिन्छ । कहाँ जाने ? के खाने ? बुबाले अरुको घरमा ज्याला मजदुरी गरेर पाल्नु भयो,’ उनले भने । यतिसम्म थियो कि, अरुको घरमा झिलिमिलि बिजुली बत्ति बल्थ्यो । तर उनको घरका टुकी ।
‘हाम्रो घरमा किन बिजुली नजोडेको भनेर बुबालाई सोधेँ । मोही भएकाले बिजीलु बत्ति पनि जोड्न अनुमति रहेनछ । आदिम समयदेखि बसोबास गरिरहेका हामीलाई यति धेरै अन्याय ?,’ उनले प्रश्न राखे । प्रवीणका अनुसार यो समस्या १९८० सालदेखिको हो । ‘जग्गाको मालिकलाई मोही बनाइयो । जग्गा धनी चाहिँ स्वर्गद्वारी गुठीलाई बनाइयो । हामी मोही होइनौं । जग्गाको मालिक हौं,’ प्रवीणले भने ।
त्यसपछि प्रवीण एउटै समस्यामा भएकालाई संगठित बनाउने अभियानमा जुटे । ‘प्रत्येकको घरघरमा पुगेर बुझ्दा ठूलो समस्या रहेछ । हामी एक जुट भएर आन्दोलन थालेका हौँ,’ उनले भने । सरकारसँग पटक पटक सम्झौता पनि भयो । तर सुनुवाइ नभएपछि माइतीघर मण्डलामा आएका हौँ ।’
२०७२ मा संविधान जारी भएपछि दाङकेन्द्रित आन्दोलन भयो । सहमति भएपनि माग सम्बोधन भएन । गत वर्षको चैतमा कानुन बनाउने सम्झौता सरकारसँग भयो तर अहिलेसम्म पनि अगाडि नबढेपछि गुठी पीडितहरू काठमाडौं आएका हुन् ।
‘माघसम्म कुरेर बस्यौं । सरकारले कानुन निर्माणको प्रक्रिया अगाडि बढाएन । कानुन निर्माता, न्यायालय, मानवअधिकारकर्मी सबै काठमाडौंमा हुनुहुन्छ । त्यसैले बाध्य भएर आएका हौं,’ प्रवीणले भने । प्रधानमन्त्री, मन्त्री, सांसददेखि नेतासम्मलाई भेटेको फोटोहरूको ब्यानर नै बनाएर संघर्ष समितिले माइतीघरमा झुन्ड्याएको छ । ‘भेट्न बाँकी कोही हुनुहुन्न । केपी ओली, शेरबहादुर देउवा, प्रचण्ड सबैलाई भेटेका छौं । आश्वासन दिनुभयो तर काम भएन,’ उनले भने, ‘परराष्ट्रमन्त्री आरजु राणा हाम्रो दुख देखेर रुनु भएको थियो । तर, पनि हामी निमुखाको सुनुवाइ भएन ।’
चर्चित नेताहरूको घर दाङमै छ । बारम्बार यो समस्या नेताहरूलाई राख्ने गरेको बताउँछन् प्रवीण । ‘एमाले महासचिव शंकर पोखरेल हुनुहुन्छ । यस्तै उहाँको घरको समस्या भएको भए के हुन्थ्यो ? माओवादीको रेखा शर्मा हुनुहुन्छ । एकीकृत समाजवादीको मेटमणि चौधरी हुनुहुन्छ । उहाँहरूको घरमा परेको भए के हुन्थ्यो ?,’ आफ्नै जिल्लाका नेतालाई प्रश्न गर्छन् उनी ।
अबको पिढीले आफूले पाएको जस्तो दुःख नपाउन् भनेर निर्णायक आन्दोलनमा होमिएको उनी बताउँछन् । ‘मैले पढ्न पाइनँ । के अब आउने कति पिढीले पनि पढ्न नपाउने हो ? उपचार नपाइ मर्नुपर्ने हो ? अब न्याय नपाएसम्म आन्दोलन जारी रहन्छ,’ उनले अठोट सुनाए ।
दाङ घोराहीका ७१ वर्षीय बासुराम चौधरी पनि धर्नामा छन् । उनी २०४५ सालसम्म पनि प्युठानको स्वर्गद्वारी आश्रममा कुत बुझाउन जान्थे । ‘धान तोरी जे अन्न हुन्छ प्युठान नै पुर्याउनु पथ्र्यो,’ उनले ती दिन सम्झँदै भने, ‘कुत मात्र होइन पुजारी र कर्मचारीलाई पनि बोकेर पुर्याएका छौँ ।’
यो देशमा सबै भन्दा बढी पिडित समुदाय हो थारु । सबैले न्याय पाए तर थारुले अहिले सम्म न्याय पाएका छैनन् । यसमा थारु अगुवाहरुको अदुर्दशिता पनि उत्तिक्कै जिम्मेवार छन् ।