उपमेयर संगीता चौधरीमाथि दुर्व्यवहार, थाकसलगायत संस्थाद्वारा कारबाहीको माग

इटहरी उपमहानगरपालिकाका उपमेयर संगीताकुमारी चौधरीमाथि दुर्व्यवहार भएको छ। प्रशासन शाखा प्रमुख सञ्जिव कुमार खड्काले उनीमाथि दुर्व्यवहार गरेका हुन्। उनले आफूले लोकसेवा आयोग पास गरेर आएको फुर्ती लाउँदै उपमेयर चौधरीमाथि जाइलागेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। ‘तपाईं २ दिनको जननिर्वाचित, म लोकसेवा आयोगबाट पास गरेको स्थायी अधिकृत। के गर्न सक्नु हुन्छ गर्नुस्,’ भन्दै उनले चौधरीमाथि जाइलागेका हुन्।

एमालेबाट निर्वाचित उपमेयर चौधरी र कांग्रेसबाट निर्वाचित मेयर हेमकर्ण पौडेलबीच विवाद हुँदै आएको छ। गत माघ ११ गते विभिन्न वडाको सर्भर डाउन गरेपछि उक्त विवाद निम्तिएको हो। कर्मचारी खड्काले आफूखुसी कानुन विपरीत वडा नं. २, ३, ४, ५, ७, ९, १०, ११, १२, १४, १५, १६, १७, १८ र १९ को सर्भर डाउन गरिदिएका थिए। सोही विषयमा भएको विवादमा खड्काले उपमेयर चौधरीमाथि असभ्य तरिकाले प्रस्तुत भएको थारू सम्बद्ध संघसंस्थाहरूले उल्लेख गरेका छन्।

उपमेयर चौधरीमाथि दुर्व्यवहार गर्ने कर्मचारी खड्कालाई कारबाहीको माग गर्दै थारू कल्याणकारिणी सभा इटहरी शाखाले विज्ञप्ति जारी गरेको हो। विज्ञप्तिमा थारु महिला सभा, थारु विधार्थी सभा, थारु विधार्थी समाज, नेपाल आदिवासी जनजाति विधार्थी महासंघ र ग्रामथान संरक्षण समितिलगायतले आपत्ति जनाएका छन्।

‘नेपालको राष्ट्र सेवक कर्मचारीहरु जनता र जनताद्वारा निर्वाचित जन प्रतिनिधीहरु प्रति उत्तरदायी बन्नु पर्नेमा सो नगरी सोही विषयलाई लिएर मिति २०८१ साल माघ १३ गते एकीकृत सरकारी कर्मचारी संगठन, राष्ट्रिय कर्मचारी संगठन, निजामती कर्मचारी युनियन जिल्ला कार्य समिति सुनसरीको संयुक्त प्रेस विज्ञप्ति जारी गरेकोमा थारू कल्याणकारिणी सभालगायत सम्पूर्ण संस्था सुनसरीको गम्भीर ध्यानाकर्षण भएको छ। नेपालको संविधानको मर्म भावना विपरित हुने गरी इटहरीमा कर्मचारी तन्त्र हाबी गराउन खोजिएको हाम्रो ठहर छ,’ विज्ञप्तिमा भनिएको छ।




One thought on “उपमेयर संगीता चौधरीमाथि दुर्व्यवहार, थाकसलगायत संस्थाद्वारा कारबाहीको माग

  1. दोशिलाई यथाशीघ्र कडाइका साथ कार्बाही गरियोस।

Leave a Reply to Jagatram Jingainya Cancel reply

Your email address will not be published. Required fields are marked *