ड्युटीमा खटिएका प्रहरी हवल्दार जगुलाल चौधरीमाथि विद्यार्थी नेताको आक्रमण, दुई जना पक्राउ पर्दा अखिल नेता फरार

काठमाडौंको ठमेलमा दुई प्रहरी कुटिएका छन्। विद्यार्थी नेताहरूबाट उनीहरू कुटिएका हुन्। कुटाइ खानेमा प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज विष्ट छन्। उनीहरूको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ। उनीहरू सवार मोटरसाइकल लडाउँदै विद्यार्थी नेताहरूले कुटपिट गरेका थिए। उनीहरूको लौरोसमेत फालिदिएका थिए।

ठमेलमा ड्युटी खटिएका उनीहरूमाथि आक्रमण गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दिनेश सिग्देल र रमेश फुलारा रहेको छन्। उनीहरू दुवै जना अमृत साइन्स क्याम्पस (अस्कल) मा अध्ययनरत विद्यार्थी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले बताए।

प्रहरी स्रोतका अनुसार पक्राउ परेका दुवै नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुमा आबद्ध छन्। पक्राउ परेका सिग्देल अनेरास्ववियु अस्कल क्याम्पसका प्रारम्भिक कमिटी अध्यक्ष हुन्। उनीहरूको समूहले दरबारमार्गस्थित केशरमहल बिटबाट ड्युटीमा खटिएको क्विक रेस्पोन्स टीम (क्यूआरटी) को टोलीमाथि आक्रमण गरेको थियो।

कुटपिटका मुख्य योनजनाकार अनेरास्ववियुकै नेता कमल जोशी रहेको प्रहरीको भनाइ छ। जोशीसहित ६/७ जनाको समूहले प्रहरीमाथि आक्रमण गरेको थियो। जोशी अनेरास्ववियुका नेता हुन्। उनी अहिले फरार छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *