अमेरिकी संस्था टीएफएको अध्यक्षमा दोहोरिए सुरेन्द्र चौधरी, यस्तो बन्यो नयाँ कार्यसमिति

अमेरिकी संस्था थारु फ्रेन्ड एन्ड एसोसिएसन (टीएफए)को अध्यक्षमा सुरेन्द्र चौधरी (इलिनोई) दोहोरिएका छन्। डीसेम्बर २९ मा सम्पन्न टीएफएको वार्षिक साधारणसभाले चौधरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो।
सिकागोमा बस्दै आएका उनी २०२५-२०२६ का लागि अध्यक्ष चयन भएका हुन्। यसअघि पनि उनै अध्यक्ष रहेका थिए। भर्चुअल माध्यमबाट गरिएको वार्षिक साधारणसभाले उपाध्यक्षमा राम लखन चौधरी (क्यालिफोर्निया), दीपक चौधरी (न्युयोर्क), सचिवमा ज्ञानेन्द्र चौधरी (हवाई), सहसचिवमा हरेन्द्र चौधरी (बोस्टन) र कोषाध्यक्षमा ललित चौधरी (इलिनोई)लाई चयन गरेको हो।
त्यस्तै सदस्यहरूमा तारा चौधरी (इलिनोई), जयनारायण चौधरी (न्यु मेक्सिको), अमृत महतो (क्यालिफोर्निया), शशि कपुर चौधरी (टेक्सास) र रामदेव चौधरी (उत्तर क्यालिफोर्निया) रहेका छन्।
कृष्णबहादुर चौधरीको संयोकत्वमा गठित निर्वाचन कमिटीले टीएफएको नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया सम्पन्न गरेको थियो। निर्वाचन कमिटीमा सुशील चौधरी र तार्केश्वर प्रसाद सिंह सदस्य रहेका थिए।
वार्षिक साधारणसभामा अमेरिकाको विभिन्न राज्यबाट थारू प्रतिनिधिहरू सहभागी थिए। त्यस्तै नेपालबाट प्रमुख अतिथिका रूपमा थारू कल्याणकारिणी सभाका सभापति प्रेमीलाल चौधरी र पूर्व कमलरीसमेत रहेका अभियन्ता उर्मिला चौधरी सहभागी थिए। त्यस्तै थारुवान डटकमका संस्थापक मदन चौधरी र टीएफए छात्रवृत्ति पाएका विद्यार्थीहरूको पनि उपस्थित रहेको थियो।
प्रमुख अतिथि थाकस सभापति प्रेमीलाल चौधरीले थारू समुदायको माग मुद्दाका विषयमा बैठकमा चर्चा गरेका थिए। थारूहरूको माग मुद्दाका निम्ति राज्यसँग लड्नुपर्ने आवश्यकता रहेको र त्यस क्रममा प्रवासमा रहेका थारूहरुको सहयोग चाहिने उनले बताएका थिए। उनले टीएफएले यसअघि पनि थाकस र थारू माग मुद्दाका निम्ति सहयोग गर्दै आएको बताएका थिए।
त्यस्तै पूर्व कमलरी उर्मिला चौधरीले कमलरीहरूलाई पनि छात्रवृत्तिबाट लाभान्वित बनाउन आग्रह गरेकी थिइन्। उनले साँच्चै नै दुःखमा परेका कमलरीहरूलाई छात्रवृत्ति प्रदान गर्न टीएफए पदाधिकारीहरूलाई सुझाव दिएकी थिइन्। सो अवसरमा अमेरिकी विदेश मन्त्रालयबाट ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’बाट सम्मानित भएकी उर्मिलालाई टीएफएले बधाई ज्ञापन गरेको थियो।
त्यस्तै थारुवान डटकमका संस्थापक मदन चौधरीले थारुवान डटकमले थारू समुदायको माग मुद्दालाई उठान गरिरहेको बताए। उनले विगतमा कमलरी आन्दोलन, थरूहट आन्दोलन र विभिन्न समसामयिक मुद्दामा थारूवानले गहन रिपोर्टिङ गर्दै आएको बताए। नेपालमा क्रियाशील थारू पत्रकार र थारूद्वारा सञ्चालित मिडियाहरू विस्थापित हुने अवस्थामा रहेकाले उनीहरूमाथि पनि लगानी आवश्यकता रहेको उनले औंल्याएका थिए।
वार्षिक साधारणसभालाई सचिव ज्ञानेन्द्र चौधरीले सञ्चालन गरेका थिए।
Facebook Comment