सेनामा एक आम थारू युवाको प्रवेशले परिवारमा छाएको खुसी

ध्रुव बीसी क्षेत्री/नयाँ पत्रिकाबाट साभार
गोरख बक्स गण अछाम पुगेकी बर्दियाकी आशिका थारू आफ्नो श्रीमानलाई सैनिक पोसाकमा देखेर दंग थिइन् । शुक्रबार श्रीमान् आयुष थारूको दीक्षान्त समारोहमा आएकी उनी श्रीमान् सफल भएको देखेर खुसी बनेकी हुन् । त्यसाे त छोराको उल्लेखनीय सफलताले परिवारको आधारभूत आवश्यकता परिपूर्ति हुने भएपछि आयुषका बुबा श्याम र आमा लक्ष्मी थारूको पनि खुसीको सीमा नै थिएन ।

‘हाम्रो परिवारमा यो नै पहिलो सरकारी जागिर हो,’ श्यामले भने, ‘हामी अभावमा थियौँ । अब अभाव हट्ने आस छ ।’ बारबर्दिया-६ जयनगर बर्दियाका आयुष गोरख बक्स गण मंगलसेन ब्यारेकमा सञ्चालित एघारौँ समूहको सैन्य तालिम सकेर सिपाही बनेका अरू ९९ जनाभन्दा फरक थिए । उनी अति विपन्न परिवारबाट सेनामा प्रवेश गरेका हुन् । उनको सेनामा ‘इन्ट्री’सँगै अब अवस्था सुधार हुने परिवारको अपेक्षा छ ।

आयुषका आफन्तले जस्तै दीक्षान्त समरोहमा सबै एक सयजना सिपाहीका परिवारले खुसी साटासाट गरेका छन् । लौरोको सहाराले छोरा, नातिहरूलाई बधाई दिन आएका वृद्ध बाआमाको उपस्थितिले दीक्षान्त समारोह अत्यन्त भावुक देखिन्थ्यो । समारोहमा सहभागी उनीहरूले सिपाही बनेका छोरा, नातिहरूलाई अबिर, माला र आफ्नो परम्पराअनुसार आशीर्वाद दिएर सफलताको शुभकामना दिएका थिए ।

नौ महिनासम्म कडा मिहिनेतका साथ तालिम गरेर सिपाही बनेका उनीहरूलाई श्री नम्बर ५ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी सरोज अधिकारीले सेना बलियो भए मात्र देश बलियो हुने भन्दै जनता, सैनिक संगठन र राष्ट्रको रक्षाका लागि जिम्मेवारी बहन गर्न निर्देशन दिए । उनले नेपालको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता, जनताको सुरक्षाका लागि नेपाली सेनाको गौरवमय इतिहास रहेकाले त्यसलाई संरक्षण गर्न दिएको जिम्मेवारी सेनाको मूल्य र मान्यताभित्र रहेर इमानदारपूर्वक पूरा गर्न स्मरण गराए ।

बाहिनीपति अधिकारीले सिपाहीहरूलाई सेनाको सदस्यको रूपमा स्वागत गर्दै राष्ट्र, नेपाली सेना र जनताप्रतिको जिम्मेवारीमा सधैँ अडिग रहन निर्देशन दिँदै सैनिक परिधिभित्र रहेर कार्य गर्न आग्रह गरे ।

१७ वैशाख ०८० मा अछाम सदरमुकाम मंगलसेन आएको गोरख बक्स गणले एघारौँ समूहको रूपमा सञ्चालन गरेको यो तालिमका क्रममा व्यावहारिक र सैद्धान्तिकलगायत विभिन्न कार्यमा उत्कृष्ट भएका नयाँ सिपाहीहरू टेकराज जोशी र बमबहादुर बुढालाई पुरस्कृतसमेत गरेको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *