नागरिक उन्मुक्ति पार्टीले मनायो चौथो स्थापना दिवस

नागरिक उन्मुक्ति पार्टीले चौथो स्थापना दिवस मनाएको छ। पार्टीका संरक्षक रेशम चौधरीले टीकापुरस्थित पार्टी कार्यालयमा केक काटेर स्थापना दिवस मनाएका हुन्। समारोहमा प्रदेश मन्त्री, सांसद, स्थानीय तहका जनप्रतिनिधि र नेता-कार्यकर्ता उपस्थित थिए। समारोहमा संरक्षक चौधरीले संक्षिप्त सम्बोधन गरेका थिए।

पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले भने विज्ञप्तिमार्फत स्थापना दिवस मनाइन्। उनले शुभकामना सन्देश जारी गर्दै टीकापुर घटनाका राजबन्दी, उनका परिवारहरू र पार्टी स्थापनाकालदेखि सहयोग गर्नेहरूलाई धन्यवाद दिएकी छन्।

श्रीमान श्रीमतीसमेत रहेका रेशम र रञ्जिताबीच पार्टी सञ्चालनका विषयमा ठूलो विवाद रहेको छ। पछिल्लो समय उनीहरूले छुट्टाछुट्टै रूपमा पार्टी सञ्चालन गर्दै आएका छन्। पार्टीको नेतृत्वकै विषयमा दुई मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ।

हेर्नुस् रञ्जिताले जारी गरेको विज्ञप्ति यस्तो छ:
लोकतन्त्र, समावेशिता र समानताको मूल्य मान्यतालाई आत्मसात गर्दै टिकापुर जनविद्रोह बाट स्थापित हाम्रो गौरवशाली पार्टी “नागरिक उन्मुक्ति पार्टी” को चौथो स्थापना दिवसको का अवसरमा सम्पूर्ण नेता, कार्यकर्ता, समर्थक एवम शुभेच्छुकहरु हार्दिक बधाइ तथा शुभकामना व्यक्त गर्दछु । ” भौगोलिक सांस्कृतिक पहिचान सहितको संघीयता र समुदायमा आधारित समाजबाद” भन्ने मुल नारालाई आत्मसात गर्दै पार्टी स्थापना काल देखि नै हामी समावेशी लोकतन्त्र, सामाजिक न्याय तथा थरुहट थारुवान क्षेत्र को अधिकार , दलित, अल्पसंख्यक, आदिबासी जनजाति र समाजमा पछाडि पारिएका वर्गहरूको हक, अधिकार र पहिचान स्थापित गर्ने संकल्प लिएकाछौं । समावेशी लोकतन्त्र को माध्यम बाट समतामूलक समाज निर्माण गर्दै राज्यको नीति निर्माण तहमा सबै नागरिकको समान पहुंच सुनिश्चित गर्नु हाम्रो प्राथमिकता हो ।

पार्टी स्थापना को यस शुभ अवसरमा स्थापना काल देखि नै अहोरात्र खटने संस्थापक नेता, टिकापुर घटना का राजबन्दी र उहाँका परिवारहरू र पार्टी स्थापना को समयदेखि यहाँसम्म पुर्याउन सहयोग गर्नुहुने कार्यकर्ता तथा मतदाताहरु मा विशेष आभार व्यक्त गर्न चाहन्छु । हामीले लिएको मार्गदर्शन सिद्धान्तलाई अझ सशक्त बनाउदै भौगोलिक, सांस्कृतिक पहिचान सहित को संघीयता निर्माण गर्ने सपनालाई संस्थागत गर्दै समुदायमा आधारित समाज को स्थापना गर्नेछौं । जय नागरिक।




Leave a Reply

Your email address will not be published. Required fields are marked *