थारू विवाह : जहाँ कोसेलीमा लगिन्छ ‘रक्सीसहितको पहुरा’

लखन चौधरी/कैलाली
यतिबेला विवाहको सिजन छ। विभिन्न रीति, संस्कृति र परम्परा रहेको नेपाली समाजमा विवाहको पनि आ-आफ्नै संस्कार र चलन छ। पश्चिम नेपालको थारू बस्तीमा पनि विवाहको आफ्नै मौलिक संस्कार छ। थारू समुदायको विवाहको सुरुवाती ‘डिउली डर्ना’ अर्थात दुलहा वा दुलहीकी भाउजू, काकी मिलेर उरुदलाई जाँतोमा पिस्नेलगायतका मंगलिक कार्यबाट हुन्छ।
दुई दिनदेखि तीन दिनसम्म चल्ने विवाहमा भोज खान जान लगिने पहुरा (कोसेली) दिने चलन पनि निकै रोचक छ। विवाहमा निमन्त्रणा पाएकाहरू दुलही वा दुलहाको घरमा कोसेली स्वरूप ढकिया वा छिटुवामा दुई माना चामल, तरकारीसँगै सुगनको रूपमा एक बोतल रक्सी लैजाने प्रचलन छ।
कैलालीको गौरीगंगा नगरपालिका १० भगतपुरकी बिसरी कुमारी चौधरीले विवाहको निमन्त्रणा आएपछि आफूले हरेक विवाहमा कोसेली स्वरूप ढकियामा चामल, तरकारी र आफै उत्पादित रक्सीसहितको पहुरा लिएर जाने गरेको सुनाइन्। छिमेकीको विवाहमा जाँदै गरेकी उनले भनिन्, ‘खाली हात जानु हुन्न भन्ने मान्यता छ। केही न केही लैजानुपर्छ। पहिलेदेखि चल्दैआएको चलनअनुसार रक्सीसहितको पहुरा लिएर जाँदैछु।’
कैलारी गाउँपालिका ६ की चुल्हिया देवी थरुनीले विवाहमा भोज खुवाउनु पर्दा ढामा (खर्च) लाग्ने गरेको सुनाइन्। थारु विवाहमा मासु, भात, तरकारीसँगै रक्सी अनिवार्य दिइन्छ। सोही अनुसार पनि विवाह घरमा केही राहत पुगोस् भनेर उहिल्यैदेखि पहुरामा रक्सी, चामल र तरकारी लिएर जाने प्रचलन रहीआएको बताइन्।
कैलालीको होमस्टेकर्मी समेत रहेका थारु युवा दिनेश दहित थारुले पहिलेदेखि चल्दैआएको पहुरामा चामल, तरकारी र रक्सी लैजाने प्रचलन सामाजिक सहकार्यको नमूनाको प्रतीक रहेको बताउँछन्। यही माघ पहिलो साता भाइको विवाह कार्यक्रम आयोजना गरेका उनले पहुरामा आएको सामान दैनिक जीवनमा खपत हुने र सहयोगीभावयुक्त रहेको महसुस गरेको सुनाए।
थारू अगुवा माधव थारुले पछिल्लो समय विवाहमा लैजाने कोसेलीमा देखासिखीले विकृति आए पनि पहिलेकका पुर्खाहरूले लैजाने कोसेलीमा निकै नै मौलिकतापन, सहयोगी भावयुक्त र मितव्ययी रहने र दैनिक जीवनमा प्रयोग हुने खालको रहेको बताउँछन्।
उनले भने, ‘समाजमा सबैको आर्थिक स्थिति एकनास हुँदैन। जुनकारण पहुरामा लगिने चामल, तरकारी र रक्सीले धेरै सहजता हुन्छ। सबै सामान खरिद गर्नुपर्ने बाध्यता हुँदैन।’ तर पछिल्लो समय कोसेलीमा र दाइजोमा दिने बढी देखासिकी र दिने वस्तुमा विलासिताका सामान बढी हुने गरेको थारूको भनाइ छ।
उनले अगाडि भने, ‘दुलहाको घरमा राख्ने ठाउँ हुँदैन। तर त्योभन्दा बढी ठाउँ ओगट्ने दाइजोको सामान हुन्छ। जुन प्रयोगमा पनि आउँदैनन्। त्यो सामान दिएर के फाइदा भयो ?’
Facebook Comment