‘भ्वाइस अफ नेपाल’मा भाग्य खोज्दै दृष्टिविहीन विकास थारू

प्रतीक्षा रिजाल/अनलाइनखबरबाट
बर्दियाका २४ वर्षीय विकास थारु जन्मजात दृष्टिविहिन हुन् । छालाको आँखाले उनी देख्दैनन् तर, मनको आँखामा उनी सपना देखिरहन्छन् । संगीतमा सफल बन्ने र नाम कमाउने उनको सपना हो ।

गायन यात्रामा अघि बढ्न उनलाई परिवारको कमजोर आर्थिक स्थितीले रोेकेन । गाउनमा उनी अब्बल छन् । सुमधुर स्वरले मन्त्रमुग्ध तुल्याउँछन् । संगीतप्रतिको लगाव र संघर्षले उनलाई ‘द भ्वाइस अफ नेपाल’को सिजन ६ सम्म ल्याएको छ ।

३ जना कोचको कुर्सी घुमाउँदै गतसाता उनी यो रियालिटीको ब्लाइन्ड अडिसनमा छनोट भए । हिम्मत र इच्छाशक्तिले उनलाई भ्वाइसको स्टेजमा ल्याइपुर्‍यायो । प्लाटफर्म उनको लागि सांगीतिक करिअरलाई अघि बढाउने मौका पनि हो ।

यसै सन्दर्भमा विकासले अनलाइनखबरसँग संक्षिप्त संवाद गरे । उनले भने, ‘सिजन ४ देखि भ्वाइसमा आउने चाहना थियो, तर डिजिटल अडिसनका लागि मसँग सहयोग गर्ने कोही थिएन । अहिले यो अवसर पाउँदा मेरो लागि यो ठूलो जित जस्तै बनेको छ । आफूसँग भएको कलालाई लिएर अघि बढ्ने चाहना छ ।’

संगीतप्रतिको यो लगावले विकासलाई काठमाडौंसम्म ल्यायो । काठमाडौंका सडकमा पनि उनले गीत गाउन थाले । ग्यास सिलिन्डर समेत बेचेर यहाँको बाटोमा गीत गाउँदै हातमुख जोडे । ‘परिवारको आर्थिक अवस्था कमजोर हुँदा काठमाडौँ आएको हो । परिवारमा मलाई पढाउन सक्ने क्षमता थिएन, सरकारको सहयोगले माध्यमिक शिक्षासम्म हासिल गर्न सकें’ भन्छन्, ‘सुरुमा धुप बेच्दै हिँडे पनि समस्याहरू आएपछि लगभग ४ वर्षदेखि बाटोमा गीत गाइरहेको छु ।’

बाटोमा गीत गाउनु दृष्टिविहिन विकासलाई सजिलो पक्कै होइन । ‘मानिसको व्यवहार र समाजका कयौं समस्या मलाई सधैँ पर्खिरहेका हुन्छन्’ उनले थपे, ‘कति मानिसले मानवीय व्यवहार नगरी गाली गर्ने, छतबाट पानि हल्दिने, कुकुर फुकाउने गर्छन् । हामी केही गर्न सक्दैनौं । यी सबै समस्याका बाबजुद पनि हामी हिम्मत गरेर गीत गाउँछौं ।’

उनी अहिले नारायणटारमा श्रीमतीसँग बस्छन् । श्रीमती पनि दृष्टिविहिन हुन् । दुबैले कठिन जीवन बाँचिरहेका छन् । भ्वाइसको स्टेजमा अडिसन दिन जाँदा विकास श्रीमतीसँगै गएका थिए । उनीहरू दुबैले गीत गाएर प्रतिभा प्रस्तुत गरे ।

काठमाडौँ महानगरले बाटोमा बसेर गीत गाउन रोक लगाउने कार्यले आफूहरूलाई असर गरेको उनले बताए । ‘यसले हामीजस्ता कलाकारलाई समस्या भएको छ’ भन्छन्, ‘सरकारले बाटोमा गीत गाउन नदिने निर्णय गरेको छ, यो हाम्रो लागि समस्या हो । हामीलाई गाउने अवसर दिने व्यवस्था र रोजगार दिने उपाय भए राम्रो हुन्थ्यो ।’

बाटोमा गीत गाउँदा स्पिकर लगिदिने, गाली गर्ने गरिएको उनले बताए । ‘यो सबै गर्नभन्दा कुनै रेस्टुरेन्टमा गीत गाउने व्यवस्था गरिदिए हामीलाई सजिलो हुन्थ्यो । पेट पाल्ने एकमात्र साहाराबाट पनि बन्चित गरिदिँदा धेरै समस्या भोग्नुपरेको छ’ उनले भने ।

उनले सरकारसँग अनुरोध गरे, ‘हामीले गर्न सक्ने कामको व्यवस्था गरिदिनुस । हामी काम गर्न तयार छौं, तर हाम्रो पेट पाल्नको लागि सहयोगी उपाय दिनुहोस् ।’ यतिबेला विकासले कोच मेलिना राईको टीमबाट प्रतिस्पर्धा गर्दैछन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *