अन्ततः अष्ट्रेलिया पलायन भइन् भलिबल स्टार सरस्वती चौधरी

नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी स्पाइकर सरस्वती चौधरी सशस्त्र प्रहरी बलको एपीएफ क्लब छाडेर अस्ट्रेलिया गएकी छन्। सरस्वती यसअघि पनि अस्ट्रेलियाबाट पोखरामा आयोजना भएको टाइगर कप खेल्न फर्किएकी थिइन्।

टाइगर कप सकिएसँगै सरस्वतीलाई एपिएफको भलिबल टोलीका खेलाडीहरूले विदाइ गरेका थिए। विदाइमा सरस्वती भक्कानिएको भिडिओ उनका साथीहरूले सामाजिक सञ्जालमा राखेका छन्।

एपीएफका भलिबल खेलाडीहरुले सरस्वतीको बिदाइमा आज सानो कार्यक्रम राखेका थिए । उक्त कार्यक्रममा सरस्वती भक्कानिएकी थिइन् । विमानस्थलमा पनि उनलाई बिदाइ गर्न निरुता ठगुन्नालगायत भलिबल खेलाडीहरु पुगेका थिए ।

१७ वर्षको उमेरमा सरस्वती एपीएफमा आवद्ध भएकी थिइन् । उनले टीमलाई थुप्रै सफलताहरु दिलाएकी छन् । एपीएफले उपाधि जितेका प्रतियोगितामा उनकै मूख्य योगदान हुने गर्छ ।

@tharuwannewsबिदाइ कार्यक्रममा धुरुधुरु रोइन् सरस्वती चौधरी

♬ original sound – Tharuwan News

क्लव भलिबलमा तहल्का मच्चाएकी सरस्वतीले सन् २०१४ मा राष्ट्रिय टीममा स्थान बनाएकी हुन् । नेपालमा आयोजित दक्षिण एसियाली आमन्त्रित भलिबल च्याम्पियनसीपमा माल्दिभ्सविरुद्धको मैत्रीपूर्ण खेलमा उनले पहिलोपटक राष्ट्रिय जर्सी लगाएकी थिइन् । त्यसयता उनले निरन्तर राष्ट्रिय टिमका लागि अहम् भूमिका निभाउँदै आएकी छन् ।

नेपालले बंगलादेशमा भएको सेन्ट्रल जोन भलिबल च्याम्पियनसीपको उपाधि जित्दा सरस्वतीले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । नेपालले महिला भलिबलमा जितेको यो पहिलो अन्तर्राष्ट्रिय स्वर्णपदक थियो । नेपालमै भएको १३ औं सागमा पनि उनले आफ्नो उत्कृष्टता कायम राख्दै टीमलाई फाइनलसम्म पुर्याइन् । फाइनलमा नेपाल भारतसँग ३-२ ले चुकेको थियो ।

नेपालले पहिलोपटक भलिबलमा गत वर्ष भारतलाई हरायो । काभा भलिबल नेसन्स लिगको लिग चरणमा नेपालले भारतलाई ३-१ को सेटमा हराउँदा सरस्वतीकै प्रदर्शन निर्णायक थियो । सरस्वती नेपालको राष्ट्रिय महिला टीमकी खम्बा नै हुन् । ६ फिट १ इन्च अग्ली उनी कडा स्पाइकका लागि चिनिन्छन् । कैलालीको धनगढीमा जन्मिएकी उनी १२ वर्षको उमेरदेखि भलिबलमा लागेकी थिइन् ।

स्रोतका अनुसार सरस्वती अष्ट्रेलियामै सेटल भइसकेकी छन् । उनी गत मंसिरमा नै अष्ट्रेलिया गएकी थिइन् । त्यसलगत्तै खेलकुद मन्त्री तेजुलाल चौधरीले एक सार्वजनिक कार्यक्रममा सरस्वती चौधरी अष्ट्रेलिया पलायन भएको बताएका थिए ।

केही दिनअगाडि टाइगर कप भलिबल प्रतियोगिता खेल्न सरस्वती नेपाल आएकी थिइन् । सो प्रतियोगिता सकिएपछि उनी फेरि अष्ट्रेलिया फर्किएकी हुन् । सरस्वतीलाई बिदाइ गरेको तस्बिर र भिडिओ हाल्दै राष्ट्रिय भलिबल खेलाडी रेश्मा राजभण्डारीले फेसबुकमा लेखेकी छन्, ‘तैले नयाँ बाटो रोजिस । जहाँ गए पनि अझ राम्रो गर्नु । सफलता तेरो पछि लागिरहोस् । सुरक्षित रहनु र जहिल्यै अगाडि बढिरहनु ।’ -नेपाल प्रेसबाट




Leave a Reply

Your email address will not be published. Required fields are marked *