कांग्रेसको थारू संघलाई महाधिवेशन गर्ने अन्तिम मौका

लामो समयसम्म महाधिवेशन गर्न नसकेका कांग्रेसका दश भ्रातृसंस्थाको चैत मसान्तपछि म्याद थप नहुने भएको छ। बिहीबार सानेपामा कांग्रेसका पदाधिकारी र भ्रातृसंस्थाका निर्देशक समिति संयोजकबिच तयारीका विषयमा कांग्रेसले छलफल गरेको थियो। पटक-पटक म्याद थप्दा पनि महाधिवेशन हुन नसकेपछि चैत मसान्तभित्रै जसरी पनि गर्न निर्देशन दिइएको छ। बैठकमा सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, कोषाध्यक्ष उमेश श्रेष्ठलगायत उपस्थित थिए।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले चैत मसान्तभित्रै महाधिवेशन गर्नुको विकल्प नरहेको निष्कर्ष निकालेको बताए। छलफलसँगै नेतृत्व तहबाट म्याद थप नगर्ने र तोकिएकै समयमा अधिवेशन सम्पन्न गर्न केन्द्रित हुने निर्णय गरेको उनको भनाइ छ। ‘भातृसंस्थाका महाधिवेशन चैत मसान्तभित्र सम्पन्न गर्न निर्देशक समिति गठन गरिएको थियो। त्यसैको प्रगतिबारे नेतृत्व र निर्देशक समितिबिच छलफल भयो। तोकिएकै अवधिमा सम्पन्न गर्न पार्टीबाट हुन सक्ने सहयोगका विषयमा छलफल केन्द्रित भयो। केही साथीहरूले चुनौती दर्शाउनुभयो, तर धेरै साथीहरूले तोकिएकै समयमा अधिवेशन गर्ने प्रतिबद्धता जनाउनुभएको छ,’ उनले भने।

गत १९ असारमा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले कार्यादेशसमेत तय गरेर नेविसंघ, तरुण दल, महिला संघ, किसान महासंघ, भूतपूर्व सैनिक संघ, प्रजातन्त्र सेनानी संघ, दलित संघ, लोकतान्त्रिक अपांग संघ, थारू संघ र लोकतान्त्रिक खेलकुद संघको महाधिवेशन सुनिश्चित गर्न निर्देशन समिति बनाउने निर्णय गरेको थियो। केन्द्रीय कार्यसम्पादन समितिले कार्यादेशसमेत तय गरेर निर्देशन समिति बनाउने निर्णय लिएको थियो। ‘महाधिवेशन सम्पन्न नगरेका नेपाली कांग्रेसका भ्रातृसंघहरूको महाधिवेशन सम्पन्न गर्न/गराउन फरक भ्रातृसंघका लागि अधिकार सम्पन्न फरक–फरक निर्देशन समिति गठन गर्ने,’ निर्णयमा भनिएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *