सङ्घीयतासहितको संविधानका लागि मोर्चा अडिग : गच्छदार
भद्रपुर- उपप्रधानमन्त्री एवं गृहमन्त्री विजयकुमार गच्छदारले सङ्घीयतासहितको संविधान निर्माणका लागि मधेसी मोर्चा अडिग रहेको बताएका छन्। मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्षसमेत रहनुभएका उनले आइतबार पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै मुलुकमा शान्ति स्थापना गर्न र सङ्घीयतासहितको संविधान निर्माण गराउन संविधान सभाको निर्वाचनै एकमात्र विकल्प रहेको स्पष्ट गरे। उनले मधेसी, आदिवासी, जनजाति, दलित र महिलाको अधिकारका लागि आफ्नो पार्टी प्रतिबद्ध रहेको उल्लेख गरे। पार्टीको सङ्गठनलाई ग्रामीण क्षेत्रमा अझ बलियो बनाउनका लागि कार्यकर्ताहरुलाई निर्देशन दिँदै उनले जनताको मनोभावलाई बुझेर कार्य गर्न आग्रह गरे।
फागुनको पहिलो सातासम्ममा राजनीतिक पार्टीहरुबीच सहमति हुने विश्वास व्यक्त गर्दै उनले आगामी जेठ महिनामा संविधानसभाको निर्वाचन हुन सक्ने सम्भावना अझै रहेको बताए। रासस
Facebook Comment